कर्णालीका चिकित्सक आन्दोलित

सुर्खेत, १९ असार । (साबिस)
डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णालीका चिकित्सकहरू आन्दोलित भएका छन् । चिकित्सकहरू आन्दोलित भएपछि कर्णाली प्रदेशका दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्थाहरूको आकस्मिक बाहेकको सेवा प्रभावित भएको छ ।
डा. केसीको जीवन रक्षाको माग गर्दै कर्णालीका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् । नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले मंगलवार विज्ञप्ती जारी गर्दै कर्णाली प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेका सबै स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेसँगै यहाँका स्वास्थ्य संस्थाहरूको सेवा अवरुद्ध भएको हो ।
संघका उपाध्यक्ष प्रविणकुमार गिरीद्वारा जारी विज्ञप्तीमा जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा अनसनरत डा. केसीको जीवनरक्षाका लागि अस्पतालमा स्थानान्तरण गर्नका लागि दिइएको २४ घण्टे अल्टिमेटमलाई स्थानीय प्रशासनले बेवास्ता गरेपछि स्वास्थ्य सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिनुपरेको जनाइएको छ । संघको आव्हानमा कर्णालीका स्वास्थ्य संस्थाहरूले आकस्मिक बाहेको सेवा बन्द गराएर डा. केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।
कर्णालीमा एउटा क्षेत्रीय अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, अन्य सरकारी अस्पताल दुई वटा, १० वटा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र १४ वटा गरी चिकित्सकहरू कार्यरत रहेको २८ वटा स्वास्थ्य संस्था रहेका छन् । ती सबै स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको छ ।
‘उहाँलाई उपचार पाउने हक छ, सरकारको विरुद्ध बोल्यो भन्दैमा उपचारबाट वञ्चित गराइनु हुँदैन,’ उपाध्यक्ष गिरीले भने, ‘उहाँले उठाउनुभएका मागहरू सबै जायज छन्, केन्द्रसँग छलफलपछि मागका विषयमा पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने बारे निश्कर्ष निस्कनेछ ।’ यस्तै कर्णालीका स्थानीय नागरिकले पनि डा. केसीको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित मितिः   २० असार २०७५, बुधबार १३:२३