विद्युत समस्या समाधान गर्न माग
साझा बिसौनी संवाददाता
सुर्खेत, ११ असार ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का सांसद नवराज रावतले विद्युत समस्या समाधान गर्न माग गरेका छन् । सोमबार संघीय संसदको बैठकमा उनले सामान्य कारणले विद्युत अनियमित हुँदा उद्योग, व्यवसायसँग आमनागरिकलाई सास्ती खेप्नु परेको बताए ।
उनले सुर्खेतको विद्युत समस्या समाधानका लागि वीरेन्द्रनगरदेखि पश्चिम बिजौरासम्मको ३३ केभी प्रशारण लाईन निर्माण गर्नुपर्ने माग सरकारसमक्ष राखे । वीरेन्द्रनगरदेखि पश्चिममा विद्युतको प्रशारण लाइन विस्तारमा सरकारले १ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको
छ । सरकारले ग्रामीण क्षेत्रको विद्युत विस्तारका लागि विनियोजन गरेको बजेट सुर्खेतका लागि अपुग भएको बताए । ‘वीरेन्द्रनगरका १६ वडामध्ये १४ वडा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छन्, हाल कर्णाली प्रदेश राजधानी पनि हो ।’
उनले भने, तर प्रदेश राजधानीका सबै वडाहरूमा नै विद्युत पुगेको छैन । त्यस ठाउँका जनताले अन्धकार र सौर्य उर्जाकै भर पर्नुपर्ने बाध्यता छ ।’
सरकारले उपेक्षा गरेकै कारण सुर्खेतमा विद्युत समस्या समाधान हुन नसकेको बताए । विद्युतलाइन विस्तारका लागि केन्द्र सरकारले विनियोजन गरेको बजेट समेत कार्यान्वयनमा आउन नसकेको बताए । ‘कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माण थालिएको चार वर्ष भयो’ उनले भने, ‘तर, पटक–पटक बजेट विनियोजन हुने र फ्रिज जानेबाहेक अरु प्रगति केही भएको छैन् । त्यहाँका व्यापारीदेखि आम नागरिकले पर्याप्त विद्युत पाएका छैनन् ।’ सामान्य हावाहुरी आएपछि सुर्खेतबासीले अन्धकारमा बस्नुपर्ने समस्या रहेको भन्दै कोहलपुर–सुर्खेत विद्युत प्रशारण लाइनको रुट परिवर्तन गर्न उनले माग गरे ।
यस्तै भेरी र कर्णाली नदीमा तटबन्ध नहुँदा बस्तीहरू बाढीको जोखिममा रहेको बताए । जसका लागि सरकारले तटबन्ध गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए ।
साझा बिसौनी ।