प्रधानमन्त्रीलाई चिठ्ठी

Bhim_Bhandari_Kharo
भीम भण्डारी ‘खरो’

सम्माननीय प्रधानमन्त्री ज्यू
हाल सदरमुकाम, सुर्खेत
अर्ध आराम रही पूर्ण आरामताको कामना गर्दछु । तपाईंको सुर्खेत भ्रमण पूर्णसफलताको कामना गर्दै सुर्खेती नागरिक समेतको उत्तरोत्तर प्रगतिको लागि फलदायी बन्न सफल रहोस् भन्ने कामना गर्दछु ।
प्रधानमन्त्रीज्यू, राजधानीबाट टाढा रहेका हामी मध्यपश्चिमवासीहरू अझैं पनि रोग, भोक र शोकभन्दा माथि उठ्न सकिरहेका छैनौं । यसको मूलकारण यो समयमा यस क्षेत्रमा बजेट अभाव नरहेता पनि चुरोकुरो बजेट सदुपयोग नगरी दुरूपयोग हुनु र समयमा नै भौतिक निर्माण सुधारका कामकाजहरू सञ्चालन नगरी असार मसान्त अर्थात् वर्षात्को समयमा झारा टार्ने गरी जनताका आँखामा बादल पार्ने पुरानै परम्परावादी चलनको प्रचलन रहेकाले लक्षित वर्गसम्म सरकारी नीति तथा कार्यक्रम र बजेट पुग्न सकेको अवस्था छैन । गरिबी रातमा चौबल बढेको छ भने गरिबी निवारण कोष समेत दुरूपयोग गरिन्छ ।
बजेट सदुपयोग भन्दा दुरूपयोगको प्रतिशत बढी छ । जनताका भौतिक निर्माण सुधारका क्रियाकलापहरू सधैंभरी दुरूपयोग गर्दै जाने नै हो भने जनताका लागि भनेर बजेट पठाउनुभन्दा नपठाउनु नै राम्रो हुन्छ । यस्तो खरोविचार राख्दा भ्रष्टाचारी समेतका बिचौलिया तह र तप्कालाई पर्नु पिर पर्न सक्छ ।
प्रधानमन्त्रीज्यू, सर्वसाधारण नागरिकलाई परेको वास्तविक पिरमर्काका विषयवस्तु २१ औं शताब्दीमा पनि यदि सुनुवाइ नहुने नै हो भने अर्थात् जसले बजेट रूपी चारो छर्छ र उसैले नै टपटप टिपेर लैजान्छ भने सर्वसाधारण आम नागरिकले अनन्तकालसम्म कति टुलुटुलु हेरी बस्ने कसरी ?
मध्यपश्चिम क्षेत्रमा भौतिक निर्माण सुधारको अवस्था फिटिक्कै सन्तोषजनक छैन । विकासी कार्यालय–कार्यालय बीचमा गुणस्तरहीन कामकाज गर्न प्रतिस्पर्धा हुन्छ । कम प्राविधिकले कति बढी अवैध रकम असुल्न सक्छ ? भन्ने मानौं प्रतियोगिता नै हुन्छ विकासी कार्यालयहरू केहीमा । यस्तो अवस्थामा हजुरको सुर्खेत भ्रमणले मध्यपश्चिम निवासी महानुभावलाई काइदासँग फाइदा दिन पूर्ण सफल रहोस् भन्ने शुभकामना पनि हो । यस युगमा नै हामी नेपालीले माटो र हावापानी सुहाउँदो प्रगतिशील विचारधारा भएको नेपाल सरकारको कार्यकारी प्रमुख पाएको यस अवस्थामा जनता सधैं भोको जुकाको मुखजस्तो विकासी मुख ताकेर अनन्तकालसम्ममा कति विकासको प्रतिक्षामा आशावादी भइ बस्ने हो ? प्रधानमन्त्रीज्यू, यस क्षेत्रको विकासका पूर्वाधारहरूको विकास गर्न पुग्ने गरी बजेट पठाइ त्यो बजेट हिनामिना गर्ने झिनामिनादेखि ठूलावडा समेतलाई कानुनी दायरामा ल्याउन पहलकदमी चाली पाउन पनि यसै चिठ्ठीमार्फत् हार्दिक आग्रह एवम् अनुरोध गरिन्छ । माथि पेट बोलीमा उल्लेख गरिएको विषयवस्तुको उदाहरण स्वरूप एउटा यसै भूमिको सडक योजनालाई उल्लेख गर्न चाहन्छु ।
पुरानो नाम भूरीगाउँ, तेलपानी र सुर्खेत थियो भने नयाँ गाउँ आम्वास, दानुवाताल, तेलपानी र सुर्खेत सडक आयोजनाको निर्माण कार्य सञ्चालन भएको आज १५ वर्ष भयो । भेरी नदीको रानीघाटमा पुल निर्माण गर्न लागेको करिब एक दशक भयो । दुवै योजनाहरू माटोमुनी नै
छन् । १५ वर्ष पहिलेदेखि यी योजनाबाट निर्माण व्यवसायी कम्पनीहरू र सम्बन्धित प्राविधिक कर्मचारीलाई चारोखान फाइदै फाइदा भयो भने जनतालाई सास्ती नै सास्ती भइरहेको छ । हरिहरपुर र तरंगा गाविसका जनता अब वर्षातको भेरी भेलका कारण जिल्ला सदरमुकाम आउन–जान वञ्चित हुँदैछन् । यी दुई योजना कसका लागि निर्माण गरिएको हो ? जनताका लागि कि कर्मचारीहरू र निर्माण व्यवसायीहरूका लागि प्रभु ! यो त एउटा प्रतिनिधि योजना मात्रको उदाहरण हो भने मध्यपश्चिम क्षेत्रको दुर्गम स्थानको योजनाहरूको कन्तविजोगका कथा र व्यथा अनेक रूप र रंग एवम् दङ्ग पर्ने अवस्थाका भएकाले सुर्खेती यो भूमिबाट चिठ्ठीमार्फत् कोसेली अहिलेलाई यत्तिकैमा थाती राख्ने अनुमति एवम् सहमति माग गर्दछु कि सम्माननीय प्रधानमन्त्रीज्यू !
उही खरो भीम भण्डारी, सुर्खेत

प्रकाशित मितिः   २५ जेष्ठ २०७३, मंगलवार ०४:४९