बुद्धाश्रम नबनाउँदा हुन्न र ?
क्रान्ति शर्मा
सकिएको बालापन, रित्तिएको जवानी, ढल्किएको उमेर, सपनाहरू सकिएर आशाहरूले अवकाश लिएको बुढ्यौलीपन, बाँच्ने भन्दा मर्ने इच्छाले बढी पिरोलिने उमेर जो उमेर हरकोही मानिसको जीवनमा आउँछ । मानिसको अस्तित्व समाप्त हुनुअघिको एक कठोर, अप्ठ्यारो, निराशापनको अवस्था हो, वृद्धावस्था । हिजोको समाज जहाँ बालापन पनि थियो, यौवन पनि थियो, बुढ्यौलीपन पनि थियो । आजको समाजमा पनि छ र भोलि समाजमा पनि रहने नै छ । यी अवस्थाहरूदेखि न मानवपछि हट्न सक्छ न समाज नै ।
मान्छेमा बालापन सकिएर यौवन आउँछ, जसरी जन्म, मृत्यु निश्चित छन् त्यस्तै मान्छेको जीवनचक्र पनि निश्चित नै छन् । मान्छे एकै पटक बुढो पनि हुँदैन, न त युवामा रहिरहन सक्छ । यो प्रकृतिको प्रक्रिया नै त हो । मानिसहरू विभिन्न क्रियाकलापहरू जीवनको उत्तरार्धमा गर्छन नै । भविश्यमा यो गरम्ला, त्यो होला, सुख पाइएला यावत आशामा मान्छेहरू जिउँछन् ।
ग्रामीण भेगमा नितान्त कठिन अवस्थामा गुज्रिरहेका बुढा बुबा–आमा हजारौं भेटिनछन्, त्यस्तै बृद्धाश्रममा भरीभराऊ बुढ्यौलीपनका मानिस भेटिन्छन् । सहरमा भेटिन्छन्, गल्लीमा भेटिन्छन्, बाटोमा भेटिन्छन्, घर–घरमा भेटिन्छन्, घरबाहिर भेटिन्छन्, जहाँ पनि त भेटिन्छन् । हामी पनि केही समय पछि त्यस्तै अवस्थामा भेटिने नै छौं । हाम्रा हजुरबा हजुरआमा, बुबा–आमा, अंकल अन्टी, फुपु, पुसाइ, मामा–माइजु सब यही अवस्थामा गुज्रिएका थिए कति गुज्रिदैछन्, हामी बाँकी नै छौं ।
एउटा मान्छेसँग के–के आकांक्षा हुन्छन् र राम्रो जागिर, राम्रो श्रीमान्÷राम्री श्रीमती, असल छोराछोरी, सम्पन्न परिवार, सुखदायी जीवनयापन र अन्तमा सहज बुढ्यौलीपन जो आफ्ना सन्तानहरूले पु¥याइदिउन् ।
जिन्दगी चाहेजस्तो कदापी हुँदैन । चाहेजस्तो बचपन हुँदैन, चाहेजस्तो प्रेम हुँदैन, चाहेजस्तो जीवनसाथी हुँदैन, चाहेजस्तो अन्त्येष्ठी पनि हुँदैन । यी सब असन्तुष्टीका चाहाहरू हुन् । कति पूरा हुन्छन्, अति अधुरा । जे छ त्यहीमा खुशी हुन सक्यो त सुखी हुन्छ मान्छे नत्र असन्तुष्टिका लागि दौडिरहन्छ ।
नेपालीमा एउटा उखान छ ‘आमाबुबाको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुढामाथि ।’ हुन पनि हो, बुबाआमाहरू छोराछोरीका नाममा आफ्ना खुसी त्यागीदिन्छन्, पूरा जिन्दगी बिताइदिन्छन् र अन्तमा घरवार नै छाडी बुद्धाश्रम, सडक गल्लीमा बेवारिसे छोडिदिन्छन् । यहाँभन्दा ठूलो त्याग के हुन्छ ? मृत्युभन्दा ठूलो सजाय के हुन्छ ? घात भन्दा ठूलो पीडा के हुन्छ ? तै पनि बुबाआमाको मन न हो छोराछोरी जति नै सैतान भए पनि रुन छोड्दैन ।
केही समयअघि गाउँमा दुई÷चार दिन घुम्न निस्किएँ । मलाई लाग्थ्यो कि गाउँमा जता जाउँ रमाइलो हुन्छ । तर फगत मैले पीडादायी दृश्य देखें मन दुख्यो, रिस उठ्यो, यस्तो लाग्यो कि सब बेकार हो, प्रेम बेकार हो, विवाह बेकार हो, छोराछोरी जन्माउनु बेकार हो, मन हुन नै बेकार हो ।
साँझको अँध्यारोमा एउटी बुढीआमा अँध्यारै कोठामा दाउरा सराप्दै आगो फुक्दै थिइन्, रोटी पकाउँदै थिइन् । छेऊमै हरियो खुर्सानी र ठिक्कै नुन पिसेर बनाएको धुलो थियो । घरभरी सुनसान, रोगले कुप्रिएका बुढा मान्छे सानो खटियामा खोक्दै पल्टिएका थिए । टायलले छाएको, ठाउँ–ठाउँबाट पानी चुहिने घर । परिवारमा मात्र बुढाबुढी दुई जोडी त्यही पनि मृत्यु पुकारीरहेका । यो दृश्यले अंकित ग¥यो के ? त्यही बुझ्दा साह्रै पीडा लाग्यो ।
ती बुढाबबुढी पनि त कुनै बेला बच्चा थिए होला अनि युवा भए होलान्, प्रेममा परे होलान्, विवाह गरे होलान्, आफ्ना सन्तानको खुशी हेर्दै खुब नाचे होलान्, सन्तानलाई पढाइ–लेखाइ गराए होलान् अन्त्यमा के त ? चाउरी परेको शरीर, अल्झिएको श्वास, अँध्यारो जीवन…बस् । यही हो सन्तुष्टी ?
