“मुद्दा हेरेवापत जेल परेको छु”
नन्दबहादुर भण्डारी एक सफल अधिवक्ता हुन् । उनी वि.सं. २०२७ साल जेठ ५ गते आमा सुर्जकला भण्डारी र पीता गगनबहादुर भण्डारीको कोखबाट दुल्लू नगरपालिका–१२ दैलखमा जन्मिएका हुन् । १२ भाइबहिनीमध्ये नन्द घरका माइला छोरा हुन् । कानुन व्यवसायीको संगतले यो क्षेत्रमा प्रवेश गरेको बताउने नन्दको भविष्यमा के बन्ने भन्ने योजना थिएन । सानैदेखि गम्भीर स्वभावका उनी यो क्षेत्रमा प्रवेश भने २०५१ सालबाट गरेका हुन् । न्याय नपाएकाहरूलाई न्याय दिलाउनको लागि कानुन व्यवसाय अंगालेकाले उनले विभिन्न संघ–संस्थाहरूको समेत सफल नेतृत्व गर्दै आएका छन् । मुद्दा हेरेवापत जेल र राजनीतिक दलको घेरामा परेका उनी कानुन व्यवसायमा सफलता पाउनका लागि अध्ययनमा जागर हुनुपर्ने बताउँछन् । पछाडि पारिएका समुदाय र न्याय नपाएका नागरिकहरूलाई न्याय दिनको लागि वकिल पेसामा संलग्न भएको बताउने नन्दबहादुर भण्डारीले आफ्नो पेसागत जीवन हाम्रा सहकर्मी सीता वलीसँग यसरी खोलेका छन्ः
म एक मध्यम वर्गीय परिवार र विकट ठाउँमा जन्मिएको मान्छे । म माथि बुबा–आमाको त त्यति ठूलो सपना केही थिएन । तर मेरो दाईको सपना भने मलाई डक्टर बनेको हेर्ने थियो । मैले भविष्यमा के बन्छु भन्ने सोचेकै थिइनँ । नारायण माध्यमिक विद्यालय नेपालगन्जमा माध्यामिक तह पढ्दा कानुन पढेका जगत भण्डारी र गोविन्द बन्दीसँग मेरो संगत हुन्थ्यो । त्यही संगतले मलाई कानुन व्यवसायी बनायो । म सानैदेखि सोच्थें, ‘न्याय नपाएकाहरूको विकल्प के होला ?’ कानुन पढेपछि थाहा भयो न्याय नपाएकाहरूलाई न्याय दिने पेसा त वकिल पो रहेछ । तर कतिपय अवस्थामा न्याय पाउनुपर्ने व्यक्तिले न्याय पाउँदैनन्, त्यतिबेला भने साह्रै दुःख लागेर आउँछ । मैले एसएलसी पास नेपालगन्जबाट गरेपछि बहुमुखी क्याम्पस सुर्खेतबाट प्रविणता प्रमाणपत्रतह कानुन संकाय पढें । भारतका आदर्श व्यक्ति माहात्मा गान्धी लगायतका व्यक्तिहरूले पनि कानुन विषयमा अध्ययन गरेको इतिहास मैले पढेको थिएँ त्यसैले पनि मलाई कानुन पढ्न मन लागेको हो । कानुन विषयमा मैले स्नातक गरेको छु ।
कानुन व्यवसाय अप्ठ्यारो पेसा पनि हो, पटक–पटक ऐन, नियम र कानुनका बारेमा अपडेट भइरहनुपर्ने । नजिरहरूको जानकारी लिनुपर्ने । यी कुराहरूमा सधैं अपडेट भइएन भने कानुन व्यवसायमा व्यक्तिले सफलता प्राप्त गर्न सक्दैन । अल्छीको लागि यो पेसा हुँदै होइन, जाँगर गर्नेलाई यो पेसामा कुनै कुराको कमी हँदैन । यो पेसामा सुरु–सुरुमा त मलाई एकदमै अप्ठ्यारो भयो । संकटकालको बेला त यो पेसा छोड्नको लागि मेरो दाईहरूले आग्रह गर्नुभएको थियो । मलाई पनि पेसा नै परिवर्तन गरौं कि झै पनि नभएको होइन । आर्थिक अभाव पनि भयो तर विस्तारै संघर्ष गर्दै जाँदा सफल भइयो । सुुरु–सुरुमा यो पेसामा कसैले नपत्याउने पनि हुन्छ । किताबको ज्ञानमात्रै जानेर आएको विद्यार्थीलाई कसैले पत्याउँदैनन् । विस्तारै काम गर्दै जाँदा सबैको प्रिय पनि बन्न सकिन्छ ।
वकिल सामाजिक इन्जिनियर हो र सामाजिक अभियान्ता पनि हो । समाजले वकिललाई सम्मान गर्छ तर न्याय दिने क्रममा विपक्षीको नजरमा नराम्रो त भइन्छ । कहिले काहीं विभिन्न किसिमका समस्या पनि सिर्जना भइदिन्छ । त्यस्तो मेरो जीवनमा पनि भएको छ । वि.सं. २०६१ सालमा जतिबेला देशमा संकटकाल थियो । एकजनाको मुद्दा हेरेबापत मैले २१ दिन जेलमा बस्नुपरेको थियो । त्यति मात्रै होइन वि.सं. २०६४ सालमा ज्यान मुद्दा हेरेबापत म राजनितिक दलको घेरामा पनि परेको छु । पीडकहरू पनि वकिलबाट न्याय पाउने अपेक्षा गर्छन् । मलाई वास्तविक पीडितले न्याय पाउन् भन्ने लाग्छ । पैसा कमाउनका लागि मात्रै पेसा व्यवसाय जे गरे पनि हुन्छ तर सेवाका हिसाबले वकिल पेसा एकदमै सम्मानित पेसा हो । समाजले हेर्ने दृष्टिकोण पनि राम्रै छ । म अधिवक्ता मात्रै होइन विभिन्न संघ–संस्थाको नेतृत्व पनि मैले गरेको छु ।
आवाज संस्थाको केन्द्रीय बोर्ड कमिटीको सचिव भएर पनि मैले काम गरेको छु । पाइनिएर बहुउद्देश्यीय सहकारी संस्थामा पनि आवद्ध छु । यो पेसामा मैले भुल्नै नसक्ने खुशीको क्षण पनि छ । वि.सं. २०५८ सालतिरको कुरा हो । देशमा संकटकाल थियो । तत्कालीन राज्यपक्षबाट राजनीतिक आस्थाका आधारमा पक्राउ गरी जेल हालिएको थियो । हाम्रै पहलमा रिट हालेर करिब पाँच सय जनालाई जेलमुक्त गराएका थियौं । त्यतिबेला म जिल्ला बार एशोसियशन सुर्खेतको अध्यक्ष थिएँ ।
कानुन व्यावसायीको पेसा मर्यादित बनाउनको लागि वकिलहरू आफै मर्यादित र अनुशासित हुनुपर्दछ । मेरो परिवारमा अहिले चार जना छौं श्रीमतीले व्यापार गर्छिन् म भने निरन्तर यही पेसामा लागिरहने छु । मेरो ईच्छा भनेको सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी पनि भएको नाताले कानुन क्षेत्रको अध्ययन अनुसन्धानको केन्द्र बनाउन मन छ । नयाँ कानुन व्यावसायीहरूसँग सहकार्य गरेर समेत काम गर्न मन छ ।
साझा बिसौनी ।