सुर्खेतमा नौ सय मतदाता

बिसौनी संवाददाता
सुर्खेत, २३ चैत । 
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी वैशाख १० गते हुँदैछ । उक्त निर्वाचनका लागि सात वटा विभिन्न सङ्गठनहरू चुनावी प्रतिस्पर्धामा उत्रिदैंछन् । सुर्खेतमा ११ सदस्यीय जिल्ला कार्यसमितिका लागि हुने निर्वाचनमा नौ सय भन्दा बढी प्रतिनिधिले मतदान गर्ने छन् । 
निर्वाचन समितिमा मंगलवारसम्म नौ सय १८ जना मतदाताको नामावली दर्ता भइसकेको छ । त्यसमा केही संख्या बढ्नसक्ने जनाइएको छ । यिनै मतदाताले जिल्ला कार्यसमितिको टुङ्गो लगाउनुका साथै केन्द्रीय कार्यसमितिका लागि पनि मतदान गर्नेछन् । 
निर्वाचनमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (संघ) लगायत सात वटा छुट्टाछुट्टै ट्रेड युनियनहरूले प्रतिस्पर्धा गर्दैछन् । सङ्गठनहरूबीच हुने प्रतिस्पर्धामा जुन सङ्गठनहरूले प्राप्त मतपरिणामका आधारमा कार्यसमिति चयन गरिनेछ । बहुमत प्राप्त गर्ने सङ्गठनले नेतृत्व पाउनेछ भने अन्यले प्राप्त मतका आधारमा अन्य पद पाउनेछन् । खसेको कूल मतमध्ये ५१ प्रतिशत मत प्राप्त गर्ने सङ्गठनले जिल्ला कार्यसमितिको अध्यक्ष र कोषाध्यक्षसहित चार जना सदस्य प्राप्त गर्नेछ । ५१ प्रतिशत प्राप्त नगरी सामान्य बहुमत प्राप्त गरेमा भने अध्यक्ष, कोषाध्यक्ष र तीन जना सदस्य उक्त सङ्गठनको भागमा 
पर्नेछ । 
त्यसैगरी दोस्रो हुनेले उपाध्यक्षसहित दुई सदस्य र तेस्रो हुनेले सचिवसहित प्राप्त मतका आधारमा सदस्य पाउने र अन्यले मतपरिणामका आधारमा सदस्य पाउने छन् । थ्रेसहोल्डको व्यवस्था भएकाले २० प्रतिशत मत प्राप्त नगर्ने सङ्गठन भने बाहिरिनेछन् । सङ्गठनले प्राप्त मतका आधारमा व्यक्ति भनेपछि नै छनौट 
हुने जनाइएको छ । 
प्रकाशित मितिः   २४ चैत्र २०७२, बुधबार ०५:५२