प्रेम, विश्वास र सम्बन्ध
क्रान्ति शर्मा
मान्छेहरू सही भन्छन्, ‘प्रेम प्राप्ती होइन, त्याग हो ।’ प्रेम धुँवा हो, नसा हो, आभाष हो, भगवान् हो, सैतान हो । प्रेमले मान्छेलाई सबबाट अलग बनाइदिन्छ । ठूलो भिडमा पनि एक्लो भएको आभाष गराइदिन्छ । यतिमात्र होइन, प्रेमले स्वयम्लाई कमजोर बनाइदिन्छ त कहिले निडर बनाइदिन्छ । संसार ठप्प रोकिएझै महसुस भैदिन्छ, शब्दहरू बेस्सरी हड्वडाई दिन्छन्, मुटुको धड्कन तेज भैदिन्छ ।
एक जमातले प्रेमलाई वडो सजकता साथ व्याख्या गर्छन्ः
–प्रेमले जिउन सिकाउँछ,
–हाँस्न सिकाउँछ, खुशी हुन सिकाउँछ,
–अस्तित्व बुझ्न सिकाउँछ, इत्यादी ।
अनि अर्को जमातले प्रेमलाई कुरूपता साथ व्याख्या गर्छन् ः
–प्रेम भन्नु सव बकवास हो,
–प्रेमले पीडा दिन्छ,
–बेस्सरी रुवाउँछ,
–प्रेमले जिन्दगी बर्वाद गराइदिन्छ,
त्यसभन्दा फरक अर्को जमातले दुनियाँलाई भन्दै हिँड्छ ः
–प्रेम प्राप्ती होइन, त्याग हो ।
हो सव झुट पनि त हुनसक्छ । मान्छेहरू सधैं सही हुन्छन् भन्ने पनि त हुँदैन, गलत पनि हुनसक्छन् ।
एकतर्कले त्यो पनि हो ।
जसरी राधाले कृष्णलाई प्रेम गरिन्, कृष्णले राधालार्य प्रेम गरे । त्यो प्रेममा कुनै प्राप्ती थिएन । त्यो पनि त नहुन सक्छ ‘प्रेम हुनु’ भन्दा अर्को ठूलो कुनै प्राप्ती थिएन । त्यो पनि त नहुन सक्छ ‘प्रेम हुनु’ भन्दा अर्को ठूलो कुनै प्राप्ती दुनियाँमै हुँदैन । राधा र कृष्णको प्रेमले प्राप्ती देखाउँछ या त्याग त्यो त विश्लेषण गर्नेहरू नै जानुन । दुनियाँले प्राप्ती केलाई मान्छ र त्याग कलाइ मान्छ भन्ने कुरामा निर्भर हुन्छ ।
हुन त राम र सीता बीचमा पनि त प्रेम थियो । त्यसलाई दुनियाँले सम्बन्धको नामले चिनाइदियो । सायद प्रेम र सम्बन्धमा ठूलै फरक हुनुपर्छ ।
प्रेममा बहुत सुस्केराहरू समाहित हुन्छन् । केही आधार अधुरो जस्तो त केही गुम्सिए जस्तो । तर सम्बन्धमा बहुत गुनासाहरू हुन्छन् । एक अर्कोप्रतिको हर बखतको प्रेम हराउँछ कि भन्ने डर हुन्छ । दुनियाँले हेर्ने दृष्टिकोणको वास्ता हुन्छ । अहमताको आहाहट हुन्छ । के–के हुन्छ हुन्छ ।
…
केहीको नसिबमा मात्र प्रेम र सम्बन्ध दुवै एकै व्यक्तिसँग, एकै पटकमा प्राप्ती हुन्छ । सायद प्रेम प्राप्ती हो, त्याग होइन । त्याग्नु त अहमता हो, लाचारता हो, मथ्थरता हो । जसले जिन्दगीभर पिरोल्छ । प्रेमका हर आभास, हर महसुसजति प्राप्तीमा खुशी मिल्छ त्यो भन्दा हजारौं गुणा दुःख गुमाउनुमा मिल्छ ।
