अब सुर्खेतका टोल–टोलमा प्रहरी
साझा बिसौनी संवाददाता
सुर्खेत, ४ असार ।
स्थानीय शान्ति सुरक्षाको अवस्था बुझ्न जिल्लाका टोल–टोलमा प्रहरी परिचालन गरिएको छ । गृह प्रशासन सुधार कार्ययोजनाले अवलम्बन गरेको नीति अनुसार टोल–टोलको सुरक्षा अवस्था बुझ्न प्रहरी परिचालन गरिएको हो । अपराध न्यूनीकरणका लागि ‘नागरिक–प्रहरी साझेदारी’ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘टोल–टोलमा प्रहरी’ कार्यक्रम लागु गरेको हो ।
स्थानीय तहका जनप्रतिनिधिमार्फत् टोलबासीकै सहभागितामा अपराधिक गतिविधिलाई निरुत्साहित गर्न सोमवारदेखि कार्यक्रम लागू गरिएको छ । कार्यक्रम लागू भएसँगै आम नागरिकको सहयोेग स्थानीय तहमा सामाजिक विकृति रोक्न उद्देश्यले टोल मै प्रहरी पुग्ने भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो मातहतका इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकीमार्फत् जनशक्ति परिचालन गरी कार्यक्रमलाई प्रभावकारी बनाउने रणनीति बनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार सामाजिक सद्भाव खल्बलिने गरी हुने विभिन्न घटनालाई हुनुभन्दा पहिले नै रोक्नका लागि यो अभियानले सहयोग पुग्नेछ । सुर्खेतमा लागू औषध र जाडरक्सीको बढ्दो बिक्रीवितरण रोक्नु चुनौती बनेको भन्दै उनले न्यूनीकरणका लागि यो अभियानले मद्दत पुग्ने बताए । सोही अभियानका क्रममा टोल सुरक्षा समिति गठन गरिने भएको छ । स्थानीय नागरिकलाई शान्ति सुरक्षामा थप जिम्मेवार बनाउन टोल–टोलमा सुरक्षा समिति गठन गरिने भएको हो ।
अभियानका क्रममा रक्सी नियन्त्रणमा विशेष निगरानी बढाइने भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा २५ हजार लिटर घरेलु मदिरा र ३४ हजार लिटर कच्चा पदार्थ बरामद गरेको प्रहरीले सोही अनुसार अभियानमा सक्रियता जनाउने भएको हो । प्रहरीको तथ्यांक अनुसार चालु आवको ११ महिनामा ४१ ग्राम ब्राउनसुगरसहित ४४ जनालाई प्रक्राउ गरेको छ । प्रहरीले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार लागूऔषध र जाडरक्सी प्रयोग गर्ने ३० जनाविरुद्ध मुद्दा चलाइएको छ । ५८ किलो पाँच सय ग्राम चरेस प्रक्राउ गरिएको उनले बताए । विभिन्न दुव्र्यशनीका अखडाहरूबाट तीन सय ९५ जनालाई नियन्त्रण गरी अभिभावकको रोहवरमा छोडिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार सुर्खेतमा आत्महत्याको स्थिति पनि भयावह देखिएको छ ।
चालु आवको यो अवधिमा ५६ जना झुण्डिएर, १७ जना विष सेवन गरेर र एक जनाले पानिमा हाम फालेर आत्म हत्या गरेका छन् । सामाजिक विकृति रूपमा रहेकोे यौन व्यवसायमा पनि प्रहरीको विशेष निगरानीमा रहने एसपी चतुर्वेदीले बताए । चतुर्वेदीले ‘टोल–टोलमा प्रहरी’ अभियान कार्यक्रमलाई नागरिकले सहयोग गरे सामाजिक विकृतिमा कमी आउने विश्वास व्यक्त गरे । सोमवारदेखि लागू भएको उक्त कायक्रमको पहिलो चरणमा मंगलवार पञ्चपुरी नगरपालिकाको बावियाचौरमा कार्यक्रम गरिदैंछ ।
साझा बिसौनी ।