छोरा कहाँ छन् ? शहरमा धनी छन् । छोरी कहाँ छिन् ? उनी पनि शहरमा छिन् धनि परिवारमा छिन् । यहाँ भन्दा ठूलो मजाक के हुनसक्छ ? यहाँ भन्दा ठूलो सजाय के हुनसक्छ ? यो सब जीवन पार गरेर अन्त्येष्टि किन यति नमिठो भैदिन्छ ? किन छोराछोरीले बुबाआमा पाल्न सक्दैन । किन घरमा राख्न सक्दैनन् । छोराछोरी कारमा चढेर हिँड्ने भइसके अब त सबै कर्तव्य सकियो । अब हाँसीखुशी बुढेसकाल बिताएर मरम्ला भन्दै कानेखुशी गरेका बुढा बाबाआमालाई भोलिपल्टै छोराछोरीले बृद्धाश्रम पठाउछन्, घरबाट निकाल्छन्, जिन्दगीबाट निकाल्छन् ।
बुढो अवस्थामा श्रीमान् मरेकी श्रीमती वा श्रीमती मरेको श्रीमान्को पीडा कति होला ? त्यो बाटोमा भोगले बौलाउँदा कस्तो होला ? घर छाडी बृद्धाश्रममा रहँदाको पल कस्तो होला ? हाम्रो समाज यस्तो भइसक्यो कि हरेक मान्छेले आफ्नो अगाडिको स्वार्थ मात्रै दैख्छ । न पीडा देख्छ न बुबा आमा न आफ्नो अवस्था । संसारको सबैभन्दा जटिल अवस्था नै यो बुढेशकाल हो कि जस्तो भइसक्यो ।
हरेक व्यक्ति यो अवस्थामा जानु नै पर्छ । थाहा हुँदाहुँदै पनि पीडा दिनमा कोही मान्छे पछि पर्दैनन् । हिजोका छोराछोरी आजका बुढा आमाबुबा त हुन्, आजका छोराछोरी पनि पछि बुढा हुने नै त छन् ।
कहिले काहीं त यस्तो लाग्छ, कि म के गरु ? कहाँ पुगुँ ? कसरी हेरुँ ? के सधैं समाज यस्तै हुने हो त ? प्रत्येक मान्छेको जीवनशैली । अवस्थित यस्तो दोहोरिरहने हो त ? आखिर यो जिन्दगी केस्का निम्ती जे भइरहेछ त्यहीमा भागिदार हुनकै निम्ती हो त ? कि भइरहे भन्दा फरक हुन सक्दैन । यी बृद्धाश्रम बन्द हुन किन सक्दैनन् ? प्रत्येक घरका बुढाबुढीलाई आफ्नै घरमा सहजताका साथ बसाउन साच्चै सकिदैन त ? सन्तानले सकेजति माया दिन सक्ने नै नहुन त ? आमा बुबाले सन्तानलाई मरुन्जेलसम्म माया दिनसक्ने तर छोराछोरीले कमसेकम माया दिन नसके पनि पीडा त नदिउन न । खासमा यो बृद्धाश्रम बनाउनु नै गलत हो । धनि सन्तानका बुबाआमा राख्ने जेल जस्तो, अनि गरीबका बुबा आमा राख्न चाही सडक पेटी भए जस्तो ।
सम्बन्धित निकाय, प्रत्येक व्यक्ति स्वयम्ले एक पटक सोच्न जरुरी छ । हामी सबै एक न एक पटक यो बुढ्यौली अवस्था भोग्नु नै छ । यो पाप त होइन ? किन यत्ति पीडादायी हुन दिने ?
असल मान्छेले जीवनमा एक पटक जन्मिन्छ, एक पटक जिउँछ, एकपटक प्रेम गर्छ, एक पटक विवाह गर्छ, सन्तालाई माया गर्छ, एकपटक मर्छ । स्वरूप चाहे जस्तो होस्, जसरी होस् मान्छे त एक पटक नै हो संसारमा टेक्ने संसारबाट हराउने ।
यति नैराश्यता किन ?
यति खामोसी किन ?
यति आँसु किन ?
यति पश्चाताप किन ?
यति पीडा किन ?
बुढो हुनु पाप त होइन नि ? वृद्ध हुन घरपरिवारविहीन हुनु त होइन नि ? बुबा–आमा छोराछोरीलाई पढाउन स्कुल खोल्छन् तर ती छोराछोरी बुबाआमालाई घरबाट हटाउन बृद्धाश्रम खोल्छन् । यो कस्तो युग ? म खुलेर न त विरोध गर्ने सक्छु न त समर्थन गर्न नै सक्छु ।
साझा बिसौनी ।