घरबाहिर निस्कँदा हिंसा कम

प्रतिमा परियार
तातापानी– २ सुर्खेतकी रत्नकला नेपालीलाई तीन वर्षअघिको आफ्नो जीवन कसम्झँदा अहिले पनि नरमाइलो लाग्छ । वर्षैपिच्छे जन्मिएका सन्तान वरिपरि दैनिक जसो लोग्नेको कुटाइ सम्झँदा पनि असह्य थियो । कमाएर बालबच्चाको लालनपालन गर्नु त टाढाको कुरा, रत्नकलाले दिनभरी मजदुरी गरी कमाएर ल्याएको दुई गाँस पनि आनन्दले खान पाउँदिनथिन् । स्थानीय बजार सुगरखालदेखि तातापानीका विभिन्न पसलमा भारी बोकेर गुजारा चल्थ्यो उनको । 
अहिले उनी एक सामाजिक अभियन्ता भएकी छिन् । कुनै पुरुषसँग बोले श्रीमान्को कुटाइ खाने रत्नकला अहिले अरूको झगडा मिलाउँछिन् । ऋण र बचत समूहमा बसेकी रत्नकला अहिले वडा नागरिक मञ्च हुँदै गाविसस्तरीय एकीकृत योजना तर्जुमा समिति र दलित सञ्जालमा सक्रिय छिन् । पहिले कसैसँग ठाडो शिर लगाएर बोल्दा कुटपिट गर्ने श्रीमान् अहिले उनका घरभित्रको काममा मात्र नभएर घरबाहिरको काममा पनि सघाउने गर्छिन् । 
‘महिला सक्षम भए घरभित्र र बाहिर हुने हिंसामा कमी आउँदो रहेछ,’ उनी भन्छिन्, ‘ठूलाबडाको माझमा गएर बोल्नुपर्छ । मेरो काम देखेर अहिले त श्रीमान्ले नै प्रशंसा गर्छन् ।’ उनका बुझाइमा ‘जो घरबाहिर निस्किन सकेका छैनन्, उनीहरू यो या त्यो तवरले हिंसा खेपिरहेका छन् । जबसम्म हामी घरभित्रै सीमित हुन्छौं, तबसम्म दबाबमै बस्नुपर्ने रहेछ ।’ रत्नकलाका श्रीमान् गोपी नेपाली विगतलाई लिएर अहिले पछुतो मान्छन् । गोपी भन्छन्, ‘हिजो दुःख दिएँ, अहिले पछुतो लाग्छ ।’
घाटगाउँ–६ की विनिता विक गाविसस्तरीय महिला सञ्जालको सचिव हुन् । उनको सङ्घर्ष पनि रत्नकलाको जस्तै छ । श्रीमान्को कुटाइ, सासु–ससुराको कचकच अनि समाजको हेपाइले कहाली लाग्दो जीवन गुजारेकी विनिता अहिले त्यही समाजको नेता बनेकी छिन् । ‘पहिला घरको योजना बनाउँदा बोल्न पाउँदिनथें, अहिले वडा हुँदै गाविसस्तरीय योजना बनाउन सक्ने भएकी छु,’ उनले भनिन् । गाविसस्तरीय योजना तर्जुमा समितिमा उनको संलग्नता बढ्दो छ । पहिला कतै हिँडिस् भने खुट्टा भाँच्छु भन्ने श्रीमान् घरबाहिर जानु, सबै कुरा थाहा पाउन पछि नपर्नु भनेर सम्झाउँछन् । विनिता भन्छिन्, ‘दबिए दबाउने रहेछन् । आफू नै सबल भए हेप्न सक्दा रहेनछन् ।’
गाविसस्तरीय महिला सञ्जाल तातापानीकी अध्यक्ष चन्द्रा सावदका भनाइमा महिला कमजोर भएकै कारण हिंसा बढ्ने हो । जो–जो महिला घरपरिवारको भरोसामा बसिरहेका छन्, उनीहरूलाई रातदिन पिरलो छ । जो बाहिर निस्किएर नेतृत्व लिइरहेका छन् उनीहरूले घरमा सहजै बुझाउन सकिरहेका छन् । उनले महिलामा नेतृत्व गर्ने क्षमता बढिरहेकै कारण विकट गाविसमा पनि महिला सहकारी चलाउन सकेको बताइन् । चन्द्रा भन्छिन्, ‘पहिलेजस्तो भए महिलाले मात्रै सहकारी चलाउन सक्दैनथ्यौं । अहिले हाम्रो सहकारीमा पुरुषहरूले पनि कारोबार गर्छन् ।’ 
सालकोट–९ मा स्वयम्सेविका रहेकी शान्ति सुनार पहिले गाउँमा डाक्टरका रूपमा चिनिएकी थिइन् भने अहिले समाजको नेताको रूपमा पनि चिनिन्छिन् । पहिला उनी पीडामा बस्थिन् । श्रीमान्ले कुट्थे । सासु–ससुराले पनि छोरासँगै लागेर कुट्थे । अहिले केही भन्न सक्दैनन् । विभिन्न सामाजिक संरचनाहरूको माथिल्लो पदमा महिला पुगेका छन् । पारिवारिक रूपमा पनि अब्बल छन् । उनी भन्छिन्, ‘पहिला एउटा खसी बेच्दा पनि विदेश गएका श्रीमान्लाई सोध्नुपथ्र्यो । अहिले श्रीमान्ले पो केही काम थाल्दा हामीलाई सोध्छन् ।’ 
अस्थायी प्रहरी चौकी तातापानी सुर्खेतका प्रमुख केशव परियार महिला घरबाहिर निस्केपछि तुलनात्मक रूपमा हिंसाका घटना कम हुँदै गएको बताउँछन् । उनका भनाइमा ‘पहिला दैनिक दुईदेखि पाँचवटासम्म उजुरी आउँथे, अहिले महिनामा मुस्किलले दुई–तीनवटा उजुरी आउँछन् ।’ स्थानीयस्तरका समिति र संरचनामा महिला नेतृत्वमा छन् । त्यसमा पुरुषको साथ छ । यसले नै हिंसा कम भएको उनको बुझाइ छ । 
महिला सङ्गठित र सशक्त नभएसम्म हिंसा न्यूनीकरण गर्न नसकिने यसबाट स्पष्ट हुन्छ । लामो समयदेखि महिला अधिकारका क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका अधिकारकर्मीहरू पनि महिला हिंसा कम गर्न सशक्तीकरणमै जोड दिन्छन् । ‘आर्थिक, सामाजिक र राजनीतिक रूपमा नै महिला कमजोर छन्,’ अधिकारकर्मी मोहनमाया ढकाल भन्छिन्, ‘यो स्थितिबाट उकास्न सके उनीहरू हिंसाविरुद्ध उत्रिन सक्छन् ।’
शक्तिकै आडमा हिंसा भइरहेकाले क्षमता अभिवृद्धिसँगै आयआर्जनको पाटोमा दरिलो बनाउन सके महिला हिंसामुक्त समाज निर्माण गर्न सकिने कानुन व्यवसायीको तर्क छ । अधिवक्ता कृष्ण हमाल भन्छन्, ‘शक्तिको आडमै हिंसा हुने हो, आर्थिक, सामाजिक, राजनीतिक हिसाबमा महिला सबल बन्दै गए हिंसामा त्यसै कमी आउँछ ।’   
 (सञ्चारिका फिचर सेवा)