पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

साझा बिसौनी संवाददाता
कालिकोट, ३० जेठ ।
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको दही खोलामा पहिरो गएका कारण सडक अवरुद्ध बन्न पुगेको हो ।
सडक अवरुद्ध हुँदा बिहानैबाट सुर्खेत, नेपालगन्ज, कालिकोट, जुम्ला आवत–जावत गर्ने यात्रु अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी सुवास चन्द्र बोहोराले डोजरले पहिरो हटाउन नसकिने र स्काभेटर आउन ढिला भएका कारण पहिरो पन्छाउने कार्यमा ढिलाइ भएको बताए । उनले एक डेढ घण्टामै सडक खुलाउने प्रयास भइरहेको बताए ।
सडक तत्काल खुलाएर सवारी आवागमनमा सहजता ल्याउनको लागि स्थानीयले माग गरेका छन् । प्रहरी प्रशासनको ढिलासुस्तीका कारण भोकभोकै बीच बाटोमा बस्नु परेको यात्रुहरूको गुनासो छ ।
जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का दिपेन्द्र उपाध्यायले सरकारी उदासिन्ताका कारण कर्णालीबासीले पटक–पटक यात्रामा असहजता व्यहोर्नु परेको गुनासो गरे। आगामी दिनमा पहिरो जाने बित्तिकै पन्छाउने खालको वातावरण तयार पार्न पनि उनले माग गरे ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७५, बिहीबार १६:४७