आफ्नै सीपले फर्कायो लुटिएको खुशी

वीरेन्द्रनगर–१ का किसन बयलकोटी वि.सं. २०४१ साल मंसिर २५ गते दैलेखको विकट गाउँमा जन्मिएका हुन् । बुबा बलबहादुर बयलकोटी र आमा सुभकला बयलकोटिका कान्छा छोरा किसनको सानैदेखि शिक्षक बन्ने रहर थियो । आठ भाइबहिनीमा सबैभन्दा कान्छा छोराको मात्रै भए पनि सपना पूरा गर्ने परिवारको पनि चाहना थियो । गरीब परिवारमा जन्मिएका किसनको सपना कक्षा ७ मा पढ्दापढ्दै लुटियो । भैरवी गाउँपालिका–७ दैलेखमा रहँदा वि.स. २०५३ सालमा मातृशोकमा परेका किसनको पढ्ने सपना अधुरो रह्यो । शिक्षा ग्रहण गर्न नसकेपनी सीप सीकेर रोजगारी सिर्जना गर्न सकिँदो रहेछ भन्ने गतिलो उदाहरण बनेका किसनले अहिले वीरेन्द्रनगर–६ मा करनराज छाला जुत्ता पसल सञ्चालन गरेका छन् । विगत ६ वर्षयता जुत्ता बनाउँदै आएका किसनले आºनो पेशाका बारे साझा बिसौनी सहकर्मी सीता वलीसँग गरेको कुराकानीः

मेरो जन्म किसान परिवारमा भयो । बुबाआम खेती किसानी गर्नुहुन्थ्यो । दैलेख जस्तो विकट गाउँमा जन्मिएको मेरो सबै सपना पूरा हुने सम्भावना पनि थिएन । तर शिक्षकसम्म बन्ने सपना मैले देखेको थिएँ । प्रायः ग्रामीण क्षेत्रमा शिक्षण पेसालाई एकदमै मर्यादित पेसाको रूपमा हेरिने भएकोले मैले पनि सानैदेखि शिक्षक पेसा अपनाउने सपना बुनेको हुँ । शिक्षक बनेर ग्रामीण क्षेत्रमा सेवा गर्ने मेरो रहर थियो । तर २०५३ सालमा जतिबेला म कक्षा ७ मा पढ्दै थिएँ मेरो आमाको मृत्यु भयो ।
आमाको मृत्युपश्चात् पढेर समाजले मान्दै आएको मर्यादित पेसा शिक्षक बन्ने सपना अधुरो रह्यो । हाम्रो घरको गरिबी त पहिलेदेखि नै थियो झन् आमाको मृत्युपछि त्यो गरिबी बढ्यो र मेरो सपना पननि टुट्यो । म पढ्न छोडेर भारत पसें । भारतमा पनि भारी बोक्ने, सडकमा लेबर काम कती गरियो कति । त्यो बाट न त आर्थिक लाभ भयो न त शरीरलाई आनन्द भयो । त्यसपछि म घर फर्किएँ । मैले २०५८ सालमा बिहे गरें ।
म दैलेखबाट कामको शिलशिलामा २०६१ सालमा वीरेन्द्रनगर आएँ परिवारसहित । केही वर्ष वीरेन्द्रनगर र भारत गर्दै परिवारको भोको पेट मात्रै भर्न सफल भएँ । त्यतिले पनि केही सीप नलागेपछि मैले भारतमा बस्दै गर्दा जुत्ता बनाउने सीप सीकेर नेपाल पर्किएँ । मेरो परिवारको सल्लाहले २०६८ सालदेखि मैले जुत्ता पसल गर्दै आएको छु ।
अहिले मेरो दुईवटा छोरा छोरी छन् । महिनाको बीस हजार रूपैयाँ कमाउने गरेको छु । सुरुमा मैले पसलमा एक लाख पचास हजार रूपैयाँ लगानी गरेर सुरु गरेको थिएँ । अहिले पसलबाट राम्रो आम्दानी गरेको छु । सबैभन्दा ठूलो कुरा त सीप नै रहेछ । मैल पहिले नै सीप सिकेको भए कहिले भारत र कहिले नेपालमा भौंतारिंदै भारी बोक्नुपर्ने थिएन । सीप सीकेपछि मेरो परिवारको समृद्धि भएको छ । श्रम गर्दा इज्जत जाँदैन । पेशा कुनै पनि सानो र ठूलो भन्ने हुँदैन । सीप सिकेर कुनै खेर जाँदैन । मलाई मेरो पेसाप्रति गर्व छ किनकी मेरो यही पेसाका कारण आज मेरो परिवारको खुशी बढेको छ । यही पेसाका कारण मैले आरामले महिनाको बीस हजार रूपैयाँ कमाउन सफल भएको छु ।
जीवनमा सबै सपना पूरा हुँदैनन् तर जुन आफैले संघर्ष गरेर गर्न सकिन्छ त्यो पेसालाई आफैले पनि सम्मान गर्न सिक्नुपर्दछ । हाम्रो समाजमा पेसागत रूपमा व्यवहार गर्ने चलन छ त्यो मलाई कत्ति पनि मन पर्दैन । पेसा जुनसुकै भए पनि व्ययवहार भने सकारात्मक हुनु जरुरी छ । मलाई समाज सेवामा अत्याधिक रुचि छ ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७५, बुधबार १४:१५