वीरेन्द्रनगरको नीति तथा कार्यक्रमः प्राथमिकतामा ‘व्यवस्थित शहर’

साझा बिसौनी संवाददाता
सुर्खेत, १० असार ।
स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । कर्णाली प्रदेश लगायत सुर्खेतमा रहेका स्थानीय तहले नीति तथा कार्यक्रमसँगै आगामी आर्थिक वर्षका लागि बजेटसमेत विनियोजन गरेका हुन् ।


कर्णाली प्रदेशको राजधानी भएसँगै वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थित शहरको योजना अगाडि सारेको छ । आइतवार वीरेन्द्रनगर नगरपालिकाको तेस्रो नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा व्यवस्थित शहरीकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ । आर्थिक वर्ष २०७५÷०७६ का लागि कुल ९६ करोड ७४ लाख ८३ हजार रकम विनियोजन गरेको नगरपालिकाले सबै आयोजना तथा कार्यक्रमहरूलाई प्रदेश राजधानीलाई समृद्धिका लागि जोडेको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
नगरपालिकाले समग्र कर्णाली प्रदेशको राजधानीको प्रतिनिधित्व गर्नुपर्ने भएकाले वीरेन्द्रनगरभित्रका भौतिक पूर्वाधार निर्माण र भएका संरचनाहरूलाई व्यवस्थित गर्नु नै पहिलो प्राथमिकता भएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ढकालले उल्लेख गरिन् । नयाँ आर्थिक वर्षलाई पूर्वाधार शहर व्यवस्थापन वर्षको रूपमा कार्यान्वयन गरिने बताएको छ । एक वर्षभित्र नगरक्षेत्रभित्र अव्यवस्थित रूपमा मनपरी निर्माण भएका संरचना हटाइने तथा नयाँ निर्माण हुने संरचनालाई पनि राजधानीको लागि उपयुक्त हुने गरी निर्माण गर्न लगाउने नीति नगरपालिकाले लिएको छ ।
यस्तै मनपरी ढङ्गले प्लटिङ्ग हुँदै आएको वीरेन्द्रनगर भित्रको
भू–उपयोग बिग्रन नदिन प्लटिङ्ग कार्यविधि बनाएर लागू गरिने बताएको छ । चार दशकअघि निर्माण भएको गुरुयोजना भन्दा नगरक्षेत्रको भूगोल विस्तार भएकाले नयाँ गुरुयोजना निर्माण गरी बस्ती व्यवस्थित गर्ने र नगरको दिगो विकास प्रक्रियामा अगाडि बढाउने नीतिमा उल्लेख गरिएको छ । नगरक्षेत्रको नयाँ गुरुयोजना निर्माण नहुँदासम्म रत्नराजमार्गको दक्षिणतिर एक हजार पाँचसय मिटरभन्दा तल बस्ती विकासको क्रम रोक्ने नीति नगरपालिकाले ल्याएको छ ।
पाँच लाखमुनीका योजना बन्द
नगरपालिकाले तेस्रो नगरसभाबाट आफ्नो क्षेत्रभित्र पाँच लाखभन्दा साना पूर्वाधारका योजना निर्माण नभएको जनाएको छ । साना आयोजना कार्यान्वयनमा गुणस्तरीयता नभएको र बजेटको दुरूपयोग बढेको चरम गुनासो आएपछि नगरपालिकाले आगामी आर्थिक वर्षमा साना पूर्वाधार योजना निर्माण गर्दा पाँच लाख भन्दा साना योजना निर्माण नगरिएको जनाएको छ ।
तर मर्मत सम्भारको लागि पाँच लाख भन्दा कम लागत लाग्ने भएमा टुक्रे योजनाका रूपमा छुट्टै बजेट विनियोजन गरी एकमुष्ठ एउटा कार्यक्रम बनाइएको छ । यस्तै एउटा वडामा ३० लाख भन्दा माथिका योजनालाई वडा गौरवका र एक करोडभन्दा माथिको नगर गौरवका योजनाहरू सञ्चालन गरिनेछ । नगरपालिकाले पूँजीगततर्फ चालु भन्दा झण्डै दोब्बर कम ३४ करोड ४४ हजार विनियोजन गरेको छ । चालुतर्फ ६२ करोड
२२ लाख ३९ हजार रूपैयाँ विनियोजन गरेको छ । पूँजीगतर्फको कुल बजेटमध्येकोे चालिस प्रतिशत छुट्याएको बजेटमा वडातर्फका पूर्वाधार निर्माणमा १३ करोड ५४ लाख ६६ हजार आठसय ७५ रूपैयाँ विनियोजन गरेको छ । यस्तै नगरस्तरका आयोजना सञ्चालनका लागि पनि १३ करोड २० लाख ४० हजार रकम विनियोजन भएको छ ।
कृषकलाई पचास प्रतिशत अनुदान
कृषि क्षेत्रमा किसानहरूको आकर्षण बढाउनका लागि वीरेन्द्रनगर नगरपालिकाले नगरक्षेत्रभित्र व्यवसायिक रूपमा पाँच भन्दा बढी माउ पशु बाख्रा, गाई, भैसी, बंगुर तथा सुंगुरपालन गर्ने किसानलाई एक माउको खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने योजना लागू गर्ने भएको छ । यस्तै दुईसय वर्गमिटर पोखरीमा माछापालन गर्ने र १० घार मौरीपालन गर्ने किसानलाई पनि प्रोत्साहनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मितिः   ११ असार २०७५, सोमबार १०:४५