विश्वविद्यालय सभा आज
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ जेठ ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको पाँचौं सभा (सिनेट) आज वीरेन्द्रनगरमा हुँदैछ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवम् शिक्षामन्त्री गिरीराजमणि पोख्रेलसहितको सहभागितामा सिनेट हुन लागेको हो ।
सिनेटले विश्वविद्यालयको आगामी शैक्षिक कार्यदिशा, आगामी आर्थिक वर्षको बजेट, विभिन्न ऐन संशोधन लगायतका प्रस्तावहरू पारित गर्ने जनाइएको छ । उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले पाँचौं विश्वविद्यालय सभाले विश्वविद्यालयको दीर्घकालीन मार्गचित्र कोर्ने बताए । विश्वविद्यालयसभा दिउँसो १२ बजेदेखि सुरु हुने विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।
सभाअघि प्रधानमन्त्रीले कुइनेपानीमा विश्वविद्यालयका केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उनले भवन निर्माणका लागि पाँच करोड रूपैयाँको चेक समेत विश्वविद्यालयलाई हस्तान्तरण गर्ने खड्काले जनाए ।
साझा बिसौनी संवाददाता ।