‘रातो किताबमा योजना किटान गर’
साझा बिसौनी संवाददाता
सुर्खेत, १४ असार ।
कर्णालीमा प्रमुख विपक्षी दल कांग्रेसले बिहीवारको संसद बैठकमा अवरोध गरेको छ । दिउँसो तीन बजे सुरु भएको बैठकको सुरुमा नै कांग्रेसले अवरोध गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट र योजना रातो किताबमा स्पष्ट रूपमा किटान नगरिएको भन्दै कांग्रेसले केही बेर संसद बैठक चल्न दिएन । कांग्रेसका सांसदहरूले बैठकमा उभिएर विरोध जारी राखेपछि संसद बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
यसअघि चालु आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि प्रदेश सरकारले ल्याएको बजेट पारित भएपछि रातो किताब उपलब्ध नगराइएको विरोधमा कांग्रेसले संसद अवरुद्ध गरेको थियो । यस्तै आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट र योजनाका शीर्षकहरू रातो किताबमा स्पष्ट किटान नगरिएको भन्दै कांग्रेसले बिहीवार दोस्रो पटक संसद अवरुद्ध गरेको हो । तत्काल रातो किताबमा बजेट र योजनाहरूको बारेमा स्पष्ट किटान गर्नुपर्ने माग गर्दै कांग्रेस सांसदहरु बैठकमा उभिएर विरोध जनाएका थिए । बैठक चल्न नसकेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरे । यद्यपि बिहीवार नै अनौपचारिक छलफलपछि बैठक सुरु भएको सभामुख शाहीले जानकारी दिए । संसद सचिवालयका अनुसार सरकारले विपक्षीका माग पूरा गर्ने आश्वासन दिएपछि कांग्रेस बैठक सुचारु गर्न सहमत भएको हो ।
यही असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको थियो । उक्त बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि बिहीवारदेखि बजेटमाथि दफावार छलफल हुने कार्यसूची रहेको छ । तर दफावार छलफलमा भाग लिन बैठकको सुरुमा नै रोष्टममा पुगेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेट वक्तव्यमा जस्तै रातो किताबमा पनि गोलमोटल गरेर बजेट र योजनाहरू उल्लेख गरिएको भन्दै आपत्ति जनाए । साथै उनले सरकारले बजेट र योजनाहरू स्पष्ट रूपमा रातो किताबमा उल्लेख नगर्दासम्म बैठक चल्न नदिने भन्दै विरोध स्वरूप आफ्ना सांसदसहित बैठकमै उभिएर विरोध जनाएका थिए ।
प्रदेश संसदको बिहीवार र शुक्रवारको बैठकमा सामाजिक विकास मन्त्रालय, प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल गर्ने कार्यसूची तोकिएको छ ।
संसद बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘सरकारले रातो किताब उपल्ब्ध गराएकोमा धन्यवाद, तर बजेट र योजनाहरू गोलमोटल गरेर उल्लेख गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ ।’ यही अवस्थामा बजेटमाथिको छलफल अगाडि बढ्न नदिनेसमेत उनले
बताए । ‘बजेट भाषण र रातो किताबमा कुनै फरक देखिएन, एकमुष्ठ बजेट उल्लेख गरिएको छ’ नेता शाहीले भने, ‘यसमा हाम्रो विरोध छ, तत्काल रातो किताबमा बजेट र योजनाहरू स्पष्ट रूपमा ब्रेकडाउन गरेर ल्याइयोस् ।’ उनले बजेट भाषणमा जस्तै रातो किताबमा पनि गोलमोटल गरेर बजेट र योजनाहरू उल्लेख गरिएकाले आफूहरूले विरोध गर्नुपरेको बताए ।
साझा बिसौनी ।