‘सानोमा पढ्न पाइनँ, अहिले दुःख लाग्छ’

झोवा विकको जन्म २०३० वैशाख ११ गते बुबा टेसाङ विक र आमा छेवाङपुटिक विकको कोखबाट मुगुको मुगम कर्मारोङ गाउँपालिकामा भएको हो । उनी २०५८ सालदेखि राजनीतिमा सक्रिए हुन् । अघिल्लो वर्षको मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा उनी समानुपातिकतर्फ कर्णाली प्रदेश सभाको सांसदमा निर्वाचित भइन् । सरल र साधारण जीवनशैली अपनाउँदै आएकी उनी अहिले नेपाली कांग्रेसको मुगु जिल्ला कार्यसमिति सदस्यको रूपमा पनि कार्यरत छन् । सांसद झोवा विकको बाल्यकाल कसरी बित्यो त ? प्रस्तुत छ, हाम्रा सहकर्मी मुना हमालले सांसद विकसँग गरेको कुराकानीको सारांशः

मेरो बाल्यकाल घरको काम गरेरै बित्यो । कहिलेकाहीं समय मिल्दा गाउँका साथीहरूसँग खेल्ने र रमाइलो पनि गरें । हाम्रो सानो परिवार थियो । बुबाआमा र हामी दुई बहिनी थियौं । मेरो एक जना दिदी हुनुहुन्छ । त्यसबेलामा प्रायः गाउँमा पढ्नुपर्छ भन्ने नै थिएन । अझ हाम्रोतिर छोरीलाई पढाउने चलन नै थिएन । हाम्रो घरमा काम गर्ने कोही नभएकाले पनि हामीले पढ्न पाएनौं । दिदीको विवाह भइहाल्यो । त्यसपछि त झन् मैले कहाँबाट पढ्न पाउँनु ? घरकै काममा बुबाआमालाई सघाउन ठिक्कै हुन्थ्यों ।
घाँसदाउरा र मेलापात धेरै गरें । घरमा गाईवस्तु धेरै हुन्थे । अझै पनि त्यसबेलाको सम्झना आउँछ । घाँसदाउँरा लिन जंगल गएको बेलामा दिनभरी खेल्ने अनि साँझपख घाँसदाउरा लिएर घर फर्किने गरेको मैले भुलेकी छैन । खेलेर कहिले पनि रहर मेटिएन । सानो छँदा काम भन्दा खेल्न बढी मन लाग्थ्यो । रमाइलो हुन्थ्यों । त्यसबेलाका खेलहरू कपर्दी, डण्डीबियो, गोट्टा खेल्ने गथ्र्यौं । घाँसदाउरा गएकोे बेलामा अझ पिङ पनि धेरै नै खेल्ने गर्थें । आफैले लिएर गएका डोरीले रुखमा पिङ बनाए खेल्यौं । हाम्रो भोटे भाषाको संस्कृतिमा गीत गाउने र रमाइलो गर्ने गथ्र्यौं । मलाई गीत गाउन र नाच्न धेरै मन पथ्र्यो । म त्यहाँ गाउँमा त कलाकार जस्तै थिएँ । हामी केटी साथीहरू मात्र जम्मा भएर आफ्नै भाषामा गीत गाउँथ्यौं । एकदम रमाइलो हुन्थ्यों । अब त ती बाल्यकालमा दिनहरू फर्किएर आउँदैन । सम्झना भने निरन्तर आइरन्छ ।
गाउँघरमा सडक पुगेको थिएन । हुन त अहिले पनि मेरो गाउँमा सडक पुगेको छैन । पहिलेको भन्दा केही सुविधा त पुगेको छ । अझै पनि त्यहाँका जनताले आफ्नो खर्च लिन हिँडेर सदरमुकाम आउनुपर्छ । त्यसबेलामा हामी जुम्ला, कोही त सुर्खेत र नेपालगञ्जसमेत हिँडेर सामान लिन आउँथ्यौं । जुम्लासम्म आउन घरदेखि तीन दिन लाग्थ्यो । बाटोमा हिउँ पर्ने । धेरै नै गाह्रो हुन्थ्यो । भेडाको ऊन बोकेर जुम्ला आउने र त्यहाँबाट घरखर्च लिएर जान्थ्यौं । अरुको ऊन बोकिदिए वापत ज्याला दिन्थे । दिदी र म त्यही बोक्थ्यौं । दिदीलाई ठूली भनेर एक हजार दिन्थे । मैले ६ सय पाएको थिएँ । त्यो पैसाले हामीले घर खर्च लिएर गयौं । अछामसम्म पनि पुगेँ त्यसबेलामा । बाटोलाई पुग्ने खर्च लिएर हिँड्नु पथ्र्यो । चामलसमेत पनि जुम्लाबाट लिनुपर्ने हुन्थ्यो ।
गाउँघरमा साथीभाइहरूसँग खेलेको सम्झना आउँछ । सँगै मिलेर गाउँमा काँक्रा चोर्न गएको याद आउँछ । चार पाँच जनाको समूहमा हुन्थ्यौं काँक्रा चोर्ने । हामीले गाउँमा अरुको भने काँक्रा चोरेनौ । आ–आफ्नै घरका काँक्रा चोर्ने काम गरेका थियौं । मागेर पनि खान पाइन्थ्यो, तर काँक्रा चोरेर खाँदा रमाइलो लाग्थ्यो । मेरो सानैदेखि सबै साथीहरूसँग मिल्ने स्वभाव थियो । मलाई मनमा लागेका कुराहरू भनिहाल्ने अनि पछिबाट सम्झने मेरो बानी थियो । साथीहरूसँग झै–झगडा गर्न आउँदैन्थ्यो । म सबैसँग मिल्थे । घरकै काममा धेरै लाग्ने भएकाले पनि व्यवहारिक भएको जस्तो लाग्थ्यो ।
बाल्यकालमा पढ्न नपाएकोमा सबैभन्दा बढी दुःख लाग्छ मलाई । अहिले आएर सांसदसम्म त भएकी छु । त्यसबेलामा पढेको भए अहिले त्यो पढाइले धेरै सहयोग हुन्थ्यो होला । बाल्यकालमा घरको काम त गर्नैपर्छ । हिमाली जिल्लामा हातमुख जोड्नका लागि पनि परिवारसँग काममा लागें । गाउँमा धेरैका छामेरीहरू स्कुल जान पाएनन् । काम गरेर उतिबेला परिवारलाई त साथ दिएँ, तर पढ्न नपाउँदाको पीडाले अहिले पनि सताउने गर्छ । दुई अक्षर जानेको भए अहिले संसदमा अरु माननीय जस्तै सजिलो हुनेथियो । अहिले म सांसद भएर सुर्खेत आएको छु । मेरो बाल्यकालका साथीहरू त गाउँमै छन् । साथीहरूले मलाई सांसद बनेकोमा गर्व गर्छन् । आफ्नो बाल्यकाल सोचेजस्तो त वितेन । अब म संसदमा छोरीको शिक्षाका लागि आवाज निरन्तर उठाउने छु । छोरीलाई शिक्षा दिनुपर्छ । म अब जिल्ला र जनताका लागि काम गर्नेछु । सानोमा पढ्न नपाएर कसैलाई पनि मलाई जस्तो पछुतो नहोस् ।

प्रकाशित मितिः   ११ असार २०७५, सोमबार १०:४३