मध्यपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गर्न प्रस्ताव
सुर्खेत, २४ चैत ।
राज्यको पुनर्सरचनासँगै सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ । नयाँ संविधान अनुसार मध्यपश्चिम विकास क्षेत्र दुई वटा प्रदेशमा विभाजन भएपछि अब विश्वविद्यालयको नाम पनि परिवर्तन गर्नुपर्ने प्रस्ताव गरिएको छ । यसअघि मध्यपश्चिम प्रशासनिक संरचना भएको र नयाँ संविधानले यसको स्थानमा प्रादेशिक संरचनाको परिकल्पना गरेकाले अब विश्वविद्यालयको नाम मध्यपश्चिम नभइ अरु नै राख्नुपर्ने प्रस्ताव गरिएको हो ।
नयाँ संविधान अनुसार मध्यपश्चिम विकास क्षेत्रलाई ५ र ६ नम्बर प्रदेशमा विभाजन गरिएको छ । संविधान अनुसार अब मध्यपश्चिम नाम औपचारिक रूपमा प्रयोगमा आउने छैन । यही परिवर्तित परिस्थिति अनुसार विश्वविद्यालयको नाम पनि समय सुहाउँदो राख्नुपर्ने बहसको थालनी भएको हो । विश्वविद्यालयको नाम परिवर्तन गर्ने बहस भइरहँदा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन मप विश्वविद्यालय केन्द्रीय कमिटीले विश्वविद्यालयको नाम परिवर्तन गर्नुपर्ने औपचारिक प्रस्ताव राखेको छ । सङ्गठनले विश्वविद्यालयको प्राज्ञिक परिषद्मा नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव दर्ता गराएको छ । यस विषयमा आज (बुधवार) वीरेन्द्रनगरमा बस्न लागेको परिषद्को बैठकमा छलफल हुनेछ ।
प्राज्ञिक परिषद्का सदस्य समेत रहेका प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष तेजविक्रम बस्नेतले आफूहरूले विश्व–विद्यालयको नाम परिवर्तन गर्न प्रस्ताव गरेको जानकारी दिए । देश प्रादेशिक संरचनामा गएको र मध्यपश्चिम भन्ने नाम संविधान अनुसार नरहेको भन्दै उनले अब सुहाउँदो नाम राख्नुपर्ने बताए । साथै उनले आफूहरूले सबैलाई स्वीकार्य हुनसक्ने गरी विश्वविद्यालयको नाम समेत प्रस्ताव गरेको जानकारी दिए । उनका अनुसार सङ्गठनले यो विश्वविद्यालयको नाम यस क्षेत्रको शिरमा रहेको कान्जिरवा हिमालको नामबाट नामाकरण गर्न प्रस्ताव गरेको छ । उनले भने, ‘यो हिमालको नामबाट विश्वविद्यालयको नाम राख्दा उपयुक्त हुन्छ, यही हिमालमा भेरी र कर्णाली नदीको मुहान छ । पर्यटकीय स्थल पनि भएकाले यो नाम राख्दा भोलिका दिनमा अन्य फाइदाहरू पनि हुने सम्भावना छ ।’ सानो क्षेत्र र कुनै व्यक्तिको नामबाट नामाकरण गर्दा विवाद हुने भन्दै उनले विश्वविद्यालयको नाम अब कान्जिरवा विश्वविद्यालय राख्नुपर्ने बताए । यो नाम उपयुक्त हुने र यस क्षेत्रको इतिहास समेत जोडिने उनको दाबी छ ।
नयाँ संविधान अनुसार मध्यपश्चिम भन्ने भौगोलिक संरचना नै नरहेकाले आफूहरूले विश्वविद्यालयको पनि नयाँ नाम हुनुपर्ने प्रस्ताव गरेको बस्नेतको भनाइ छ । उनका अनुसार यस विषयमा आज बस्ने प्राज्ञिक परिषद्को बैठकमा छलफल हुनेछ । विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले समेत नाम परिवर्तनको बारेमा बहस सुरु भएको बताए । राज्यको पुनर्संरचना अनुसार मध्यपश्चिम नाम औपचारिक रूपमा प्रयोग नहुने भएकाले यस विषयमा बहस सुरु भएको उनको भनाइ छ । यद्यपि विश्वविद्यालयको नाम परिवर्तन तत्काल सम्भव नभएको उनको भनाइ छ । उनले भने, ‘नाम परिवर्तन बारे छलफल चलेको छ, नाम परिवर्तन गर्नका लागि संसदले नै निर्णय गर्नुपर्छ ।’ उनका अनुसार नाम परिवर्तनका लागि विश्वविद्यालयको कार्यकारी परिषद् र सिनेटले पारित गरेर शिक्षा मन्त्रालयमा सिफारिस गर्नु पर्दछ । मन्त्रालययले संसदमा लगेको प्रस्ताव पारित भएपछि मात्र नाम परिवर्तन हुनसक्छ । मध्यपश्चिम आफैमा इतिहास भए पनि नयाँ व्यवस्था अनुसार विश्वविद्यालयको नाम परिवर्तनको बहस सुरु भएको भन्दै उनले संसदबाट पारित गराउनु पर्ने भएकाले तत्काल सम्भव नभएको बताए ।
यता विश्वविद्यालय स्थापना मूल समितिका अध्यक्ष भूषणकुमार मानन्धरले भने नाममा भन्दा पनि गुणस्तरमा जोड दिनुपर्ने बताए । उनले भने, ‘विश्वविद्यालयको नामले कुनै अर्थ राख्दैन, मुख्य विषय गुणस्तर नै हो । त्यसैले नाम फेरेर मात्र केही हुँदैन, गुणस्तरमा ध्यान दिँदा राम्रो हुन्छ ।’ जनताले राज्यसँग लडेर ल्याएको नाम भएकाले विश्वविद्यालयको नाम मध्यपश्चिम नै हुनुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ । यस्तै उनले नाम जे भए पनि गुणस्तर राम्रो भएमा विश्वविद्यालयको स्थायित्व र लोकप्रियता बढ्ने बताए ।
साझा बिसौनी संवाददाता ।