पढेर कृषक बन्ने सपना

शिवपुरी गाउँपालिका–५ नुवाकोटका अविन तामाङ्ग वि.सं. २०५६ साल श्रावण १० गते बुबा रामकृष्ण तामाङ्ग र आमा ठूलीमाया तामाङ्गको कोखबाट जन्मिएका हुन् । चार भाईबहिनीमध्ये उनी घरका जेठा छोरा हुन् । सानैदखि गम्भीर स्वभावका अविनले विद्यालय शिक्षा भने मामाघर बसेर पढे । विज्ञान माध्यमिक विद्यालय तादी गाउँपालिका–५ नुवाकोटबाट एसएलसी उत्तीर्ण गरेका अविनलले उच्च शिक्षाकाबारे सोचेकै थिएनन् । वि.सं. २०७२ सालमा एसएलसी पास गरेपछि उनले आफ्नो मामाको सल्लाह बमोजिम नै कृषि पढ्ने निधो गरे । १५ महिने कृषि पढ्दा–पढ्दै जनज्योति माध्यमिक विद्यालय बड्डीचौर सुर्खेतमा तीन वर्षे कृषि पढ्न आएका तामाङ्गले साझा बिसौनी सहकर्मी सीता वलीसँग आफ्नो कलेज लाइफबारे यसरी खुलेः

