कर्णाली प्रदेश संसद अवरुद्ध, आधा घण्टाका लागि वैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेश सरकार र संसदको कामकारवाहीप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संसद अवरुद्ध पारेका छन् ।

दोस्रो संसद अधिवेशनको आज बसेको नवौं वैठकमा कांग्रेस सांसदहरुले सरकार र संसदको कामकारवाहीप्रति आपत्ति जनाउँदै संसद अवरुद्ध पारेका हुन् ।

संसद वैठक सुरुभएपछि विशेष समय लिएर बोल्दै कांग्रैस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकार संसदको कडा आलोचना गरे । उनले सरकार र संसदका कतिपय गतिविधिले कर्णाली प्रदेशको बेइजत हुने काम भएको भन्दै आपत्ति जनाए ।

राष्टियस्तरको राष्ट्रपति रनिंगशील्ड प्रतियोगितामा सहभागिता जनाउने जाने कर्णालीका खेलाडीहरुलाई आवश्यक पोशाक उपलब्ध नगराउँदा राष्टिय रुपमै कर्णालीको बेइजत भएको बताए । उनले कर्णालीको प्रतिनिधित्व गरेर राष्टिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई सरकारले पोशाक नदिएर अपमान गर्नुका साथै प्रदेशको बेइजत गरेको आरोप लगाए । ‘यसरी दिनप्रति दिन हाम्रो प्रदेशको बेइजत भइरहेको छ । हामीले यसलाई कहिलेसम्म सहने ?’ शाहीले सरकारप्रति संसदमार्फत प्रश्न गरे ।

प्रदेश राजधानीको सडक लगायतका पूर्वाधार विकासमा पनि सरकार गम्भिर नभएको र वेवास्ता गरेको आरोप उनले सरकारलाई लगाए । यसको विषयमा संसदमा पटक पटक सांसदहरुले आवाज उठाउँदा पनि सुनुवाई नभएको उनको गुनासो थियो । प्रदेशको सदरमुकाम भएकाले यसको लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भिर हुन समेत शाहीले आग्रह गरे ।

त्यसैगरी चालु आर्थिक वर्षको तेस्रो चौमासिकका लागि सरकारले नीति तथा कार्यक्रमसहित बजेट ल्याएपनि त्यसको कार्यान्वयनमा सरकारबाटै भएको वेवास्ताको शाहीले कडा आलोचना गरे । सरकारले बजेट ल्याएलगत्तै रातो किताब ल्याउने भनेपछि आजसम्म नल्याइएको र केही मन्त्रीहरुले आफुखुसी आयोजना छनौट गरेर बजेट बाडेको भन्दै त्यसले संसद र सांसदहरुको अपरोध गरेको गुनासो उनले गरे । ‘रातो किताबमा नभएको योजनामा कसरी खर्च गरियो ?’ उनले प्रश्न गरे ।

शाहीले संसदको कामको आलोचना गरे । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमहरु संसदलाई जानकारी नभई सञ्चारमाध्यमबाट आफूहरुले थाहा पाएको भन्दै यसले संसदको अपमान भएको उनको जिकिर थियो । संसदले सम्पादन गर्ने कुनै पनि कामको बारे संसदलाई जानकारी गराएर मात्र बाहिर सार्वजनिक गर्नुपर्नेमा सांसदहरुले नै सञ्चारमाध्यममा समाचार पढेर थाहा पाउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको उनको टिप्पणी थियो ।

पहिलेकै नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सरकारले चासो नदिएकोले अब नयाँ नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता नभएको टिप्पणी गर्दै शाहीले पहिलेको हिसाब किताब नहुँदासम्म संसदलाई अघि बढ्न नदिने बताए । पहिलेकै नीति र बजेटको रातो बिताब नआइसकेको अवस्थामा नयाँ बनाउन नसकिने भन्दै उनले पुरानो हिसाब किताब सबै सार्वजनिक नगर्दासम्म संसद अगाडि बढ्न नदिने बताए । साथै शाहीले कर्णाली–रारा पर्यटन वर्षको शुभारम्भका क्रममा भएको खर्चको हिसाब किताब समेत सार्वजनिक नगरेकोप्रति पनि आपत्ति जनाए ।

शाहीले आफ्नो भनाइ राखिसकेपछि कांग्रेसका सांसदहरु उभिएर संसद अवरोध गरेका हुन् । सभामुख राजबहादुर शाहीले संसदमा उठेका विषयमाथि सम्बन्धितसँग छलफल गरी समाधान गरिने भन्दै बस्न आग्रह गरेपनि कांग्रेस सांसदहरु नबसेपछि उनले आधा घण्टाका लागि वैठक स्थगित गरेका छन् ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७५, बिहीबार १६:२३