उपचारका लागि सहयोगको याचना

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ जेठ ।
सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएका व्यक्तिको उपचारका लागि परिवारले आर्थिक सहयोगको याचना गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै दैलेखको भैरवी गाउँपालिका–५ का चन्द्रप्रसाद रिजालको उपचारका लागि परिवारले सहयोगका लागि अपिल गरेको हो ।


भारतको बडौरामा गत असोज २१ गते भएको सवारी दुर्घटनामा घाईते भई मेरुदण्ड भाँचिएका उनले हाल मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराइरहेका छन् । बडौरामा भएको उपचारमा परिवारसँग भएको रकम सकिएपछि नेपाल आएका उनले शल्यक्रिया गरी रड हालेका छन् । तर, उनको शरीरमा भएका घाउको उपचार गर्ने रकम नभएपछि उनी समस्यामा परेका हुन् । उपचार खर्च अभाव भएकाले २२ वर्षीय रिजालको उपचार हुन नसकेको उनका भिनाजु हरिप्रसाद सापकोटाले बताए ।
सापकोटाका अनुसार डाक्टरले उनको उपचार सुर्खेतमा सम्भव नभएको बताएका छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचारका लागि काठमाडौं लिन नसकिएको उनले बताए । आर्थिक अभावका कारण उनी विगत नौं महिनादेखि थलिएका उनको उपचारका लागि सहयोग गर्न आग्रह गरिएको छ । उपचारका लागि १५ लाख खर्च भइसकेको उनले बताए । ‘परिवारसँग भएको जग्गा र ऋणसापटमा उपचार गरायो तर, थप उपचारका लागि भने पैसा पुगेन’ उनले भने, ‘आफन्तले समेत वास्ता गर्न छोडेपछि उपचार गर्न मुस्किल परेको छ ।’
उपचारमा सहयोग गर्न चाहनेले भिनाजु हरिप्रसाद सापकोटाको नाममा रहेको सानिमा बैंक शाखा सुर्खेतको खाता नम्बर ०३००००००८७३० मा सहयोग रकम जम्मा गर्न सकिनेछ । यस्तै, रिजालसँग प्रत्यक्ष सम्पर्कका लागि ९८०४५३१४४९ र ९८४८२२८७६३ मा सम्पर्क गर्न सकिने बताइएको छ ।