‘सरकारको कामले हैरान छौं’

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता पशुपति शमशेर जबराले सरकारको कामले आफूहरू हैरान भएको बताएका छन् । आफ्नो पार्टी वर्तमान सरकारको सत्ता साझेदार भएता पनि सरकारको काम गर्ने शैली राम्रो नभएको उनको भनाइ छ । आफ्नो पार्टी सरकार परिवर्तनको पक्षमा नरहेको भए पनि सरकारको काम गर्ने शैलीले हैरान भइसकेको जबराले उल्लेख गरे ।
उनले भने, ‘सरकारमा सहभागी भएर के गर्नु ? हामी हैरान भएका छौं । अब सरकारको काम गर्ने शैली फेरिनुपर्छ, भद्र सहमतिको नाममा सरकार परिवर्तनको गफ गर्नुको अर्थ छैन ।’ पछिल्लो समय सत्ता साझेदार एमाले र माओवादीबीच भएको भनिएको ‘भद्र सहमति’ को बारेमा टिप्पणी गर्दै उनले भने, ‘पहिला त एमाले र माओवादीका नेताहरू भद्र हुनुप¥यो नि, के नेताहरू भद्र छन् त ? आफू अभद्र हुने, तर भद्र सहमतिको रटान लगाउनुको कुनै तुक छैन ।’ तत्काल सरकार परिवर्तन आवश्यक नभएको भन्दै उनले सरकारले कार्यशैली भने सुधार गर्नुपर्ने बताए । भूकम्पपीडित र बाढीपीडित जनताको राहत र पुनस्र्थापनामा चासो नदिएका कारण आफूहरूलाई सरकारको काम गर्ने शैली मन नपरेको उनको भनाइ छ ।
मधेसमा दुई वटा प्रदेश बनाउनुपर्ने बताएका छन् । मधेसमा दुई वटा प्रदेश बनाएमा हाल मधेसमा देखिएको राजनीतिक समस्या समाधान हुने उनको दाबी छ । यस्तै बाँकी विषयहरू आयोगबाटै टुङ्गो लगाउनुपर्ने उनको भनाइ छ । नयाँ संविधानलाई मधेसले स्वीकार नगरेकै कारण कार्यान्वयनमा कठिनाइ भइरहेको भन्दै उनले मधेसमा दुई वटा प्रदेश बनाए वर्तमान सङ्कट समाधान हुने बताए । राप्रपाले सोमवार वीरेन्द्रनगरमा आयोजना पत्रकार सम्मेलनमा नेता जबराले भने, ‘मधेसलाई दबाएर संविधान कार्यान्वयन हुन सक्दैन, त्यसका लागि मधेसमा अब दुई प्रदेश बनाऔं । बाँकी नमिलेका विषयलाई आयोगबाट टुङ्गो लगाउनेतर्फ ध्यान दिऔं, अहिले देखिएका सबै राजनीतिक समस्या समाधान हुन्छन् ।’ मधेसलाई सन्तुष्ट नबनाउँदासम्म मुलुकमा अस्थिरता कायमै रहने भन्दै उनले मधेस समस्या समाधान गर्नेतर्फ नेतृत्वले ध्यान दिनुपर्ने बताए ।
यस्तै बहुमत हिन्दु धर्म मान्ने जनताको भावनालाई कुल्चेर मुलुकमा धर्म निरपेक्षता लादिएको भन्दै जबराले अब जनमत संग्रहबाट यसको फैसला हुनुपर्नेमा जोड दिए । आफूहरूले गणतन्त्र स्वीकार गरिसकेको बताउँदै उनले राजतन्त्रको पक्षमा राप्रपा नभएको स्पष्ट पारे । तर धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषयमा भने जनमत संग्रह हुनुपर्ने उनको भनाइ छ । एक फरक प्रसंगमा राप्रपा र राप्रपा नेपालबीच छिट्टै पार्टी एकता हुने समेत जबराले जानकारी दिए ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७३, मंगलवार ०४:५६