कर्णालीमा थपिदैं हवाइ उडान

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ असार ।
कर्णाली प्रदेशको हिमाली जिल्लाका नागरिकले अब सुर्खेतसम्म हवाइ सुविधा पाउने भएका छन् । विगत लामो समयदेखि सुर्खेतबाट यात्रु नबोक्दा नेपागन्जको विकल्प नपाएका कर्णालीका नागरिकले अब सिधै सुर्खेतको यात्रा गर्न पाउने भएका हुन् ।
पहिलो पटक औपचारिक रूपमा सिता एयरले प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका सिमकोट, डोल्पा, रारा र जुम्लामा सिधा हवाई सेवाको सुरु गरेको छ । चार्टर उडानबाहेक यात्रु नबोक्ने भएका कारण हवाई यात्रामार्फत् सुर्खेत आउने यात्रुहरूले नेपालगन्जसम्म जहाजमा र त्यहाँबाट बसमार्फत् आउने गरेका थिए । नागरिकको गुनासोपछि प्रदेश सरकारको पहलमा सिता एयरले औपचारिक रूपमा यात्रु बोक्नका लागि १८ सिटे डबल इन्जिनको ड्रोन एयर–२२८ ले नियमित उडान भर्ने सिता एयर प्रालिका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।
‘लामो समयअघि उडान भए पनि हाम्रो समस्याका कारण हामीले नियमित गर्न पाएका थिएनौं, अब औपचारिक रूपमै सुरु गरेका छौं’ उनले भने, ‘चार वटै बिमानस्थलमा दैनिक एउटा उडान र यात्रुको चाप हेरी तालिका थपघट गर्न सक्नेछौं ।’ नागरिक उड्डयन प्राधिकरणमा उडान तालिकासहित स्वीकृतिका लागि निवेदन दिएकाले १५ दिनभित्रै नियमित उडान सञ्चालन हुने उनले बताए । शुक्रवार सुभारम्भका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पर्यटन मन्त्री नन्दसिंह बुढाले सिमकोट बिमानस्थलसम्म भ्रमण समेत गरेका छन् ।
४० दिनअघि प्रदेश सरकार र सिता एयर प्रालिबीचमा नियमित उडानका लागि सम्झौता भएको थियो । निर्देशक सिंहका अनुसार तत्काललाई एउटा बिमान मात्रै भए पनि आगामी दिनमा यात्रुको चाप हेरेर बिमानको संख्या बढाउन सकिनेसमेत बताए । सुर्खेतबाट नियमित उडान सुरु भएसँगै हवाई भाडादरमा समेत कमी आउने सिंहले जानकारी दिए । विगतमा हुँदै आएको भाडादरभन्दा सुर्खेतबाट जाँदा यात्रुले एक हजार पाँच सयसम्म कम भाडादरमा यात्रा गर्न पाउनेछन् ।
यस्तै प्रालिका वरिष्ठ महाप्रबन्धक घनश्यामराज आचार्यले विगतमा सहुलियत टिकटका नाममा यात्रु र हवाई कम्पनी माथि लुट मच्चाउने बिचौलीयाको अन्त्य भएको बताए । शुक्रवार कम्पनीले कैलाश जानका लागि आएका १५ भारतीय पर्यटकहरूलाई सुर्खेत बिमानस्थलबाट पनि उडान सुरु भएको जानकारी दिनका लागि निःशुल्क सिमकोट पु¥याएको आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः   १६ असार २०७५, शनिबार ११:३३