मामाको ईच्छाले कृषि पढेँ
म सानैदेखि गम्भीर स्वभावको थिएँ । पढाइमा र खेलकुदमा असाध्यै रुची थियो तर बुबा–आमाको सपना मलाई लाहुरे बनोस् भन्ने थियो । नेपालमै बसेर नपाली सेना, सशस्त्र प्रहरी वा जनपद प्रहरीमध्ये जे भए पनि छोरा लाहुरे बनोस् भन्ने मेरो आमा–बुबाको चाहाना थियो । तर मलाई भने त्यसतर्फ कुनै रुचि नै थिएन ।
म सानैदखि मामाघर बसेर विद्यालय शिक्षा लिएको हुँ । मैले २०७२ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरें तर उच्च शिक्षाको लागि मैले केही पनि सोचेको थिइनँ । मेरो मामाले नै मलाई १५ महिने कृषि पढ्न भनेपछि म कृषि पढ्न थालेको हुँ । पढ्दा–पढ्दै मलाई कृषिप्रति यति धेरै मोह जाग्यो की मैले अब भविष्यमा व्यवसायिक कृषक बन्ने सपना नै देखिसकेको छु ।
कलेजको पहिलो दिन
कलेजको पहिलो दिन अलि नरमाइलो भयो । नुवाकोटबाट काठमाडौं झरेको थिएँ, पढ्नको लागि । १५ महिने कृषि पढ्नका लागि कान्तिपुर कम्युनिटी हेल्थ सर्भिसमा मेरो मामाले नाम लेखाइदिनुभएको थियो । कलेज गएँ तर कलेजमा त इंग्लिस मिडियममा पढाइ हुने रहेछ । अलिक अप्ठ्यारो भयो । आफू नेपाली मिडियममा पढेर आएको, एक्कासी इंग्लिस मिडियममा पढ्दा अप्ठ्यारो त भयो तर मैले पढ्नैपर्छ भनेर बढी मेहेनत पनि गरें । कलेजको पहिलो दिन धेरै गर्मीमा पनि म परेको थिएँ । अनि साथीहरू भने केही विद्यालयमा सँगै पढेको पनि थिए, त्यसैले केही सहज महसुस पनि भएको थियो । उच्चशिक्षा पढ्न पाएकोमा एकदमै खुशी थिएँ । कलेजबाट फर्कंदासमेत मलाई खुशी नै लागिरहेको थियो, राख्यो उच्च शिक्षा लिन पाएकोमा ।
विद्यालय र कलेजको पढाइमा धेरै नै भिन्नता छ । विद्यालयमा शिक्षकहरूले जसरी पनि विद्यार्थीहरूलाई कोर्ष बुझाएर अगाडि लैजानुहुन्छ तर कलेजमा कोर्ष सकाउने होडबाजीमा विद्यार्थीले बुझे नबुझेको ख्याल नै गरिंदैन । म कलेजबाहेक घरमा चार घण्टाजति पढ्छु । कलेजको राम्रो पक्ष भनेको साथीहरूसँग रमाइलो गर्न पाइन्छ र घुम्न पाइन्छ त्यो एउटा रमाइलो पक्ष हो भने त्यत्तिकै जिम्मेवारी पनि कलेज लाइफमा हुन्छ । जीवनमा सफलताको ईट्टा थप्ने समय पनि कलेज लाइफ नै हो । हरेक कुराको राम्रो र नराम्रो पक्ष त हुन्छ नै, कलेज लाइफको पनि नराम्रो पक्ष छ । साथीहरूको लहैलहैमा लागेर बिग्रने सम्भावना धेरै हुन्छ कलेज लाइफमा, यसमा सधैं सचेत हुनुपर्दछ ।
काठमान्डौमा पढ्दा–पढ्दै सुर्खेत आएँ
म कान्तिपुर कलेजमा १५ महिने कृषि पढ्दै गर्दा सुर्खेतमा ३ वर्षे कृषि पढ्न आएको हुँ । वि.सं. २०७२ सालको भूकम्प प्रभावित पनि हुँ । नेपाल सरकारले भूकम्प प्रभावित करिब पाँच सय विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउनको लागि आव्हाद गरेको रहेछ । त्यो हामीहरूलाई शिक्षकले भन्नुभयो र मैले पनि त्यसमा फाराम भरें । कृषि, जेटिए लगायतका प्रत्येक क्षेत्रमा ४०÷४० जना विद्यार्थीले प्रवेशिका परीक्षा पास ग¥यौं । १५ महिने कृषि पढ्दा–पढ्दै मैले नेपाल सरकारको निःशुल्क कोटामा पढ्ने अवसर पाएपछि नै सुर्खेत आएको हुँ । उता १५ महिने कृषि पनि मैले अहिले पास गरिसकेको छुु र यता तीन वर्षे कृषिको अन्तिम वर्षमा अध्ययन गरिरहेको छु ।
प्रेम स्वार्थ पूरा गर्न पनि गरिन्छ
प्रेमका परिभाषाहरू दिएर साध्य छैन । कसैले जीवनको साहारा, कसैले दुई आत्माको मिलनलाई प्रेमको संज्ञा दिएका छन् तर मेरो विचारमा प्रेम स्वार्थ पूरा गर्ने माध्यम हो । आफूले सोचेको जस्तो भएन भने प्रेम छुट्न सक्छ । धन हेरेर, रूप हेरेर र पेशा तथा व्यवसाय हेरेर गर्ने प्रेम त झन् जीवनमा घातक हुन्छ । मैले पनि कसैसँग पे्रम गरेको छु । तर डेटिङ गएको छैन । कलेज बंक पनि मैले कहिल्यै गरिनँ । साथीहरूसँग झगडा गर्ने र विवादमा आउने मेरो सानैदेखिको वानी थिएन । कहिले काहीं बिदाको समयमा फिल्म हेर्न भने गइन्थ्यो ।
खेलकुदमा रुचि
म सानैदेखि खेलकुदमा असाध्यै रुची राख्ने मान्छे । मैले तेक्वान्दो पनि विद्यालय पढ्दा धेरै खेलेको हुँ । अन्य क्षेत्र राजनीति तथा कलागला भन्दा खेलकुदमा मेरो अधिक रुची हो । जब म कृषि क्षेत्रमा प्रवेश गरें अब मेरो रुची बदलिएको छ । अब व्यवसायिक कृषक बन्ने सपना देखेको छु । मलाई कृषिप्रतिका मोह जागेको छ । सम्भवत म तीन वर्षे कृषि पढिसकेपछि व्यवसायिक रूपमा कृषि नै गर्छु । मलाई मेरो आफ्नै गाउँमा गएर कृषिलाई आधुनिकीकरण गर्न मन छ त्यो म गर्छु । जनज्योति माध्यमिक विद्यालयमा मैले पढ्दै कमाउँदै पनि गरेको छु । मैले अहिले पनि तीन वटा माउ बंगुर पालेको छु । लगभग ४० हजार जति पढ्दै कमाउँदै गरिसकें । मैले यतिको व्यवहारिक शिक्षा दिने विद्यालय पाएको छु । यो देशकै नमुना विद्यालय पनि रहेछ, जसले विद्यार्थीहरूलाई कमाउँदै पढ्दै गर्ने अवसर दिएको छ ।

प्रकाशित मितिः   १६ असार २०७५, शनिबार ११:३१