श्रीमान्बाटै बेचिएपछि…

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ जेठ ।
सानै उमेरमा विवाह भयो । दुई वर्षका एक छोरा छन् । वर्षभरी कमाएको अन्नले महिनादिन नपुगेपछि श्रीमान्सँग भारत पसेकी थिइन् दैलेखकी लक्ष्मी (नाम परिवर्तन) । हरेक दुःख–सुखमा सँगै जीवन बिताउने सपनासहित बाल्यकालमै विवाह गरेकी उनले जीवनसाथीको विश्वासमै भारत पुगिन् ।
श्रीमान्लाई औधी माया गर्ने उनले जीवनभरका सुख मात्रै होइन् दुःख समेत आफ्नै ठानेकी थिइन् । निकै माया गर्थिन् । त्यही विश्वासले उनलाई श्रीमान्सँगै भारत पु¥यायो । तर श्रीमान्लाई आफैलाईजति माया गर्ने उनले सोचेकी पनि थिइनन्, श्रीमान्बाटै बेचिन पुगुला भनेर । घरबाट जीविकोपार्जनसहित पैसा कमाउने लक्ष्य लिएर श्रीमान्सँग भारत पुगेकी उनी श्रीमान्बाटै बेचिनुप¥यो ।
भारतको ब्याङ्गलोरस्थित एक कम्पनीमा काम गर्दै आएकी उनी बेचिएको खबर पाएपछि माइतीपक्षले जेठ ९ गते दैलेखको एक गैर–सरकारी संस्थामा निवेदन दिएका थिए । सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखमा परेको निवेदनका आधारमा उनी र उनका दुई वर्षीय छोरालाई भारतको ब्याङ्गलोरबाट उद्दार गरिएको छ । सोसेक र शक्ति समूह काठमाडौंले आफ्नै श्रीमानबाट बेचिएकी एक जना महिलासहित बच्चाको उद्दार गरेको गरिएको हो ।
श्रीमान्सँग ज्यालामजदुरी गर्न भारत गएकी दैलेखकी १८ वर्षीया महिला र दुई वर्षीय बालकलाई उद्दार गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) बाल हेल्पलाइन, महिला तथा बालबालिका केन्द्रका संयोजक रमा श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार श्रीमान्सँग गत दुई वर्षदेखि भारतमा बस्दै आएकी उनलाई दुई लाख २० हजार भारतीय रूपैयाँमा बेचिएको हो । उनलाई थप मनोविमर्श परामर्शसेवा तथा अन्य सहयोगको लागि शक्ति समूह काठमाडौंमा पठाइएको छ । बेचविखनबारे थप अनुसन्धान भइरहेको संयोजक श्रेष्ठले बताइन् ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७५, सोमबार १६:२०