‘काल्पनिक र केन्द्रको नक्कल’

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ जेठ ।
कर्णालीमा प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम काल्पनिक र नक्कली भएको विपक्षी दल कांग्रेसले टिप्पणी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले कर्णालीको भावनालाई प्रतिनिधित्व गर्न नसकेको कांग्रेसको दाबी छ ।


प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि शनिवार सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति संसदको विपक्षी दल कांग्रेसले असन्तुष्टी जनाएको हो । नीति तथा कार्यक्रम धैरै महŒवाकांक्षी, काल्पनिक र केन्द्र सरकारको नीति तथा कार्यक्रमबाट नक्कल गरिएको कांग्रेसको आरोप छ । आवश्यकतालाई बेवास्ता गर्दै सस्तो लोकप्रियताका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै कांग्रेसले यो अव्यवहारिक रहेको जनाएको हो ।
सरकारले प्रदेशमा सुरुङ्गमार्ग र रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने नीति ल्याएको छ । यस्तै एक सय दिने रोजगारीका कार्यक्रम सञ्चालन गरिने नीतिमा उल्लेख छ । यसलाई विपक्षी दल कांग्रेसले हावामा महल बनाए सरह भन्दै कडा टिप्पणी गरेको हो । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा पनि कांग्रेसले आशंका व्यक्त गरेको छ । ‘संघीय सरकारको नीति तथा कार्यक्रमबाट हाम्रोमा नक्कल गरिएको छ, यो केवल काल्पनिक मात्र छ’ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘प्रदेशले यसअघि पहिलो पटक ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नै भएन, फेरि अहिले निकै ठूलो सपना देखेर कार्यक्रम ल्याइएको छ । निकै महŒवाकांक्षी नीति तथा कार्यक्रम आयो, यो हाम्रो क्षमताले थेग्न सक्छ कि सक्दैन भन्ने विश्लेषण गरिएन ।’
सरकारले आफ्नो कार्यक्षेत्र र अधिकारभन्दा बाहिर गएर नीति तथा कार्यक्रम ल्याएको उनले आरोप लगाए । प्रदेश सरकारले संवैधानिक क्षेत्राधिकार नै मिचेरै नीति तथा कार्यक्रम ल्याएको आरोप लगाउँदै उनले भने, ‘सुर्खेतमा प्रदेशस्तरीय एयरपोर्ट र विभिन्न स्थानका अन्य एयरपोर्टहरूको स्तरोन्नत्ति गर्ने भनिएको छ, पर्यटकीय एयरपोर्टको रूपमा हुम्ला र रुकुममा निर्माण गर्न एक वर्षभित्र डीपीआर तयार गर्ने उल्लेख छ । एक वर्ष भित्रैमा विमानस्थल निर्माण गर्ने संवैधानिक अधिकार छ÷छैन, यसको ख्यालै नगरी नीतिमा लेखिएको छ ।’ सरकारको नीति तथा कार्यक्रमबाट उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । भौतिक पूर्वाधारको विकास विना समृद्धि सम्भव नभएको भन्दै उनले अब बजेटमा सडकलाई प्राथमिकतामा राखिनुपर्ने बताए ।
उनले भने, ‘नीति तथा कार्यक्रममा सम्भाव्यता अध्ययन गरिनेछ मात्र उल्लेख छ, त्यो बाहेक अरु कुनै शब्द समावेश गरिएको छैन ।’ ‘एक घर एक रोजगारी’ को कार्यक्रम सञ्चालन गरी वर्षमा एक सय दिनको रोजगारी दिने नीति सरकारको छ । तर यो नीति कार्यान्वयनमा सरकार असफल हुने शाहीको जिकिर छ । कर्णालीमा विकास नहुुनुको मुख्य कारण भनेको सडकको पहुँच नभएको भन्दै उनले सडकको ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने जस्ता नीति सरकारले लिनुपर्नेमा सरकार अर्गानिक प्रदेश बनाउने नीति बनाएर उल्टो गतिमा हिँडेको उनको भनाइ छ । ‘विपक्षीका सुझाव सरकारले कुनै सुनुवाइ नै गर्दैन’ उनले भने, ‘उल्टो गतिमा हिँडेको सरकारलाई सुझाव दिएर अर्थै छैन ।’ उनले सरकारको नीति तथा कार्यक्रममा परिवर्तन र आशा लाग्दो केही नदेखिएको जनाए ।
यता, सत्ता पक्षका सांसदहरूले भने सरकारको नीति तथा कार्यक्रम जनमैत्री आएको दाबी गरेका छन् । ‘कर्णालीको समृद्धि र विकासका लागि सरकारले ल्याएको नीति सकारात्मक नै छ’ सांसद करवीर शाहीले भने, ‘समृद्धिको प्रस्थान विन्दु भएकाले कार्यान्वयनका लागि विगत जस्तो आगामी दिनमा हुँदैन ।’ चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम छोटो समय भएकाले कार्यान्वयनमा चुनौती भएको भन्दै उनले समेट्न खोजिएको धेरै विषयहरू समेट्न नसके पनि प्रमुख बुँदाहरूमा समावेश भएको बताए । उनले सरकारले अबका नीति तथा बजेटमा भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७५, सोमबार १६:२१