फरक क्षमता भएका विद्यार्थीको कष्टपूर्ण पढाइ, कक्षा फरक तर कोठा एउटै
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ जेठ ।
कुनाथरीको बड्डिचौरस्थित जनज्योति उच्च माध्यमिक विद्यालयमा सुस्तश्रवण भएका १० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूका लागि छुट्टै कोठा र एक जना शिक्षकको व्यवस्था त गरिएको छ तर फरक–फरक कक्षामा पढ्ने ती सबै विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य छन् ।
यस्तै वीरेन्द्रनगरको ईत्राममा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माविमा १० जना दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । तर उनीहरूलाई अन्य विद्यार्थीहरूसँगै बसेर पढ्नुपर्ने बाध्यता छ । दृष्टिविहीनहरूका लागि छुट्टै कक्षाको व्यवस्था नहुँदा समस्या हुने गरेको विद्यार्थीहरूको गुनासो छ ।
जिल्लाका फरक क्षमता भएका बालबालिकाहरूको पढाइ कति कष्टपूर्ण छ भन्ने उल्लेखित उदाहरणले प्रष्ट हुन्छ । दृष्टिविहीन र सुस्तश्रवण भएका बालबालिकाहरूको पढाइमा सरकारले नै ध्यान नदिएको गुनासो उनीहरूको छ । यस्तै कष्टका साथ पनि केही बालबालिका विद्यालय गइरहेका छन् भने कतिपय बालबालिका पढाइबाट समेत वञ्चित हुन पुगेका छन् ।
जनज्योति उच्च माविले २०५४ सालदेखि सुस्तश्रवणका लागि विशेष कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयमा यस्ता विद्यार्थीलाई पढाउनका लागि तालिम प्राप्त एक जना शिक्षक समेत राखिएको छ । ‘१० जना विद्यार्थी एउटै कक्षामा पढ्ने त होइनन् तर, एउटै कोठामा पढाइन्छ’ विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले भने, ‘तालिम प्राप्त शिक्षक एउटै मात्र भएकाले सबै विद्यार्थीहरूलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ ।’
त्यस्तै अर्को समस्या भनेको आर्थिक स्रोत नहुनु पनि हो । अभिभावकहरू सुस्तश्रवण बालबालिकालाई विद्यालय पठाउन समेत चाहँदैनन् जसले गर्दा सरकारले उपलब्ध गराउने न्यूनतम रकमकै भरमा पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक सिग्देल बताउँछन् ।
सरकारले सुस्तश्रवण तथा दृष्टिविहीन, सुस्तमनस्थिति भएका बालबालिकाको शिक्षाका लागि भनेर मासिक रूपमा प्रतिव्यक्ति दुई हजार पाँच सय रूपैयाँ उपलब्ध गराउँदै आइरहेको छ । बालबालिकालाई त्यही रकमले खाने, बस्नेदेखि पढाइ खर्च समेत धान्नुपर्ने बाध्यता विद्यालयले भोगिरहेका छन् ।
सुस्तश्रवण भएका बालबालिकालाई पढाउने शिक्षिका तुलसा थापाले सबै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर सँगै पढाउँदा समस्या भएको बताइन् । सबै कक्षाका विद्यार्थीहरूलाई एउटै कोठामा पढाउँदा समय नपुगेर पूरा विषय पढाउन नपाइने उनको भनाइ थियो । उनले यस्ता सुस्तश्रवण र अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षामा सुधार ल्याउनको लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘मासिक रूपमा २५ सयले मात्र अपाङ्गता बालबालिकाको लागि पर्याप्त हुँदैन, उनीहरूको लागि उचित किसिमको बस्ने र पढ्ने वातावरणको व्यवस्था गर्नुपर्छ ।’
श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि ईत्रामले पनि गत वर्षदेखि दृष्टिविहीनहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ । यस विद्यालयमा अहिले १० जना दृष्टिविहीनहरूले अध्ययन गरिरहेका छन् । कक्षा दुईदेखि कक्षा १० सम्म पढ्ने विद्यार्थीहरू रहेको विद्यालयका प्राचार्य गेहेन्द्रप्रसाद दहालले बताए । अन्य विद्यार्थीसँगै राखेर पढाउने गरेको उनको भनाइ छ । यस विद्यालयमा दुई जना शिक्षकले ब्रेललिपिमार्फत् विद्यार्थीलाई पढाउने गर्दछन् । दृष्टिविहीनहरूको अध्ययनका लागि सरकारले कुनै छुट्टै व्यवस्था नगरेको र विद्यालयको पनि आन्तरिक स्रोत नभएकाले अन्य विद्यार्थीहरूसँगै राखेर पढाउनुपर्ने बाध्यता रहेको प्राचार्य दाहालले बताए । विद्यालयको पढाइ आफूहरूका लागि सहज नभएकाले कतिपय बालबालिकाहरूले पनि बीचैमा पढाइ छोड्ने गरेका छन् ।
दृष्टिविहीन तथा सुस्तश्रवण भएका बालबालिकाहरूका लागि सरकारले उपलब्ध गराउने रकम निकै न्यून भएकाले वृद्धि गर्नुपर्ने विद्यालयहरूको माग छ । यस्ता बालबालिकाहरूका लागि सरकारले नै आवासीय सुविधासहित पढ्ने व्यवस्था मिलाउनुपर्ने उनीहरू बताउँछन् । टाढा–टाढाका विद्यार्थीहरू पढ्न आउँने हुँदा बस्न, खाना र पढ्न नपुग्ने प्राचार्य दहालको भनाइ छ । दृष्टिविहीन छात्राहरूलाई अन्य भन्दा बढी समस्या रहेको छ । नेपाल सरकारले अपाङ्गताहरूका लागि बस्ने होस्टेल, हेरचाह गर्ने कर्मचारी र शिक्षकहरूको संख्या वृद्धि गर्नुपर्ने उनीहरूको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।