‘२००२ को विश्वकप हेरेर ब्राजिलको फ्यान भएँ’

चन्द्रप्रकाश शाही
अध्यक्ष
सुर्खेत जिल्ला फुटबल रेफ्रि संघ

मैले हेरेको पहिलो विश्वकप
म सानैदेखि फुटबलप्रेमी थिएँ । सन् १९९८ को विवश्वकप मैले हेरेको पहिलो विश्वकप हो, त्यतिबेला म १२÷१३ वर्षको थिएँ । फुटबलको प्राविधिक पक्षहरूको बारेमा त्यति धेरै जानकारी नभए पनि फुटबल खेल भनेपछि हुरुक्कै हुन्थें ।
त्यो समयमा म अध्ययनका लागि वीरेन्द्रनगरमा कोठा भाडामा लिएर बसेको थिएँ । कोठामा टिभी थिएन । घरबेटीको टिभीमा विश्वकपका केही खेलहरू हेरेको सम्झना छ । सबै खेल हेर्न भने पाइदैंनथ्यो, घरबेटीले विश्वकप हेरिरहेको मौकामा म पनि गएर हेर्थें । ब्राजिलका रोमारियो, रोनाल्डा, बाटिस्टुटा लगायतका खेलाडीहरू चर्चामा थिए । उनीहरूको खेल देखेर म पनि प्रभावित भएको थिएँ ।
…अनि ब्राजिलको फ्यान भएँ
सन् २००२ को विश्वकप भने मैले पुरै हेर्ने मौका पाएँ । त्यतिबेला आफ्नै कोठामा टिभी आइसकेको थियो । त्यो समयमा म पनि विद्यालयस्तरमा खेलाडी भइसकेको थिएँ । विद्यालयबाट राष्ट्रियस्तरको प्रतियोगिता समेत खेलिसकेको थिएँ । त्यसैले पनि फुटबलप्रति अझ बढी आकर्षित थिएँ । र, यही विश्वकप हेरेर म ब्राजिलको फ्यान भएँ ।
उक्त विश्वकपको धेरै कुराहरू अहिले पनि सम्झनामा छन् । ब्राजिल निकै उत्कृष्ट थियो त्यतिबेला । रोनाल्डो, रोनाल्डिन्हो लगायतका विश्वचर्चित खेलाडीहरू थिए । उनीहरूकै उत्कृष्ट प्रदर्शनमा ब्राजिल विश्व बिजेता पनि बन्यो । जुन ब्राजिलले जितेको पाँचौं विश्वकप थियो । त्यसयता उसले विश्वकप जित्न सकेको छैन ।
सेमिफाइनलमा रोनाल्डिन्होले इंग्ल्याण्डविरुद्ध उत्कृष्ट फ्रि–किक गोल गर्दै टिमलाई फाइनल पु¥याएका थिए । करिब ३५ यार्ड टाढाबाट उनले प्रहार गरेको बल गोलपोष्टको सेकेण्ड बारबाट गोलमा परिणत भएको थियो । त्यो निकै उत्कृष्ट फ्रि–किक थियो । फाइनलमा रोनाल्डोको २ गोलको मद्यतमा जर्मनीलाई २–० ले पराजित गर्दै ब्राजिलले विश्वकप जितेको थियो । उक्त विश्वकपको उत्कृष्ट खेलाडी ब्राजिलकै रोनाल्डो भएका थिए ।
अहिले सबै टिम उत्कृष्ट
रुसमा हुन लागेको विश्वकप २०१८ मा प्रायः सबै टिम उत्कृष्ट छन् । केही उत्कृष्ट टिम विश्वकपमा छनौट हुनै सकेनन् । उत्कृष्ट युवा खेलाडीहरूको आगमन भएको छ । सबै टिमका आ आफ्नै विशेषता र सबल पक्षहरू छन् । त्यसमध्ये पनि ब्राजिल, जर्मनी, स्पेन र फ्रान्स विश्वकपमा प्रमुख दावेदार देश हुन् ।
ब्राजिलको टिममा अहिलेका उत्कृष्ट युवा खेलाडीहरूको बाहुल्यता छ । जसले गर्दा विश्वकपमा उसको प्रदर्शन उत्कृष्ट हुने अपेक्षा गर्न सकिन्छ । अर्जेन्टिना पनि राम्रो टोली हो । मेस्सी विश्वका अहिलेका उत्कृष्टमध्येका एक खेलाडी हुन् । तर टिमका अन्य सदस्यहरूबाट उनले अपेक्षाकृत साथ पाइरहेका छैनन् । टिमका अन्य खेलाडीहरूले पनि राम्रो साथ दिएभने मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताउन सक्छन् ।
हेर्न लायक खेलाडी
अहिलेको विश्वकपमा उत्कृष्ट खेलाडीहरूको बाहुल्यता छ । पहिलेदेखि खेलिरहेका र अहिलेका नयाँ खेलाडीहरूको मिश्रणले दर्शकहरूका लागि पनि यसपटकको विश्वकप हेर्नलायक हुनेछ । मेस्सी, रोनाल्डो, नेयमारका साथै अहिले ब्राजिलमा कौटिन्हो पनि आएका छन् । उनको प्रदर्शन पनि उत्कृष्ट छ ।
विगतमा खेलाडीहरू आफ्नो खेलकौशलका आधारमा प्रदर्शन गर्दथे भने अहिले फुटबल निकै टेक्निकल भइसकेको छ । विपक्षी टिमलाई हेरेर खेल रणनीति बनाउने गरिन्छ । खेलाडीको प्रदर्शनमा मात्र नभएर कोचको रणनीतिका आधारमा खेलाडीहरूलाई मैदानमा उतारिन्छ ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७५, बिहीबार १४:२६