वैठकस्थलमा प्राध्यापकहरुको धर्ना (भिडियोसहित)

सुर्खेत, २४ चैत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको वैठकस्थलमा प्राध्यापकहरुले धर्ना दिएका छन् । वैठक स्थगित गर्न माग गर्दै प्राध्यापकहरुले धर्ना दिएका हुन् । वीरेन्द्रनगरस्थित होटल डि नमस्तेमा प्राज्ञिक परिषदको वैठक बस्दै छ । वैठक दिउँसो २ बजे बस्ने तय गरिएपनि प्राध्यापकहरुले अवरोध गर्न सक्ने भन्दै परिषदका सदस्यहरु ११ बजे नै वैठकस्थलमा पुगेका थिए । तर विश्वविद्यालयका पदाधिकारीसहित परिषद सदस्यहरु वैठकस्थल पुग्नुअघि नै प्राध्यापकहरु त्यहाँ पुगेर धर्ना बसिसकेका थिए । उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइराला, राजिस्ट्रार डा.महेन्द्रकुमार मल्ल लगायतका प्रतिनिधि वैठकका लागि तय गरिएको सभाहलमा प्रवेश गर्न खोज्दा प्राध्यापकहरुले अवरोध सिर्जना गरेका छन् । सोही क्रममा प्राध्यापकहरु र प्रहरीबीच वादविवाद समत हुन पुग्यो । प्राध्यापकहरुको अवरोधपछि उपकुलपतिसहित केही प्रतिनिधि होटलको अर्को कोठामा बसेका छन् भने केही प्रतिनिधि होटल प्रवेश गर्न सकेका छैनन । आन्दोलनरत प्राध्यापकहरुले नाराबाजी गर्दै वैठक स्थगित गर्न र परिषदले पास गर्न लागेको सेवा आयोग कार्यविधि परिमार्जन गर्न माग गरेका छन् । 

प्रकाशित मितिः   २४ चैत्र २०७२, बुधबार ०७:१५