मृगौला पीडितलाई पाँच लाख सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ जेठ ।
गुर्भाकोट नगरपालिका वडा नं. १३ गुमी निवासी शेरबहादुर घर्तीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । दुवै मृगौलामा समस्या भएर नियमित उपचार गरिरहेका घर्तीलाई बेलायतमा रहेका नेपालीहरूले सहयोग गरेका हुन् ।
बेलायती सेनामा कार्यरत, भुतपूर्व सेना र बेलायतमा बस्ने नेपालीहरूले आर्थिक सहयोग रकम संकलन गरी नेपाल पठाएका थिए । गुर्भाकोट नगरपालिका वडा नं. १३ घर भइ बेलायत सेनाबाट अवकास प्राप्त हाल बेलायत बस्ने निर्मलकुमार श्रीस, उनकी श्रीमती खीमा श्रीसको अगुवाइमा पाँच लाख ५५ हजार रूपैयाँ सहयोग संकलन गरिएको छ । संकलन भएको रकम शनिवार एक कार्यक्रमबीच मृगौला पीडित शेरबहादुर घर्तीको घरमै पुगी सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
सुगर र ब्लड प्रेसरका विरामी रहेका शेरबहादुरको दुई वर्षअघि दुवै मृगौलामा समस्या आएको थियो । दुवै मृगौला फेल भएपछि उनले उपचारमा २० लाख बढी खर्च गरेका थिए । मृगौला डायलोसिस गर्न एक पटकमा २५ हजारबढी रकम खर्च हुने भएकाले दिइएको सहयोग रकमबाट अङ्ग प्रत्यारोपण गर्न सहज हुने उनले बताए ।
आर्थिक अवस्था कमजोर भएर थप उपचार गर्न
नसक्ने भएपछि थप उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको बेलायत सेनाबाट अवकास प्राप्त निर्मलकुमार श्रीसले जानकारी दिए । बेलायतमा रहेको नेपाली मगर संघ र भेरी अञ्चल गाउँले समाजको पहलमा सहयोग रकम जुटेको
थियो । रकम संकलन गर्न बेलायतमै रहेका पदम थकाली र नन्दा थकालीको समेत महŒवपूर्ण भूमिका रहेको जनाइएको छ ।
सहयोग रकम हस्तान्तरणका क्रममा सहयोग गर्ने सहयोगी दाताहरूको नामावली सार्वजनिक समेत गरिएको थियो । गुर्भाकोट नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष मधु गुरुङको अध्यक्षतामा सम्पन्न भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानीय अगुवा खगेन्द्रबहादुर घर्ती, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापासहितको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २७ जेष्ठ २०७५, आईतवार १४:५६