अन्तर्राष्ट्रिय एयरपोर्टका लागि अध्ययन

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ जेठ ।
सुर्खेतमा अन्तर्राष्ट्रि«य मापदण्डको विमानस्थल निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन थालिएको छ । संघीय राजधानी र छिमेकी देशसँग पनि सम्बन्ध कायम गर्न कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । विमानस्थलका लागि सुर्खेतको भेरीगंगास्थित रामघाट र छिन्चुको बीचमा रहेको मदानेचौरमा अध्ययन सुरु गरिएको छ ।


संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्राविधिक टोलीसहित अन्तर्राष्ट्रि«य विमानस्थलको सम्भाव्यता अध्ययन गर्न सुर्खेत आइपुगेका छन् । मन्त्री अधिकारीसहितको प्राविधिक टोलीले मंगलवार सम्भावित क्षेत्रमा स्थलगत र हेलिकोप्टरबाट अध्ययन गरेको हो । भौगोलिक अवस्था र बस्तीका कारण वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलमा ठूला जहाज अवतरण सम्भव नभएपछि विमानस्थलको विकल्प खोजी भएको हो । यसका लागि सरकारले सुर्खेतमै अन्तर्राष्ट्रि«य विमानस्थल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
सम्भावित क्षेत्रको स्थलगत अध्ययनपछि पर्यटन मन्त्री अधिकारीले भने, ‘प्राविधिकसहित हामीले अध्ययन गरेका छौं, तीन दिनभित्रमा विमानस्थल निर्माणको टुङ्गो लगाउने छौं । सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ, मन्त्रालयले यसलाई पहिलो प्राथमिकता दिएको छ ।’ मदानेचौरमा यसअघि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । तर सरकार परिवर्तनसँगै सेलाएको विमानस्थल निर्माणको विषय पुनः ब्यूँतिएको हो । ‘सुर्खेतलाई हामी हवाई हव बनाउने तयारीमा छौं, सुर्खेतमा कुनै पनि हालतमा ठूला जहाज अवतरण गराउन सरकार प्रतिबद्ध छ’ मन्त्री अधिकारीले भने, ‘कर्णालीको मूख्य सम्भावना पर्यटन हो, पर्यटनका लागि हवाई पहुँच आवश्यक छ । सुर्खेतमा तत्काल आधुनिक सुविधा र रात्रीकालीन उडान हुनसक्ने अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो प्राथमिकता हो, यसका लागि सरकारले आगामी आर्थिक वर्षभित्रै डीपीआर पनि तयार पार्नेछ ।’ देशभर विमानस्थल निर्माणका लागि सरकारले पुनः गुरुयोजना निर्माण गर्न लागेको मन्त्री अधिकारीले जानकारी दिए । उनले अब सुर्खेतमा अन्तर्राष्ट्रि«य विमानस्थल र कर्णालीका हिमाली जिल्लामा नियमित हवाई उडानका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताए । कर्णालीका मुख्य पर्यटकीय क्षेत्र मानसरोवर र रारा पुग्ने पर्यटकका लागि पनि सुर्खेतमा तत्काल ठूला जहाज अवतरण गराउनुपर्ने उनको भनाइ छ । हालको सुर्खेत विमानस्थललाई विस्तार गर्न र उपत्यकाभित्रै नयाँ विमानस्थल बनाउन प्राविधिक रूपमा सम्भव नभएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक संजीव गौतमले भने, ‘वीरेन्द्रनगरमा पनि अध्ययन भएको हो, तर नजिकै डाँडा रहेको र बाक्लो बस्तीका कारण यहाँ नयाँ विमानस्थल बनाउन प्राविधिक रूपमा सम्भव नै छैन ।’ उनले अब मदानेचौरमा नै उपयुक्त हुने बताए ।
मदानेचौरमा १० अर्ब खर्च लाग्ने
छिन्चुस्थित मदानेचौरमा नै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने सम्भावना बलियो बन्दै गएको छ । यसअघि सम्पन्न अध्ययन अनुसार मदानेचौरमा ठूला जहाज अवतरण गराउन सम्भव छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि २२ सय मिटरको धावनमार्ग अनिवार्य हुन्छ । तर मदानेचौरमा धावनमार्गको लम्बाई २६ सय मिटरसम्म हुने अध्ययनले देखाएको छ ।
यद्यपि डाँडालाई काट्नुपर्ने भएकाले लागत भने महँगो पर्ने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । महानिर्देशक गौतमले भने, ‘मदानेचौर नै उपयुक्त छ, अन्तर्राष्ट्रि«य मापदण्ड अनुसार बनाउन सकिन्छ । तर लागत बढी पर्ने भयो ।’ उनका अनुसार मदानेचौरमा विमानस्थल बनाउँदा १० अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । यो विमानस्थलको चौडाइ ३० मिटर हुनेछ । यस्तै यसको निर्माण कार्य सम्पन्न गर्न ६ देखि ८ वर्षसम्म लाग्ने अनुमान प्राविधिक टोलीले गरेको छ ।
सुर्खेतमा अन्तर्राष्ट्रि«य विमानस्थल निर्माण र कर्णालीका विमानस्थल विस्तारको सम्भावनाबारे पनि मंगलवार वीरेन्द्रनगरमा बहस भएको छ । सो अवसरमा कर्णाली प्रदेशका मन्त्री र सासदहरूले कुनै पनि हालतमा सुर्खेतमा अन्तर्राष्ट्रि«य विमानस्थल निर्माण गर्न माग गरे । खर्च महँगो र जंगल फडानी गर्नुपर्ने अवस्था भए पनि विमानस्थल बनाउनुपर्ने उनीहरूको सुझाव छ । सहभागीहरूले मदानेचौरमा नै तत्काल विमानस्थल बनाउनुपर्ने बताए । साथै सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा नियमित हवाई उडानका लागि पनि केन्द्र सरकारसँग माग गरे ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७५, बुधबार १४:२०