३० आयोजनाका लागि २० अर्ब परिचालन हुने

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ असार ।
कर्णाली प्रदेश सरकारले ३० वटा आयोजना उच्च महत्व दिएर प्राथमिकतामा पारेको छ । प्रदेश सरकारले नेपाल सरकार र दाता वा निजी क्षेत्रसँग सहकार्यमा ति आयोजनाहरूलाई शीघ्रताका साथ सम्पन्न गर्न समन्वय तथा साझेदारी गर्ने सरकारले जनाएको छ ।
प्रदेशले उच्च महŒव दिएका ती आयोजनालाई संघीय सरकारले बेवास्ता गरेपछि प्रदेश सरकारले पुनः ती आयोजना अघि बढाउन केन्द्र सरकारलाई अनुरोध गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको प्रतिनिधि मण्डलले गत वैशाख २७ गते काठमाडौं पुगेर प्रदेशकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई २९ बुँदे मागपत्र पेश गरेको थियो । मागपत्रमार्फत् कर्णालीको समृद्धिका लागि ‘उच्च महŒव’का २९ आयोजना सञ्चालनका लागि आवश्यक बजेट विनियोजनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो । तर संघीय बजेटले त्यसलाई सम्बोधन नगरेपछि उच्च महत्वका ३० आयोजना छनौट गरी प्रदेश सरकारले २० अर्ब रूपैयाँ परिचालन गर्नेगरी ती आयोजनालाई अघि बढाउने तयारी गरेको हो ।
उक्त आयोजना नेपाल सरकार, दाता वा निजी क्षेत्रसँगको सहकार्यमा निर्माण गर्ने सरकारले जनाएको छ । नेपाल सरकारबाट प्राप्त हुने विशेष अनुदान, समपूरक अनुदान, आन्तरिक ऋण एवम् नेपाल सरकारको समन्वयमा विकास साझेदारहरूको सहयोग समेतबाट विभिन्न आयोजनाहरूको पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययन र उपयुक्तताका आधारमा प्राथमिकीकरण गरी क्रमिक रूपमा कार्यान्वयन गर्न २० अर्ब रूपैयाँ विनियोजन गरिएको हो ।
यी आयोजनालाई कर्णाली प्रदेशका मेरुदण्ड आयोजनाहरूको रुपमा लिइएको छ । सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र निर्माणका लागि नेपाल सरकारको विशेष अनुदान, समपूरक अनुदान, नेपाल सरकारको आन्तरिक ऋण, विकास साझेदारहरूको सहयोग एवम् निजी क्षेत्रको लगानी आकर्षित गरिने जनाइएको छ ।

यी हुन्, उच्च महत्वका ३० आयोजना

– भेरी–बबई डाइभर्सन, नलसिहंगाड, फूकोट कर्णाली, बेतन कर्णाली जलविद्युत आयोजनाहरू ।
– जमुनाहा–हिल्सा–प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्ग (फास्ट ट्रयाक)
– हुम्ला र डोल्पा जिल्ला सदरमुकाम जोड्ने रणनीतिक राजमार्गहरू,
– कर्णाली राजमार्ग दुई लेन स्तरोन्नति,
– भेरी करिडोर छिन्चु डोल्पा धो मोरिम्ला सडक निर्माण तथा स्तरोन्नति,
– नाग्मा रारा नाक्चे लाग्ना पर्यटकीय मार्ग स्तरोन्नति,
– दक्षिण सीमाना बर्दियादेखि नाक्चे लाग्नासम्म सडक स्तरोन्नति,
– सुर्खेत बर्दिया सुरुङ मार्ग निर्माण,
– मुसीकोट जमुनाहा नाका सडक,
– सुर्खेत उपत्यका बृहत चक्रपथ,
– सुर्खेत दैलेख सडक स्तरोन्नति,
– चौरजहारी जाजरकोट जुम्ला कामी बुढा सहीद मार्ग,
– राप्ती लोक मार्ग स्तरोन्नति,
– कर्णाली, भेरी, बबई लिफ्ट सिँचाइ,
– जडीबुटी प्रशोधन केन्द्र,
– औषधि उद्योग स्थापना,
– सिमेन्ट उद्योग स्थापना र सञ्चालन,
– खनिज उद्योग स्थापना,
– प्रादेशिक रंगशाला निर्माण,
– कर्णाली पर्यटन सर्किट निर्माण,
– अर्गानिक कृषि व्यवसाय प्रबद्र्धन कार्यक्रम,
– प्रादेशिक कृषि प्रतिष्ठान स्थापना,
– कर्णाली आयुर्वेद विश्वविद्यालय स्थापना,
– सुर्खेत मेडिकल कलेज स्थापना,
– एयर एम्बुलेन्स सेवा सञ्चालन,
– कर्णाली विश्वविद्यालय पूर्वाधार निर्माण,
– एकीकृत बस्ती विकास तथा नमुना गाउँ सहर कार्यक्रम,
– प्रादेशिक पेट्रोलियम भण्डारण केन्द्र निर्माण,
– विशेष आर्थिक क्षेत्र स्थापना,
– दैलेखको ग्याँस र पेट्रोलियम पदार्थ अन्वेषण, उत्खनन् ।

प्रकाशित मितिः   ४ असार २०७५, सोमबार १६:३४