बजेट सर्वसम्मत पारित

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ असार ।
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट पारित भएको छ । असार १ गते संसदमा पेश भएको बजेटमाथि उठेका प्रश्नहरूमाथि सरकारको तर्फबाट विषयगत मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएपछि सोमवार सर्वसम्मत् बजेट पास भएको हो । प्रदेश सरकारले आव २०७५÷०७६ का लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । चालु खर्चतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रूपैयाँ छुट्याइएको छ ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न नसकेको सरकारले आगामी वर्षको बजेट कार्यान्वयनका लागि भने कुनै शंका नगर्न सांसदहरूलाई आग्रह गरेको छ । निकै महŒवकाक्षी बजेट सार्वजनिक गरेको सरकारले प्रदेश सरकारकै संयन्त्र निर्माण गरी बजेट कार्यान्वयन गर्ने जनाएको छ । बजेट माथिको छलफलका क्रममा सांसदहरूले कार्यान्वयन हुनेमा शंका व्यक्त गरेपछि विषयगत मन्त्रालयका मन्त्रीहरूले सडक सञ्जाल विस्तार, पर्यटन, खानेपानी, जलविद्युत, कृषि, उद्योगलाई प्राथमिकता दिएको बताएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार सञ्चालनको अभ्यासका क्रममा रहेकाले त्रुटीहरू हुनु स्वभाविक भएकाले सच्याएर अगाडि बढ्नुपर्ने बताए ।
‘हामी सिकाइमै छौं, त्यसैले पनि बजेट विनियोजन गर्दा केही कमजोरी भए, समय छोटो र संरचना अभावमा पहिलो बजेट कार्यान्वयन गर्न सकिएन’ उनले भने, ‘अब हामी एक महिनाभित्र बजेट खर्च गराउने संरचना निर्माण गर्छौ, यसपटक कार्यान्वयन नहुनेमा शंका नगर्नुहोस् ।’
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशको आन्तरिक स्रोत नै कम हुँदा योजनाहरूमा कमी आएको बताए ।

प्रकाशित मितिः   १९ असार २०७५, मंगलवार १३:१८