हिंसापीडित महिला र बालबालिकालाई आवास

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ असार ।
हिंसापीडित महिला तथा बालबालिकाले अब आवास सुविधा पाउने भएका छन् । हिंसाका कारण पीडित बनेका महिला र बालबालिकालाई लक्षित गरी सुर्खेत प्रहरीले आवास सेवा उपलब्ध गराउने भएको हो । यसका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुविधायुक्त महिला तथा बालबालिका सेवा केन्द्रको भवन निर्माण गरेको छ ।

विगतमा भवनको कमिका कारण प्रभावकारी सेवा दिन नसकेको प्रहरीले महिला र बालबालिकालाई आगामी दिनमा २४ घण्टे आवाससहितको गुणस्तरीय सेवा दिने भएको हो । जिल्ला प्रहरी कार्यालयमा निर्माण भएको उक्त भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रवार उद्घाटन गरे । २०६३ सालदेखि पीडित महिला तथा बालबालिकालाई उद्दार गर्दै आएको केन्द्रले यसअघि जिल्ला प्रहरी परिसरको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । तीन तले नयाँ भवन उद्घाटन भएसँगै विभिन्न समस्याका कारण विस्थापित भएर न्यायका लागि जिल्ला प्रहरी कार्यालय पुग्ने पीडित महिला र बालबालिकालाई आवास सुविधा उपलब्ध गराइने छ ।
एसियाली विकास बैंकको एक करोड २४ लाख आर्थिक सहयोगमा प्रहरी परिष्सरमा निर्माण भएको १७ कोठे भवनमा पीडित महिलाका लागि दुई वटा कोठा आवासका लागि छुट्याइएको छ । जनस्तरमा समर्पित तथा गुणस्तरी सेवा दिने उद्देश्य अनुसार निर्माण गरिएको उक्त भवनमा पीडित महिला र बालबालिकाको न्यायका लागि प्रभावकारी सेवा प्रवाहमा सहयोग पुग्ने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले महिला तथा बालबालिका सेवा केन्द्रले नयाँ भवन पाएसँगै थप गुणस्तरीय सेवा प्रवाहमा सहजता आउने बताए । विगतमा पुरानो र जीर्ण भवनका कारण प्रहरीमा आउने पीडित महिलाले प्रयाप्त आवास सुविधा पाउन सकेका थिएन् । उनले विभिन्न हिंसामा अलपत्र परेका महिला र बालबालिकालाई २४ घण्टे आवाससहितका सुविधा उपलव्ध गराउने बताए ।
केन्द्रको पहिलो तलामा कार्यालय प्रमुख, बैठक कक्ष, कार्यालय कक्ष, स्टाफ कक्ष र सोधपुक्ष कक्षका राखिने भएको छ । यस्तै दायाँ भागमा पीडित महिला तथा बालबालिकाको आवासका लागि दुई कोठा, आगन्तुक महिला पुरुषका लागि दुई वटा शौचालयको समेत सुविधा रहेको एसपी चतुर्वेदीले बताए । दोस्रो तलामा भने केन्द्रमा कार्यरत कर्मचारीको
आवास र डाइनिङ्ग हलसहित भान्साका लागि छुट्याइएको छ । प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाले भवन निर्माणका लागि एक करोड ३९ लाख रूपैयाँ विनियोजन गरेको थियो । भवन निर्माणका लागि महिला तथा बालबालिका सेवा निर्देशनालय र जयमाता इन्जिनियरिङ्ग कन्ट्रक्सन प्रालिबीच २०७२ वैशाख २३ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले एक करोड २४ लाख रूपैयाँमा भवनको निर्माण गरेको हो ।
भवन उद्घाटन गदै महानिरीक्षक खनालले अब अपराधिहरू प्रहरीको नजरबाट कुनै पनि ठाउँमा लुकेर बस्न नसक्ने बताए । समाजमा त्रासको वातावरण सिर्जना गर्ने र पहुँचको हवाला दिँदै लुक्ने खोज्ने अपराधिहरूको दिन सकिएको उनले चेतावनी समेत दिए । नेपाल प्रहरी विगतको जस्तो नभएकोले अब अपराधिहरूको उम्किने कुनै सम्भावना नभएको दाबी उनले गरे । ‘यदि शान्ति कायम राख्नुछ भने, अपराध रोक्न अपराधिलाई ठाउँको ठाउँ कारबाही गर्नुपर्दछ’ उनले भने, ‘अपराधि निर्मूल पार्न प्रहरी कुनै पनि हालतमा पछि हट्नेछैन ।’ उनले महिलामाथि हुने गम्भीर प्रकृतिका हिंसामा कुनै पनि प्रकारको मिलापत्र नचल्ने दाबी गरे । विगतमा पहुँच र पैसाका भरमा मिलापत्र गराउँदै न्याय सम्पादनमा प्रभाव जमाउने गरेको अवस्था भए पनि अब प्रहरीले त्यसो हुन नदिने उनको भनाइ थियो ।
यस्तै प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रमुख धिरु बस्न्यातले सामाजमा हुने अपराध लुकाउन नहुने बताए । ‘समाजमै अपराध हुन्छ, असर पनि समाजमै पर्छ र अपराधी पनि समाजमै लुकेर बसेका हुन्छन् । नागरिकको सहयोगबिना प्रहरी एक्लैले केही गर्न सक्दैन’ उनले भने ।

प्रकाशित मितिः   १६ असार २०७५, शनिबार ११:३५