वर्षेनी पहिरोले सास्ती

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ असार ।
सोमवार सुर्खेत बसपार्कबाट घर जानका लागि बस चढ्दै गर्दा कालिकोटको तिलागुफा नगरपालिका वडा नं. ६ जुविथाका पवन कार्की चिन्तित देखिन्थे । आइतवारदेखि निरन्तर परीरहेको झरीले गर्दा पहिरोले सडक अवरुद्ध भइ आधा बाटोमै अलपत्र पर्नुपर्ने हो कि भन्ने चिन्ताले उनको मन पिरोलिएको थियो ।


पवनले हरेक वर्ष वर्षातको समयमा यात्रा गर्दा कर्णाली राजमार्गमा सास्ती खेप्दै आएका छन् । वर्षातको समयमा कर्णाली राजमार्गको दर्जनौं स्थानमा पहिरो जान्छ । जसले यातायात सञ्चालनमा समस्या हुने गरेको छ । पहिरोले गर्दा राजमार्गको यात्रा छिचोल्नै सास्ती हुने गरेको अनुभव पवनसँग छ । ‘हरेक वर्ष पहिरोले सडक अवरुद्ध पार्छ’ उनले भने, ‘आजै पनि कतिपय स्थानमा पहिरो गएको छ रे, थाहा छैन कति दुख पाउनुपर्ने हो घरसम्म पुग्न ।’
वर्षातसँगै कर्णाली राजमार्गमा जाने पहिरोले यात्रुलाई मात्र होइन सवारी साधनका सञ्चालक र सवारी चालकहरूलाई पनि उत्तिकै पिरोल्ने गर्दछ । सडक सञ्चालनमा आएको दशक बितिसक्दा पनि कर्णाली राजमार्ग अझै ढुक्कका साथ यात्रा गर्न सकिने सडक नबनेको कार्कीले बताए । दैनिक रूपमा सयौं सवारी साधन सञ्चालन हुने कर्णाली राजमार्गमा वर्षातको समय सुरु भएसँगै कतिखेर गाडीमाथि पहिरो खस्छ भन्ने चिन्ताले यात्रु तथा सवारी चालकहरूहरूलाई पिरोल्ने गरेको छ ।
सुरु भयो पहिरोको शिलशिला
आइतवार रातीदेखि निरन्तर परेको पानीका कारण कर्णाली राजमार्ग अवरुद्ध बनेको छ । कर्णाली राजमार्ग अन्तर्गतको कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा निरन्तर पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । गगने खोला त्यस्तो स्थान हो जहाँ हरेक वर्ष पहिरो जाने गर्दछ । गगने खोलका साथै एसमोड, सुनार खोला, दहीखोला, घट्टेखोला, कालेखोला, राँचुलीमा वर्षेनी वर्षातको समयमा पहिरो जाने गरेको छ । वर्षेनी नयाँ ठाउँमा पहिरो जाँदा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको यातायात व्यवसायीहरू बताउँछन् ।
पहिरोको कारण कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनहरू, स्थानीय यात्रुहरू तथा कर्णाली प्रदेशकै चर्चित पर्यटकीय क्षेत्र राराताल जाने आन्तरिक पर्यटकहरू बीच बाटोमै अलपत्र परेका छन् । सोमवार बिहानैबाट मुगु, जुम्ला, कालिकोटदेखि सुर्खेत, नेपालगन्ज र नेपालगन्ज सुर्खेतदेखि कालिकोट जुम्ला, मुगु जाने सयौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका हुन् । कालिकोट जिल्लाको हुल्म बजार, जिते बजार र गगनेखोला आसपासका सडकहरूमा यात्रुबाहक तथा मालवाहक गाडीहरू लाइन लागेर रोकिएको जिल्ला प्रहरी कालिकोटका प्रमुख डिएसपी सुवासचन्द्र बोहराले बताए । गगन खोलामा खसेको पहिरो पन्छाउन स्काभेटर र प्रहरी खटिए पनि सडक खुलाउन सकिएको छैन । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधव अधिकारीका अनुसार निरन्तर पहिरो खसिरहेकोले पन्छाउन समस्या भएको हो ।
कर्णाली राजमार्ग सञ्चालनमा आएको एक दशक बितिसकेको छ । राजमार्गमा पर्ने विभिन्न खोलाहरूका साथै अन्य स्थानमा वर्षेनी पहिरो जाँदा यातायात सञ्चलनमा समस्या आउने गरेको छ । पहिले पहिरो जाने स्थानमा मात्र होइन नयाँ ठाउँमा पहिरो जाने र सडक हप्तौंसम्म अवरुद्ध हुने गरेको छ । केही ठाउँमा पहिलेदेखि पहिरो खस्ने भए पनि पछिल्लो दुई वर्षयता नयाँ ठाउँमा पहिरो खस्न थालेको हो । यसअघि राजमार्गको दहीखोला, खिड्कीज्यूला र सेरीघाट क्षेत्रमा निरन्तर पहिरो जाने गरेको थियो । तर गत वर्षदेखि नयाँ नयाँ स्थानमा पहिरो जान थालेको हो । कमजोर भौगोलिक बनावटका साथै सडक निर्माणका बेला ‘ब्लास्टिङ’का कारण नयाँ ठाउँमा पहिरो गई सडक हप्तौं अवरुद्ध हुने गरेको हो । दुई वर्षयता नयाँ ठाउँमा पहिरो खस्न थालेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
स्तरोन्नत्तिमा बेवास्ता
राज्यले कर्णाली राजमार्गलाई ‘वान–वे’ सडकको रूपमा निर्माण गरे पनि त्यसको स्तरोन्नतीमा ध्यान दिन नसकेको गुनासो कर्णालीबासीको छ । ‘सडक साँघुरो छ । त्यसमाथि वर्षेनी पहिरो गएर यात्रा सास्तपूर्ण हुने गरेको छ’ कालिकोटकै कविराज नेपालीले भने, ‘पहिरो जाँदा कर्णाली राजमार्गमा हप्तौसम्म अवरुद्ध हुँदा पनि वास्ता हुँदैन । जसले गर्दा हामीले सास्ती भोग्नुपर्छ ।’ प्रत्येक वर्ष विकास निर्माणको नाममा करोडौं खर्च गरेपनि कर्णाली राजमार्गको स्तरोन्नत्ति गर्न सरकारले ध्यान नदिएको उनले बताए ।
विगत केही वर्षयता सडक डिभिजन कार्यालयले सडक विभागलाई कर्णाली राजमार्गमा आउने पहिरोको दिर्घकालिन समाधानका लागि आवश्यक योजना बनाउन अनुरोध गर्दै आएको छ ।तर विभागबाट छिट्टै समाधान खोज्ने आश्वासन बाहेक अन्य केही प्रभावकारी काम हुन सकेकोछैन । पछिल्लो समय कर्णाली राजमार्गमा वर्षेनी नयाँ पहिरोहरू देखापरेका छन् ।

प्रकाशित मितिः   १९ असार २०७५, मंगलवार १३:१९