हामी भागवान त होइनौं नि तर पनि अंश हौं । हामीलाई पनि त अधिकार छ, प्रेमका इतिहास लेख्ने मान्छेहरूमा प्रेमको उत्सर्ग बनाइदिने ।
…
प्रेमका बारेमा सिंगो उपन्यास लेख्नेले नै कसैलाई प्रेम नगरेको पनि हुन्छ । प्रेम कहाँ लेखेर भेटिन्छ, प्रेम त कोही खासलाई मात्र मिल्छ । यो प्रेमको भाषै यस्तै बुझ्नेलाई प्रिय, नबुझ्नेलाई बकवास ।
यो प्रेमलाई त्याग भन्नुको कारण पनि छ । जब एक पक्षलाई अर्को पक्षसँग प्रेम हुन्छ, त्यो दोस्रो पक्षले बुझ्न ढिला गरिदिन्छ, जब दोस्रो पक्षले बुझ्छ अनि पहिलो पक्ष प्रेमबाट हारेर बकवास हो भन्ने भइसकेको हुन्छ । जबसम्म दुवै पक्षले प्रेम बुझ्छन् धेरै ढिला भइसक्छु । कसैको बिहे भइसकेको हुन्छ त कसैको सम्झौता ।
र, अन्तमा दुवैले प्रेमलाई गलत सावित गरेरै छोड्छन् । गलत सम्बन्धमा जिन्दगीभर पिरोलिन्छ । त्यसैले त प्रेम आभाष हो । जब कसैसँग साँचो प्रेम हुन्छ, उसलाई जिन्दगीभरको समय दिनसक्नुपर्छ अनि पो प्रेमले असल सम्बन्ध निभाउन सिकाउँछु ।
…
आफूले मन पराएको मान्छे पाउनै पर्छ भन्ने हुँदैन तर यदि प्राप्तीले दुवैको जिन्दगी खुशीले भरिदिन्छ भने किन अन्यौलता ?
एक भनाइ पनि छ ‘अल इज फेयर लभ एण्ड वार’ अर्थात प्रेम र युद्धमा सबैकुरा जायज हुन्छ ।
खुशी हुने अधिकार सबलाई छ ।
आडम्बरता, घमण्ड, सम्पत्तिले प्रेमलाई कहिले सफल हुन दिँदैन । मनले गाँसेको सम्बन्ध पो खास हुन्छ ।
प्रेमको कुनै भाषा हुँदैन, साइनो हुँदैन, समय हुँदैन, नियम हुँदैन । हुन्छ त केवल महसुस खुशीले रसाएका नयनहरू, वेफिक्री धड्किने धड्कन, विश्वास, सम्बन्ध ।
…
जिन्दगीभर हाँस्नुपर्ने ओठहरू मौन किन बसाल्ने ? चञ्चल नयनमा डर किन भर्ने ? जोड जोड्ले धड्किने धड्कनमा घाउ किन लगाउने ? त्यो त सब वेबकुफी हो ।
जीवनमा जन्म र मृत्यु त निश्चित छ जहिले भएनि हुन्छ । तर प्रेम कसैको नसिवमा हुन्छ त कसैको हुँदैन । प्रेमले बारबार दुखाउला तर हजारबार हसाउँछ, जिउन सिकाउँछ । सयौं परीक्षाहरू लिन्छ तर हर परीक्षामा जिताउँछ ।
प्रेमले असल सम्बन्ध निभाउन सिकाउँछ । प्रेमले एक पटक तिमी र मलाई अवसर दिएको छ । खुशी हुनु नै प्राप्ती हो भने किन गमाउनु ?
दुनियालाई छोडेर प्रेम गर्नु पर्दैन बरु प्रेमले नै दुनियाँ बसाइदिन्छ । विश्वासले हाँस्न सिकाउँछ ।
…
प्रेम प्राप्ती हो, मिठो सम्बन्ध हो, खुशी हो, भरोसा हो, विश्वास हो ।
‘पे्रम प्राप्ती हो त्याय होइन’ जब कसैलाई साँचो प्रेम हुन्छ, विश्वास हुन्छ, सम्बन्ध हुन्छ । नत्र त जिन्दगी पनि बकवास हो, प्रेम पनि बकवास हो ।
साझा बिसौनी ।