कुपोषणबाट जोगाउन पिठो बाँड्दै स्थानीय सरकार

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ असार ।
पोषणयुक्त खानाको कमीका कारण बालबालिकाहरू कुपोषणमा जेलिदैं गएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नै बालबालिकामा कुपोषणको दर बढ्दै गएको हो । ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषणको दर उच्च देखिएपछि ‘सर्वोत्तम पिठो’ वितरण सुरु गरिएको हो ।
हालै गरिएको परीक्षणमा चौकुने गाउँपालिकामा मात्र २८ जना बालबालिकामा कुपोषण देखिएको हो । जसमध्ये पाँच जनामा बालबालिकामा शीघ्र कुपोषण र २३ जनामा मध्यम खालको कुपोषण फेला परेको हो । गाउँपालिकामा पाँच वर्षमुनीका दुई सय बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा यो संख्यामा कुपोषित बालबालिकाहरू भेटिएका हुन् । ठूलो संख्यामा बालबालिका कुपोषणको संक्रमणमा परेपछि स्थानीय आमा समूह र गाउँपालिकाको कार्यालयले हिजोआज घरघरमा पिठो वितरण सुरु गरेका हुन् ।


पोषणयुक्त खानाको अभावमा बालबालिकाहरूमा कुपोषणको समस्या देखिने गर्दछ । यही समस्या न्यूनीकरणका लागि भन्दै चौकुने गाउँपालिकाको गुटू, घाटगाउँ र बिजौरामा महिलाहरूले नयाँ उपाय लगाएका छन् । स्थानीय स्वास्थ्य आमा समूहले गाउँमै उपलब्ध हुने भुटेको मकै, गहुँ र भटमासको पिठो मिश्रण गरेर सर्वोत्तम पिठो उत्पादन गर्न थालेका छन् । आमा समूहले उत्पादन गरेको यही पिठो गाउँमा रहेका कुपोषित बालबालिका र एक हजार दिनका आमा (गर्भवती भएदेखि सुत्केरी भएको दुई वर्षसम्मका महिलाहरूलाई) उपहार स्वरूप वितरण सुरु गरिएको हो । पिठो उत्पादनमा गाउँपालिकाको कार्यालयले आमा समूहहरूलाई आर्थिक सहयोग गरेको छ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा हाल करिब ५४ प्रतिशत बालबालिकाहरू कुपोषणको समस्यामा जेलिएको सरकारी तथ्यांक छ । सुर्खेतमा पनि यो अवस्था विस्तारै बढ्दै गएको छ । जिल्लामा कुपोषण घटाउन र बालबालिकालाई यसबाट जोगाउन महिलाहरूले स्वास्थ्य आमा समूहहरूले स्थानीय सरकारसँग समन्वय गर्दै सर्वोत्तम पिठो उत्पादन तथा वितरण गरिरहेका छन् । चौकुनेस्थित सुनपाल स्वास्थ्य आमा समूहका अध्यक्ष सुन्धरा जोशील आफूहरूले गाउँमै सर्वोत्तम पिठो उत्पादन गरेको र गर्भवती महिला तथा ६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई खुवाउने गरेको जानकारी दिइन् । उनका अनुसार चौकुनेमा कुपोषणको अवस्था भयावह हुने खतरा देखेपछि स्थानीय सिर्जनशील स्वास्थ्य आमा समूह र विकासशील स्वास्थ्य आमा समूहले समेत गाउँमै पोषणयुक्त पिठो उत्पादन तथा वितरण गरिरहेका छन् ।
चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले भनिन्, ‘आर्थिक अवस्था कमजोर छ, अधिकांश गर्भवती र सुत्केरीले पोषिलो खानै पाउँदैनन् । जसले गर्दा जन्मने बच्चाहरूमा कुपोषण देखिन थालेको छ, अब हामीले आमा समूहमार्फत् घरघरमा पोषणयुक्त पिठो वितरण गर्नेछौं ।’ यस्तै गाउँपालिकाले चालु आर्थिक वर्षमा पिठो उत्पादनका लागि ४० हजार रकम पनि आमा समूहलाई उपलब्ध गराएको छ । ‘हाम्रो गाउँपालिकालाई कुपोषणमुक्त बनाउने छौं, अब कोही पनि बालबालिका कुपोषित हुने छैनन्’ गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही भन्छन्, ‘आगामी वर्ष पनि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्नेछ, गाउँमै सर्वोत्तम पिठो उत्पादन र वितरणलाई जारी राख्नेछौं ।’ गाउँपालिकाले अब गाउँमा रहेका गर्भवती र सुत्केरी महिलाहरूलाई घर–घरमै पुगेर उक्त पिठो प्रदान गरिने जनाएको छ । महिलाहरूले सर्वोत्तम पिठोबाटै विस्कुट र लड्डु पनि उत्पादन गरिरहेका छन् ।
स्थानीय महिला सञ्जालका अध्यक्ष गोविन्दा रानाले गर्भवती भएदेखि सुत्केरी भएको दुई वर्षसम्मको अवधिलाई आमा समूहले सुनौला हजार दिनको रुपमा तथ्यांक राख्ने गरेको जानकारी दिइन् । कुपोषण न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको सुआहारा कार्यक्रमले जिल्लाका चौकुने, बराहताल, वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोटमा अहिले बालबालिकामा कुपोषण पहिचान गर्ने काम गरिरहेको छ । यी स्थानीय तहले पनि गाउँमै सर्वोत्तम पिठो उत्पादन गरेर वितरण गर्ने काममा सहयोग गर्न थालेका छन् । सुआहाराका जिल्ला संयोजक राजेन्द्र अधिकारीले आमा समूहले थालेको प्रयासले कुपोषण न्यूनीकरणमा टेवा पुग्ने बताए । पछिल्लो समय स्थानीय सरकारले नै कुपोषणको न्यूनीकरणमा चासो दिएको भन्दै उनले सबैको प्रयास भए कुपोषण घटाउन सकिने बताए । सर्वोत्तम पिठो उत्पादनका लागि आफूहरूले प्राविधिक सहयोग गरिरहेको समाज जागरण केन्द्र नेपाल (स्याक) का कार्यक्रम संयोजक रेशम चन्दले जनाए । ६ महिनादेखि दुई वर्षसम्मका बच्चालाई यो पिठो खुवाउँदा कुपोषणबाट बचाउन सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन् । यस्तै जिल्लाका स्थानीय तहले पनि अब आमा र बच्चाको स्वास्थ्यका लागि नीतिगत निर्णय गरेर सर्वोत्तम पिठोको प्रयोगमा बढवा दिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मितिः   ७ असार २०७५, बिहीबार १६:१०