ब्याडमिन्टन छनौट प्रतियोगिता सुरु
साझा बिसौनी संवाददाता
सुर्खेत, ३ असार ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्नपूर्ण पोस्ट अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन छनौट प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा आइतवारदेखि प्रतियोगिता सुरु भएको हो ।
तीन दिनसम्म हुने प्रतियोगिताको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गरेका थिए । उनले अनुशासित र स्वस्थ समाज निर्माणका लागि खेलकुद आवश्यक रहेको उल्लेख गरे । खेलाडीको स्तरीयता र भौतिक पूर्वाधार निर्माणमा सबैभन्दा पछि परेको कर्णाली प्रदेशको खेल विकासका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको मन्त्री रावलको भनाइ थियो ।
प्रतियोगितामा सात जिल्लाका एकसय २८ जना खेलाडीहरूको सहभागिता रहेको छ । दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, रुकुम, सल्यान र हुम्लाका खेलाडीहरूले छनोट प्रतियोगितामा सहभागीता जनाएका छन् । अन्नपूर्णपोष्टका मध्य तथा सदूरपश्चिमाञ्चल क्षेत्रीय प्रमुख प्रेम केसीले मिडिया हाउसले समाचार उत्पादन मात्रै नभइ प्राथमिकतामा परेका विषयको भौतिक रूपमा नै विकास गर्न प्रतियोगिता आयोजना गरेको जानकारी दिए । विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगिता आगामी दिनमा झन् उत्कृष्ट बनाउँदै लैजाने केसीले बताए ।
साझा बिसौनी ।