इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउन माग
साझा बिसौनी संवाददाता
सुर्खेत, १० असार ।
स्थापनाकालदेखि नै आन्दोलनको मार खेप्दै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पुनः विद्यार्थी आन्दोलिन भएका छन् । कहिले राजनीतिक दल विश्वविद्यालयमाथि हावी भएको भन्दै त कहिले शुल्क घटाउन आन्दोलन हुँदै आएकोमा यसपटक भने भिन्न खालको आन्दोलन सुरु भएको हो ।
इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्ग संघर्ष समितिले आन्दोलन थालेको हो । विद्यार्थीहरूले बुझाएको ७ बँुदे मागसहितको ज्ञापनपत्रप्रति विश्वविद्यालयले बेवास्ता गरेको आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षाहरू पूर्णरूपमा सञ्चालन गरिनुपर्ने र १० प्रतिशत विद्यार्र्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनुपर्ने लगायतका मागहरू राखेका छन् । त्यस्तै लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै, इन्जिनियरिङ्ग संकायको छुट्टै लाइब्रेरीको व्यवस्था गराइनुपर्ने, सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गरिनुपर्ने माग राख्दै आइतवार विश्वविद्यालयको गेट अगाडि सांकेतिक पढाई गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग
संघर्ष समितिका सदस्य निकुञ्ज पाण्डेले जानकारी दिए ।
उनका अनुसार शान्तिपूर्ण ढंगबाट मागहरू प्रस्तुत गर्दा विश्वविद्यालय प्रशासन मौन देखिएपछि पठनपाठन नै बन्द गरेर आन्दोलन गर्न बाध्य भएका हुन् । विद्यार्थीहरूको शान्तिपूर्ण र मर्यादित तरिकाले राखिएका मागहरूको तत्काल सम्बोधन नगरिए कडा भन्दा कडा रूपमा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् । अन्दोलन अन्तर्गत सोमवार बिहान १० बजे विश्वविद्यालयको केन्द्रीय प्रशासन अगाडि धर्ना
कार्यक्रमको घोषणा गरिएको समेत उनले पाण्डेले जानकारी दिए ।
साझा बिसौनी ।