सुर्खेतमा हेलिकोप्टर सहितको उद्दार टोली

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ असार ।
सरकारले मनसुनसँगै देशका विभिन्न भागमा हुने प्राकृतिक विपत् विरुद्दको अभियानलाई तीव्रता दिँदै धनजनको क्षति न्यूनीकरणका लागि सामूहिक पहलको प्रयास थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार सिंहदरवारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को पहिलो बैठकले तत्काल परिचालन हुनसक्ने गरी कर्णाली प्रदेशको सुर्खेतसहित तीन प्रदेशमा नेपाली सेनाको हेलिकप्टरसहितको खोज उद्दार टोली तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जोखिम न्यूनीकरणका लागि सबै मन्त्रालयहरू, प्रदेश विपद् व्यवस्थापन समितिहरू, जिल्ला विपद् व्यवस्थापन समितिहरू, स्थानीय विपद् व्यवस्थापन समितिहरू र सुरक्षा निकायहरू सबैले समन्वय गरी कार्य गर्ने निर्णय गरेको हो ।
त्यस्तै मनसुनको समयमा हुनसक्ने सम्भावित सडक अवरोधलाई तत्काल समाधान गर्न हेभी इक्युपमेन्टसहितको आवश्यक जनशक्ति रणनीतिक स्थानमा राख्न आवश्यक व्यवस्था भौतिक योजना तथा निर्माण मन्त्रालय र अन्य सम्वद्ध निकायले गर्न समेत निर्देशन दिईएको छ । बैठकले जल तथा मौसम विज्ञान विभागले जल तथा वर्षा मापन केन्द्रमा रहेका जल तथा वर्षा मापन उपकरणहरूलाई चालु अवस्थामा राख्न समेत निर्देशन दिएको छ ।
पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी वनाउन उक्त विभागबाट प्राप्त हुने सूचनालाई मोबाइल सेवा प्रदायकहरू नेपाल टेलिकम लगायत अन्य सेवा प्रदायक र सञ्चार माध्यममार्फत् तत्काल जनसमक्ष पु¥याउने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रकाशित मितिः   ५ असार २०७५, मंगलवार १५:१९