फोरलेन सडक निर्माणमा गतिरोध
साझा बिसौनी संवाददाता
सुर्खेत, २१ जेठ ।
वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकको काममा गतिरोध उत्पन्न भएको छ । निकै मेहेनत र प्रतिक्षापछि वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्मको सडकलाई फोरलेन बनाउने काम थालिएको थियो । तर सडक निर्माणमा देखिएका अवरोधका चाङले तोकिएको मितिमा यो सडक हस्तान्तरण हुने सम्भावना टर्दै गएको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको समृद्धिको मुख्य आधार मानिएको र धेरै चासोका साथ हेरिएको यो सडक विभिन्न अवरोधका कारण समयमै निर्माण हुने देखिदंैन । रत्नराजमार्ग अन्तर्गत धुलियाविटदेखि बाङ्गेसिमलसम्म जोड्ने ६ दशमलव २५ किलोमिटर सडकलाई फोरलेनको बनाउन थालिएको छ । जसअन्तर्गत सडकको पहिलो खण्डको काम सम्पन्न भइसकेको छ । पहिलो चरणमा धुलियाविटदेखि कर्मचारी सञ्चयकोषसम्मको सडक निर्माणको जिम्मेवारी आशिष निर्माण कम्पनीले लिएको थियो । तर यही सडकको दोस्रो खण्डको काममा गतिरोध उत्पन्न भएको छ भने अन्तिम खण्डको काम पनि बजेट अभावले अलपत्र परेको छ ।
फोरलेन सडकको दोस्रो खण्ड अन्तर्गतको कर्मचारी सञ्चयकोषदेखि मूलपानी चोकसम्मको तीन किलोमिटर चार सय मिटर सडक निर्माणको जिम्मा स्वच्छन्द÷श्याम एण्ड शंखर जेभीले लिएको छ । सडक डिभिजन कार्यालय सुर्खेतसँग दुई वर्षअघि भएको सम्झौता अनुसार यो खण्डको निर्माण कार्य यही आर्थिक वर्षको असार २८ गते सक्नुपर्नेछ । तर हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मिति असार २८ गतेसम्म निर्माणको काम सम्पन्न हुने छाँट देखिदैन । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले समेत सम्झौता अनुसार सडक हस्तान्तरण गर्न नसक्ने जनाएको छ । निर्माण कम्पनीले सडकमा नाला निर्माण र ढल निकासमा स्थानीयले अवरोध गरेको र सडकमा रहेका बिजुलीका पोल र खानेपानीका पाइप नहटाइँदा सडक निर्माणमा नै अवरोध भएको बताएको हो ।
दोस्रो खण्डको काममा अवरोध भइरहँदा अन्तिम खण्ड अन्तर्गतको मूलपानी चौकदेखि बाङ्गेसिमलसम्म एक हजार आठ सय मिटर सडकमा माटो हाल्ने काम गरिएको छ । अन्तिम खण्डको काम पनि आगामी वर्षको असार मसान्तमा सक्नुपर्ने हुन्छ । तर अपेक्षा अनुसार काम नहुँदा उक्त खण्डको काम पनि समयमै सम्पन्न हुन नसक्ने आशंका बढदै गएको हो । वीरेन्द्रनगरको प्रतिष्ठाको रूपमा हेरिएको यो सडकको कामले गति नलिँदा स्थानीय निराश बनेका छन् । अर्कोतर्फ समयमै काम सम्पन्न नहुँदा सडक हिलाम्य हुने समस्याले सर्वसाधारण हैरान बनेका छन् । विभिन्न अवरोध र बहानामा सडकको कामले गति नलिँदा वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको मंगलगढी चोक क्षेत्र कुरूप देखिएको छ ।
ढल निकास नहुँदा काम रोकियो
