लोप हुँदै माछा, चिन्तित विज्ञ
साझा बिसौनी संवाददाता
दैलेख, ३० जेठ ।
कर्णाली नदीमा पछिल्लो समय विभिन्न प्रजातिका माछा लोप हुँदै गएका छन् । करेन्ट लगाएर माछा मार्ने प्रचलन बढेसँगै कर्णालीमा माछा लोप हुने खतरा बढेको हो । कर्णाली नदीको मध्य जलाधार क्षेत्रभित्र जथाभावी करेन्ट लगाउने र विषादीको प्रयोग गरि माछा मार्ने कार्य बढ्दै गएपछि कर्णालीमा माछा पाउन छोडेको स्थानीयले बताउने गरेका छन् । माछा मारेरै गुजरा चलाउने कर्णाली किनाराका नागरिकहरूको पेसासमेत संकटमा परेको उनीहरूको गुनासो छ । अछाम र दैलेखको सीमानामा रहेको रामघाट खोलामा करेन्टले माछा मारेपछि पहिलेको भन्दा कमै मात्रामा माछा पाउने गरेको आठबीस नगरपालिका–१ का धिरेन्द्र बादीले बताए । ‘हिजोआज करेन्टका कारण जाल र झरौलामा माछा मार्न छाडी सके, युवादेखि बालबालीकासमेत करेन्टको प्रयोग गरीरहेका छन्’ उनले भने, ‘ठूला माछा मार्न लगाएको करेन्टले साना माछा मरिरहेका छन् । पहिले भन्दा अहिले माछा पाउन छोडिसक्यो ।’
समूह बनाएरै नदीमा करेन्टबाट माछा मार्ने क्रम बढेपछि जाल खेलेर जिविका चलाउनेहरूको आयस्रोत संकटमा परेको उनले बताए ।
अधिकार सम्पन्न मानिएको स्थानीय सरकारले कानुन बनाउनुपर्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा बताउँछन् ।
‘पछिल्लो समय विषादी प्रयोग, बम पट्काउने र करेन्ट ल्याउनेको संख्या अत्याधिक छ’ उनले भने, ‘जबसम्म स्थानीय तहले कानुन बनाउन सक्दैनन् तबसम्म विषादी, वम र करेन्टको प्रयोगलाई नियन्त्रण गर्न सकिदैंन ।’
प्रमुख जलधार क्षेत्रमा माछाहरू लोप हुने अवस्थामा पुगेपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । पानी परियोजना, रिर्सोसर हिमालय फाउण्डेशन र सुर्वोदय जुम्लाको आयोजनामा भएको कार्यक्रममा नेपाल कृषि अनुसन्धान केन्द्रका माछा सम्बन्धी विशेषज्ञ डा अरुणप्रसाद वैद्यले पछिल्लो समय विषादी, वम र करेण्टको अत्याधिक प्रयोगले नदीका माछा कम मात्रा पाईने गरेको बताए । नेपालमा दुई सय ३० प्रजातिका माछाहरू पाइने गरेका छन् । कर्णाली नदीमै मात्र आठ प्रजातिका माछाहरू पाइने गरेको उनले बताए । त्यही माछाहरू महाजाल र करेन्टको प्रयोगले माछाहरू लोप हुँदै गएको उनले बताए । फलामे सहर माछा सबैभन्दा बढी लोप भएको उनले बताए । यसैगरी रिसोर्सेस फाउण्डेशन टिम लिटर डा. कमल अधिकारीले स्थानीय तहले नै जलचर सम्बन्धी कानुन बनाएर कार्यान्वय गरेमा प्रभावकारी हुने बताए ।
साझा बिसौनी ।