अपाङ्गता भएका व्यक्तिलाई अभिमुखीकरण

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० जेठ ।
सुर्खेतको लेकबेसी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका लागि दुईदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग र सामुदायिक अपाङ्गता विकास केन्द्र सुर्खेतको आयोजनामा अपाङ्गता भएका व्यक्तिको दिगो विकास र जीविकोपार्जन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको हो ।
दुईदिनसम्म सञ्चालन भएको अभिमुखीकरणमा अपाङ्गता भएका व्यक्तिको हक अधिकार रक्षाका लागि स्थानीय तहमै विशेष योजना निर्माण गरी लागू गर्नुपर्ने सहभागीहरूले बताएका छन् । उनीहरूले अपाङ्गहरूलाई सहज रूपमा जीविकोपार्जनका लागि क्षमता अनुसारको रोजगारीको व्यवस्थापनका लागि समेत स्थानीय सरकारले योजना निर्माण गर्नुपर्ने बताएका छन् । नगरपालिकाका १० वटै वडाका कार्यपालिकाका सदस्यहरू, विषयगत कार्यालयका प्रमुखहरूले आगामी नगरपरिषद्मा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन गराउन आवश्यक योजना बनाइने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच उनीहरूले आगामी नगरपरिषद्मा पास गराउने गरी १८ बुँदे समझदारी पत्रमा हस्ताक्षरसमेत गरेका छन् । समझदारीपत्रमा अपाङ्गता भएको व्यक्तिका हक अधिकार रक्षा, रोजगारीका कार्यक्रम सञ्चालन, दिगो विकास, अपाङ्गमैत्री संरचना लगायतका विषयवस्तु समेटिएको सामुदायिक अपाङ्गता विकास केन्द्र लेकवेशीका अध्यक्ष नारायण वास्तोलाले जानकारी दिए । नगरप्रमुख गगनसिंह सुनारले पनि अपाङ्गता भएका व्यक्तिहरूले उठाएका सवालहरू जायज भएकाले आगामी कार्यक्रममा सक्दो समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७५, बिहीबार १६:४६