यो सडक खण्ड अन्तर्गत मंगलगढी चोकदेखि सात सय मिटर पश्चिमसम्मको भागमा अहिले काम रोकिएको छ । यो खण्डमा ढल निकास हुने स्थान नभएका कारण स्थानीयले नाला बनाउन दिएका छैनन् । स्थानीयको यही अवरोध देखाउँदै ठेकेदार कम्पनीले अहिले काम रोकेको छ ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रबाट बग्ने पानीलाई बगाउने निकास नहुँदा नाला निर्माण गर्न नसकिएको निर्माण कम्पनी स्वच्छन्द÷श्याम एण्ड शंखर जेभीले जनाएको छ । ‘बसपार्कदेखि यरीचौकसम्मको सात सय मिटरमा पानी निकास गर्ने ठाउँ छैन’ निर्माण कम्पनीका पदमबहादुर खड्काले भने, ‘निकास नहुँदा नाला बनाउन सकिएन, सडक डिभिजन र नगरपालिकालाई निकासको बाटो खुलाउन अनुरोध गरेको धेरै भइसक्यो । अब निकास नभएसम्म बाँकी काम अगाडि बढाउन सक्दैनौं, अब तोकिएको मितिमा सडक हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।’
दोस्रो खण्डमा ९० प्रतिशत माटो फिलिङ्ग गरिएको र ८० प्रतिशत संरचना निर्माण गरिएको खड्काको दाबी छ । उनले सबै काम तीव्र रूपमा भइरहेका बेला मुख्य खण्डमा पानीको निकास नहुँदा काम अगाडि बढाउन नसकिएको बताए । निकास नहुँदा हाल थोरै पानी परेमा उक्त क्षेत्र जलमग्न हुने गरेको छ । दोस्रो खण्डको निर्माणका लागि १४ करोड ४० लाख ४१ हजारमा
सम्झौता भएको थियो । जसमा हालसम्म कम्पनीले सात करोड ६७ लाख ६० हजार रूपैयाँ भुक्तानी लिइसकेको छ ।
बजेट अभावले अलपत्र
यस्तै फोरलेन निर्माणको अन्तिम खण्डमा पनि निर्माण गर्ने जिम्मा स्वच्छन्द÷श्याम एण्ड शंखर जेभीले नै लिएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार अन्तिम खण्डको सडक पनि २०७६ असार २८ मा हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता छ । एक वर्षको अवधिमा एक हजार आठ सय मिटर सडक निर्माणका लागि कम्पनीले गत फागुन सम्ममा चार करोड
आठ लाख ५० हजार भुक्तानी लिइसकेको छ ।
तर अहिले रकम अभावका कारण यो खण्डमा पनि काम सुस्ताएको छ । निर्माण कम्पनीले रकमका लागि निरन्तर माग गरे पनि कार्यालयमा रकम नआएकाले काम नै सुस्ताएको सडक डिभिजन कार्यालयका प्रमुख वेलबहादुर भुजेलले जानकारी दिए । ‘काम गरेको बिल ल्याएर दैनिक कार्यालयमा ठेकदारहरू आउँछन्, विभागबाट रकम नै पठाइएको
छैन । हामीले निरन्तर माग गरिरहेका छौं’ उनले भने, ‘आवश्यक रकम दिन नसक्दा पनि सडक निर्माणमा गतिरोध देखिएको हो, समयमै सम्पन्न
नहुनु रकमको अभाव पनि एउटा कारण हो ।’
स्थानीयहरू सडकको माथिल्लो भागबाट बग्ने पानी सडक भन्दा तल आउन नदिने पक्षमा हुँदा हालसम्म निकासको टुङ्गो लाग्न नसकेको प्रमुख भुजेलको भनाइ छ । उनले नगरपालिकासँग छलफल भइरहेकाले केही समयमा निश्कर्ष निस्कने जानकारी दिए । वीरेन्द्रनगरको सहरीकरण अवधारणा अनुसार २०७२ जेठमा फोरलेन सडक निर्माणका लागि विस्तृत सर्वे गरिएको थियो । एकै पटकमा चार वटा ठूला सवारी साधनहरू आवतजावत गर्न सकिने सुविधा सम्पन्न यो सडकको चौडाइ १५ मिटर हुनेछ । सडक निर्माणका लागि २०७३ असारमा ठेक्का सम्झौता भएको थियो ।
तर अपेक्षा अनुसार काम हुन सकेको छैन ।
साझा बिसौनी ।