हेलिकोप्टरबाट उद्धारले जीवनरक्षा

साझा बिसौनी संवाददाता
हुम्ला, ७ असार ।
हुम्ला ताचाकोट गाउँपालिका ३ रोकाया गाउँकी ३५ वर्षीया जुनकली रोकायालाई गत आइतवार सुत्केरी व्यथा लाग्यो । नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन जाँदा आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएपछि उनले घरमै सुत्केरी हुने निधो गरिन् । तर, साँझ ६ बजेदेखि व्यथा लागे पनि मध्यरातिसम्म बच्चा निस्किएन । प्रसव पीडाका कारण जिउने आशा नै त्यागिसकेको अवस्थामा जुनकलीकै भाषामा उनले अर्को जन्म पाइन् । कार्यपालिका सदस्य समेत रहेकी उनले भनिन, ‘मैले बाँच्ने कल्पना गरेकी थिइनँ, तर भगवानले बचाए । मेरा भगवान् भनेकै डाक्टर सा’ब हुन् ।’
हुम्लामा उपचार नहुने भए पनि गाउँपालिकाले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्पर्क गरेर हेलिकोप्टरबाट जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएपछि उनले पुनर्जन्म पाएकी हुन् । ‘सुत्केरी व्यथा लागेको लामो समयसम्म बच्चा निस्कन नसक्दा मरिसक्यो भन्ने लागेको थियो’, उनले भनिन्, ‘तर हेलिकोप्टरले समयमै अस्पताल पुर्यानउँदा आमा र बच्चा दुवैको अवस्था सामान्य रहेछ ।’ जुनकलीका पति जंगलाल रोकायाले बच्चालाई तलमाथि केही भए पनि आमा बचाउनकै लागि हेलिकोप्टर मगाएको बताए । ‘श्रीमतीको अवस्था हेर्दा बाँच्ने आसै थिएन, हुम्लामै भएको भए मर्थिन् होला। जुम्ला ल्याएपछि सँगै जिउने आस पलायो’, उनले भने । प्रतिष्ठानका डाक्टर विनोद अर्यालसहितको टोलीले जुनकलीको सफल शल्यक्रिया गरी आमा र बच्चा बचाएको हो ।
यसअघि हुम्लाकै चंखेली गाउँपालिका वडा नम्बर ६ की १९ वर्षीया बसन्ती शाहीलाई चार दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बच्चाको हात निस्किएर रक्तस्राव भइरहेको उनको अवस्था देख्दा परिवारमा तनाव थपिएको थियो । विकल्पको खोजी गर्ने क्रममा सदरमुकाम सिमीकोट लैजान गाउँलेहरूले सुझाए, जहाँ पुग्नै ३ दिन लाग्थ्यो । तर, प्रसूति व्यथाले छटपटाइरहेको अवस्थामा त्यत्तिका दिन लगाएर पठाउनु ठूलो जोखिम थियो । यसपछि जिल्ला स्वास्थ्य कार्यालयकै समन्वयमा हेलिकोप्टर मगाएर जिल्ला अस्पताल हुम्ला र्पुयाइयो र त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरेर जुम्ला अस्पताल ल्याइयो ।
जुम्ला पठाइएको सूचना आउने बित्तिकै कर्णाली अस्पतालको एम्बुलेन्स विमानस्थल पुगिसकेको थियो । यता, अस्पतालमा चिकित्सकहरू शल्यक्रियाका लागि तम्तयार थिए । अस्पताल ल्याउनु अगाडि नै बच्चाको ज्यान गइसके पनि आमालाई बचाउन चिकित्सक सफल भए । चार दिनदेखि वसन्तीको पीडा देखेर आत्तिएका भैरव श्रीमतीलाई सकुशल देख्दा खुशी छन् । उनले श्रीमतीलाई बचाउने डाक्टरहरू भगवान् भएका र अस्पताल देउताको मन्दिर भएको प्रतिक्रिया दिए ।

प्रकाशित मितिः   ८ असार २०७५, शुक्रबार १०:२३