‘कर्नाली ब्लुज’माथि विमर्श

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ जेठ ।
लेखक बुद्धिसागरको उपन्यास ‘कर्नाली ब्लुज’माथि सुर्खेतमा विमर्श गरिएको छ । वीरेन्द्रनगरमा सामुदायिक पुस्तकालय निर्माण अभियानको आयोजना तथा अमेरिकन कर्नर सुर्खेतको समन्वयमा शनिवार वीरेन्द्रनगरमा यहाँका पाठकहरूबीच पुस्तकमाथि विमर्श गरिएको हो ।
पुस्तकमाथि टिप्पणी गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक बासुदेव पाण्डेले कर्नाली ब्लुज नेपाली साहित्य क्षेत्रको कालजयी कृतिको रूपमा रहने बताए । सरल भाषाशैली, कर्णाली सेरोफेरोको आञ्चलिकता, बाल मनोविज्ञान, पश्चिमी क्षेत्रको जनजीवनको पेरिफेरिमा रहेर लेखिएको उपन्यास उत्कृष्ट रहेको उनको टिप्पणी थियो ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयकै उपप्राध्यापक रेशम विष्टले पुस्तक उत्कृष्ट भएको भन्दै यसलाई समाज शास्त्रीय तथा माक्र्सवादी दृष्टिकोणबाट पनि हेर्न र बुझ्न सकिने बताए । हरेक पाठकलाई आफ्नै कथा र आफ्नै परिवेशको कथा पढिरहेको अनुभूति गराउने कर्नाली ब्लुज नेपाली साहित्य जगतको उत्कृष्ट कृति भएको उनको टिप्पणी थियो । कार्यक्रमहरूका अन्य सहभागीहरूले पनि पुस्तकमाथि आफ्ना धारणाहरू राखेका थिए ।
वीरेन्द्रनगरमा सामुदायिक पुस्तकालय स्थापनाका लागि सुरु गरिएको अभियान अन्तर्गत पुस्तक विमर्श आयोजना गरिएको जनाइएको छ । आयोजकका अनुसार हरेक वर्षको अन्तिम शनिवार पुस्तक विमर्श लगायतका विविध गतिविधि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ । पुस्तक विमर्शको आउँदो श्रृंखलामा अमर न्यौपानेको मदन पुरस्कारप्राप्त कृति ‘सेतो धरती’माथि विमर्श हुनेछ ।