‘सपना पूरा हुने दिनको पर्खाइमा छु’
वीरेन्द्रनगर–९ सुर्खेतका कृष्ण अधिकारी अहिले कक्षा १२ मा पढ्दैछन् । जनउच्च माध्यमिक विद्यालयमा व्यवस्थापन संकायतर्फ पढ्दै गरेका उनको ईच्छा बैंकमा जागिर गर्नेछ । बुबा मुक्तिराम जैसी र आमा सुना जैसीको कोखबाट वि.सं. २०५६ मा जन्मिएका कृष्ण पढाइमा मध्यम खालका छन् । मध्यम वर्गीय कृषक परिवारमा जन्मिएका उनको पढाइ बाहेक घुम्ने रुचि छ । पढेर बैंकको म्यानेजर बन्ने सपना बोकेका कृष्णले साझा बिसौनी सहकर्मी सीता वलीसँग आफ्नो कलेज लाइफ बारे यसरी खुलेः
व्यवस्थापन पढेर जागिर खाने ईच्छा
मैले आनन्द माध्यमिक विद्यालय कृष्णगञ्जबाट वि.सं. २०७२ सालमा एसएलसी उत्तीर्ण गरेको हुँ । एसएलसी उत्तीर्ण गरिसकेपछि के पढ्ने भन्ने मैले पहिले नै सोचिसकेको थिएँ । व्यवस्थापन संकाय पढेर बैंकमा जागिर गर्ने मेरो सानैदेखिको ईच्छा थियो । त्यसैले मैले त्यही विषय पढ्ने निधो गरें । मेरो बुबा–आमाले पनि मैले रोजेको विषय पढ्ने सल्लाह दिनुभयो । प्रायः आजभोलि के विषय पढ्ने भन्ने कुरामा अभिभावकको निर्णय मान्दैनन् बालबालिकाहरूले । त्यसैले पनि अभिभावकहरूले छोराछोरीको ईच्छा विपरित दबाब दिन सक्दैनन् । त्यसैले मैले आफूुले पढ्ने विषय आफै रोजें त्यसमा मेरो बुबाआमाले सहमति दिनुभयो । अहिले म श्री जनउच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै छु ।
कलेजको पहिलो दिन
कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । म कलेज जानको लागी अघिल्लो दिनदखि नै उत्सुक थिएँ । कलेजमा कस्तो वातावरण हुन्छ होला भन्ने लागिरहेको थियो । म बिहानै उठेर कलेजको लागी तयार भएँ । साथीहरू कोही थिएनन् एक्लै कलेज गएँ । मलाई कलेजको वातावरण रमाइलो लाग्यो । कलेजबाट फर्किदा पनि मलाई उत्तीकै रमाइलो लागिरहेको थियो । तर कलेजको पहिलो दिन साथी बनाउन सकिनँ त्यसमा अलि नरमाइलो लाग्यो । कलेज र विद्यालयको पढाइ फरक नै हुन्छ । विद्यालयमा शिक्षकहरूको बढी निगरानीमा विद्यार्थी बस्नुपर्ने हुन्छ जसले गर्दा विद्यार्थी अनुशासित हुन्छन् । कलेजमा भूमिका मात्र बढी हुने तर निगरानी भने कसैको हुँदैन । स्वयम् विद्यार्थी नै अनुशासित छ भने मात्रै उसले प्रगति गर्नसक्छ ।
साथीहरूसँग मिलेर क्लास बंक
म आफै त त्यस्तो होइन तर साथीहरूसँग मिलेर भने धेरै पटक क्लास बंक गरेको छु । सजाय भने पाएको छैन । कक्षा कोठामा शिक्षकले पढाइरहेको बेलामा साथीहरू निस्कने र मलाई पनि बोलाउने गरेपछि मात्रै हो, आफै त कहिल्यै गइन । फिल्म हेर्न भने गएको छैन । प्रेम दुःख सुख साट्ने माध्यम हो तर मैले कसैलाई पनि प्रेम गरेको छैन । प्रेम गर्नलाई उमेर पनि पुगेको छैन । मन परेको मान्छे भेटेको पनि छैन ।
संघर्ष नगरी सफल भइदैन
जीवनमा संघर्ष गर्न डराउने हो भने कुनै पनि क्षेत्रमा सफल भइदैन । कलेज लाइफको संघर्षलाई त म विशेष मान्दछु । कलेज लाइफमा संघर्ष गर्न सकिएन भने भोलिको सपना फेल हुन्छ त्यसैले संघर्ष जीवनको सफलता हो । अनुशासनको पनि विद्यार्थी जीवनमा अत्यन्तै आवश्यकता पर्दछ । अनुशासित भएर शिक्षकले भनेको कुरा सुनिएन भने पनि भोलि आफ्नो कार्यक्षेत्रमा असफल भइन्छ । मैले कलेज बाहेक घरमा पाँच घण्टा जति पढ्ने गरेको छु । कलेजको सबैभन्दा राम्रो लाग्ने पक्ष भनेको साथीहरूसँग रमाइलो बढी हुन्छ । नयाँ–नयाँ साथीहरूसँग परिचय हुन्छ । नरमाइलो पक्ष त खासै छैन तर कहिले काहीं पढाइ हुँदैन त्यो बेलामा नरमाइलो लाग्छ । टाढा टाढाबाट विद्यार्थीहरू पढ्नको लागि आएका हुन्छन् तर शिक्षकको कारण वा अन्य कुनै कारण पढाइ भएन भने नरमाइलो लाग्छ ।
सपना पूरा गरेरै छाड्छु
मेरो सानैदेखिको सपना व्यवस्थापन संकाय पढेर बैंकमा जागिर खाने हो । सकेसम्म बैंकको म्यानेजर भएर बस्ने रहर छ । त्यो सपना पूरा गर्नको लागि म अहिलेदेखि नै दुःख गरिरहेको छु । म मेरो सपना जसरी भए पनि पूरा गरेरै छाड्छु । त्यो बाहेक मलाई घुम्न राम्रो लाग्छ । राजनीतिमा कहिल्यै रुची लागेन । कलेजका राजनीतिमा पनि म कहिल्यै फसिनँ । मलाई मेरो सपनाको मात्रै पिर हुन्छ । कहिले आउँला म बैंकको म्यानेजर भएर बस्ने दिन ?
साझा बिसौनी ।