पाँच वर्षदेखि भगवती दाम्लोमा
बिसौनी संवाददाता
जाजरकोट, २३ गते ।
कुनैबेला उनी किताबको झोला बोकेर विद्यालय जान्थिन् । दौंतरीहरूसँग खेल्दै रमाइलो पनि गर्थिन् । धेरै पढेर ठूलो मान्छे बन्ने उनको सपना पनि थियो । तर, उनको त्यो सपना अहिले तुहिएको छ । विद्यालयमा गएर सुन्दर भविष्यको खाका कोर्नुपर्ने बेलामा उनी दाम्लोमा बाँधिन पुगेकी छन् । उनलाई विगत पाँच वर्षदेखि घरमै पशुलाई जस्तै गरेर दाम्लोले बाँधेर राखिएको छ ।
कक्षा ५ मा पढ्दापढ्दै मानसिक समस्या देखिएपछि जाजरकोटकी एक किशोरीलाई विगत पाँच वर्षदेखि घरमै दाम्लोले बाँधेर राखिएको छ । जिल्लाको भेरीमालिका नगरपालिका–५ पुन्मा निवासी १४ वर्षीया किशोरी भगवती सिंहलाई परिवारले पाँच वर्षदेखि घरमै दाम्लोले बाँधेर राखेका हुन् । विद्यालयमा पढ्दै गरेकी भगवतीको समयमा नै उपचार नहुँदा मानसिक रूपमा विछिप्त बनेकी
छन् । आर्थिक अभावका कारण उपचार गर्न नसक्दा उनलाई दाम्लोले बाँधेर राखिएको परिवारले जनाएको छ । समयमा उपचार नपाउँदा उनको मानसिक सन्तुलन समेत गुमेको छिमेकीको भनाइ छ ।
स्थानीय बासिन्दाका अनुसार पाँच वर्ष पहिला भगवती गाउँमै रहेको विद्यालयमा कक्षा ५ मा पढ्थिन् । सोही क्रममा उनी एकाएक कराउने, धरधरी रुने, चिच्याउने, आफूखुशी घरबाहिर हिँड्ने र भेटिएको सबै चिज खान थालिन् । भगवतीमा मानसिक समस्या देखापरेपछि उनको परिवारले जिल्ला सदरमुकाम खलङ्गामा रहेको जिल्ला अस्पतालमा उपचार गराए । त्यतिमात्र होइन्, नेपालगन्जसम्म पनि उपचारका लागि लगियो । तर, भगवतीलाई निको भएन । सुविधायुक्त अस्पतालमा उपचारका लागि लैजान आर्थिक समस्या भएपछि भगवतीलाई घरमै दाम्लोले बाँधेर राखिएको हो । परिवारकी एक्ली छोरी भगवतीलाई उनको बुबाले
समेत दोस्रो विवाह गरेर छोडिदिए । अहिले भगवतीलाई उनकी आमा मनसरा सिंहले जेनतेन हेरचाह गर्दै आएकी छन् । ‘पढ्ने लेख्ने उमेरमा छोरीको यो हालत भयो’ मनसराले भनिन्, ‘घरमा कमाउने अरु कोही छैन, मैले काम नगरे बिहान बेलुकी छाक टार्न मुस्किल छ । म काममा निस्कँदा छोरी भाग्छे भनेर दाम्लोले बाँधेर राख्छु, अस्पताल लैजाउँ भने आफूसँग पैसा छैन ।’ मनसराका अनुसार भगवतीलाई डाक्टरहरूले काठमाडौंमा रहेको मानसिक अस्पतालमा उपचारका लागि लैजान सल्लाह दिएका थिए । तर श्रीमान्ले छोडेको र घरको आर्थिक अवस्था समेत कमजोर भएकाले आफूले चाहेर पनि छोरीको उपचार गर्न नसकेको मनसराले दुखेसो पोखिन् । छिमेकीका अनुसार भगवतीका बुबा पदम सिंह दोस्रो विहे गरेर रोजगारीका लागि विदेश गएका छन् । घरमा हेरचाह गरिदिने कोही नभएको र आफू काममा निस्कनुपर्ने बाध्यताका कारण पाँच वर्षदेखि छोरीलाई घरमै बाँधेर राखेको मनसराको भनाइ छ । उपचार नहुँदा छोरीको पढ्ने रहर समेत अधुरै रहेको उनले सुनाइन् । आफूलाई छाक टार्नै कठिन हुने गरेको भन्दै मनसराले छोरीको उपचारका लागि सहयोग गरीदिन समेत आग्रह गरिन् ।
साझा बिसौनी संवाददाता ।