खुला चौरमा पढ्दै विद्यार्थी

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ असार ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९ मा रहेको विरगौडा आधारभुत विद्यालयका विद्यार्थीहरू खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । गएको वैशाख ३१ गते आएको हावाहुरीले विद्यालयको सात कोठे भवन भत्काउनुका साथै छाना उडाएपछि भवन अभावका कारण खुल्ला चौरमा बस्न बाध्य भएका हुन् ।


कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययन गर्छन् । सात कोठे भवनको भित्ता भत्काउनुका साथै टिनका छाना उडाएपछि अहिले विद्यालयमा चार वटा कोठा मात्र छन् । जीर्ण कोठा भएका कारण पानी पर्दा पढाउन समस्या हुने गरेको छ । अर्कोतर्फ चर्को गर्मीमा पनि विद्यार्थीलाई खुला चौरमा राखेर पठाउनुपर्ने अवस्था छ ।
सबै विद्यार्थीहरू चार वटा कोठामा पढाउन नसकिने हुँदा कक्षा ४, ५ र ८ का विद्यार्थीहरूलाई खुला चौरमा राखेर र रुखको छाहारीमा बसेर पढाउन बाध्य भएकोे विद्यालयका प्रधानाध्यापक गणश न्यौपानेले जानकारी दिए । कक्षा एक र दुईका विद्यार्थीहरू एउटै कोठामा राखेर विद्यालयले पढाइरहेको छ । विद्यालयले दिउँसोको समयमा धेरै गर्मी हुन थालेपछि बिहान पढाउन सुरु गरेको छ । विद्यालयमा खानेपानी र शौचालयको पनि समस्या भएको उनले जनाए ।
विद्यालयको सात कोठामध्ये पाँच वटा कोठा पूर्णरूपमा क्षति भएको छ । हावाहुरीका कारण विद्यालयको करिब आठ लाख बराबरको क्षति भएको जनाइएको छ । हावाहुरीले भवनको भित्ता भत्काएकाले पनि भवन बनाउन धेरै बजेट लाग्ने देखिएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए । उनले भवनको पूनर्निर्माणका लागि करिब ६ लाख ६५ हजार खर्च लाग्ने बताए । ‘विद्यालयको आफ्नै स्रोत केही छैन । बाँकी रहेका चार वटा कोठामा पनि पानी परेपछि चुहिएर पढाउन मिल्दैन’ उनले भने, ‘गर्मी भएकाले बेलामा विद्यार्थीहरूलाई पानीको व्यवस्था गर्न पनि समस्या छ । भवन जीर्ण छन् पानी प¥यो भने विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउँछ । अहिलेसम्म कुनै नियकाले
बजेट अभाव देखाउँदै ध्यान दिएको छैनन् ।’ बराहताल गाउँपालिकाका ९ का वडा अध्यक्ष नवराज जैसीले आफूले गाउँपालिकामा सिरफारिस गरे पनि बजेट अभावका कारण विद्यालयको भवन मर्मत हुन नसकेको बताए । गाउँपालिकामा बजेट नभएका कारण मर्मत हुन नसकेको उनको भनाइ छ । विद्यालयको भवनका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई समेत जानकारी गराउँदा ध्यान नदिएको उनले बताए । ‘हामीले गाउँपालिका, यस क्षत्रबाट निर्वाचित भएका सांसदहरू, उपसभामुख सबैलाई सहयोगका लागि भनेका छौं’ उनले भने, ‘एक महिनादेखि विद्यार्थीहरू यसरी दुःखकष्ट सहेर पढिरहेका छन् तर कसैको यस विद्यालयको ध्यान गएको छैन ।’

प्रकाशित मितिः   ६ असार २०७५, बुधबार १६:०१