अधिकांश स्थानीय तह भाडाका घरबाट सञ्चालन

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ असार ।
स्थानीय सरकार गठन भएको एक वर्ष बितेको छ । तर अधिकांश स्थानीय तहका कार्यालयहरू अहिले पनि भाडाका घरबाट सञ्चालन भइरहेका छन् । आफ्नै कार्यालय नहुँदा स्थानीय सरकारलाई सेवा प्रवाहमा कठिनाइ भएको छ भने कर्मचारीलाई समेत बसेर काम गर्न समस्या रहेको छ ।

सुर्खेतमा मात्रै अधिकांश स्थानीय तह र वडाका कार्यालय भाडाका घरमा छन् । यसले एकातर्फ स्थानीय तहको खर्च बढाएको छ भने अर्कोतर्फ सेवासमेत प्रभावकारी बन्न सकेको छैन । जनप्रतिनिधिले भवन निर्माणमा ध्यान नदिँदा एक वर्षसम्म भाडा तिरेरै सेवा दिनु परेको हो ।
आफ्ना कार्यकर्ता पोस्न, विकास देखाउन र जनतालाई लोकप्रियता देखाउन महŒवकांक्षी विकास योजना बनाएका जनप्रतिनिधिले आफ्नै कार्यालय भवन निर्माणमा भने चासो नदिएको सर्वसाधारणको गुनासो छ । स्थानीय तहले कार्यालय सञ्चालनका मासिक पाँच हजारदेखि आठ हजारसम्म भाडा तिर्दै आएका छन् ।
नौ वटा स्थानीय तह रहेको सुर्खेतमा वीरेन्द्रनगर बोहक अन्य स्थानीय तहका आफ्नै भवन छैनन् । जसमध्ये अधिकांश स्थानीय साविसका गाविस भवनबाट सञ्चालन भइरहेका छन् । तर ९९ वटा वडा रहेको सुर्खेत अधिकांश वडा कार्यालय भाडाका घरबाट सञ्चालन भइरहेका छन् । भाडामा लिएका घरमा कार्यालय सञ्चालन गर्दा वडातहमा विभिन्न फाँट स्थापना गरी काम गर्न निकै चुनौती भएको हो ।
सिम्ता गाउँपालिकाले स्वास्थ्यचौकीको भवनबाट सेवा प्रवाह गरिरहेको छ । ‘कृषि सेवा केन्द्रको भवनमा गाउँपालिका बस्ने भनिएको थियो’ गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत जनक हमालले भने, ‘स्वास्थ्यचौकीको आठ कोठे भवनमा गाउँपालिका बसेको छ । विषयगत कार्यालयहरू पनि भाडाकै घरमा छन् ।’ उनले आगामी आर्थिक वर्षमा भवन नभएका वडा कार्यालयहरू निर्माण गरिने बताए ।
१४ वटा वडा रहेको गुर्भाकोट नगरपालिकामा पनि ६ वटा वडाका मात्रै आफ्नै भवन छन् । साविकको गाविस भवनबाट सेवा प्रवाह गरेको नगरपालिकाले विषयगत शाखा भने भाडाकै घरमा सञ्चालन गरेको छ ।
चिङ्गाड गाउँपालिकाले भवन निर्माणका लागि जग्गा खोजी भइरहेको जनाएको छ । ६ वटा वडा रहेको चिङ्गाडमा वडा नम्बर तीन र पाँच भाडामा सञ्चालनमा आएका छन् । स्थानीय तहका सरकारी अड्डाहरू पनि भाडामा रहेका छन् । वडा कार्यालयको भवनहरू आगामी आर्थिक वर्षमा निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले बताए । उनका अनुसार हाल गाउँपालिका र वडापालिकाले तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म भाडा तिर्दै आएका छन् ।
१६ वडा रहेको वीरेन्द्रनगर नगरपालिकामा पनि सात वटा वडा कार्यालय भाडाकै घरमा बसेका छन् । आफ्नो भवन नहुँदा वडा नम्बर ३, ५, ६, ७, ९, ११ र १२ वडा कार्यालय भाडामा छन् । वीरेन्द्रनगर नगरपालिकाले हाल कार्यालय व्यवस्थापन शीर्षकमा वडा कार्यालयहरूको भाडा तिर्ने गरेको उपप्रमुख मोहनमाया भण्डारीले बताइन् ।
भेरीगंगा नगरपालिकाले पनि आगामी आर्थिक वर्षमा सबै वडामा आफ्नै कार्यालय स्थापना गर्ने जनाएको छ । नगरपालिकाका उपप्रमुख रेणु आचार्यले १३ वडा रहेको नगरपालिकामा वडा नम्बर २ र ८ बाहेक अन्य वडा कार्यालयहरू भाडामा रहेको जानकारी दिइन् । ‘एक नम्बर वडामा कार्यालय नै छैन’ उनले भनिन्, ‘आगामी आर्थिक वर्षका लागि भवन निर्माणमा बजेट विनियोजन गरिएको छ ।’
यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले हाल आफूहरूले स्वास्थ्य कार्यालयको पुरानो भवनबाट सेवा प्रवाह गरिरहेको बताए । वडा नम्बर १, ३, ६, ८ र ९ का कार्यालयहरू भाडाकै घरबाट सञ्चालन भइरहेको उनको भनाइ छ । वडा नम्बर १० ले भाडा नतिर्ने शर्तमा सामुदायिक विद्यालयको भवन प्रयोग गरिरहेको छ । ‘गाउँपालिका र वडापालिकाको कार्यालय स्थापनाका लागि जग्गा हेरिएको छ’ उनले भने, ‘भवन निर्माणका लागि केन्द्र सरकारले बजेट विनियोजन गर्ने भनिएको छ । त्यसैले पनि गाउँपालिकाले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न सकेन ।’
१० वटा वडा रहेको लेकवेशी नगरपालिकामा पनि अधिकांश वडा कार्यालयहरू भाडाकै घरबाट सञ्चालन भइरहेका छन् । नगरप्रमुख गगनसिं सुनारले दिएको जानकारी अनुसार २, ३, ४, ७, ८ र १० नम्बर वडा कार्यालयहरू भाडाका घरमा छन् ।
चौकुने गाउँपालिकामा भने चार वटा वडा मात्रै भाडाका घरमा सञ्चालित छन् । गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका अनुसार ५, ६, ७ र ९ नम्बर वडा कार्यालय भाडाका घरमा बसेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर १, ३ र ८ को भवन निर्माण एवम् मर्मत गरिएको छ । ‘वडा कार्यालय भाडामा सञ्चालनमा आउँदा मासिक पाँच हजार भाडा तिर्नुपर्ने अवस्था छ’ गाउँपालिका अध्यक्ष शाहीले भने, ‘आगामी आर्थिक वर्षमा सबै वडामा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।’