समृद्धिको आधारः उद्यमशीलता
कविराज खत्री
विषय प्रवेश
यतिखेर ‘समृद्धि’ शब्दले निकै चर्चा पाएको छ । कुनै दिन ‘श्री ३’ भन्ने शब्दले चर्चा पाएको थियो । त्यसपछि ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भन्ने शब्दले चर्चा पाएको थियो । शब्दहरूले चर्चा पाउँदै जाँदा बहुदलीय व्यवस्था आयो । त्यसबखत खासै कुनै शब्दले चर्चा पाउन सकेन भने बहुदलको न्वारन भइसकेपछि ‘जनयुद्ध’ शब्दले चर्चा पायो । जब मुलुकमा पूँजीवादी गणतन्त्र स्थापना भयो, त्यसपछि समृद्धि शब्दले निकै चर्चा पाएको छ । नेपालको राजनीति शब्दभण्डारको खेल हो । किनभने यी र यस्तै शब्दहरूको इतिहास हेर्दा त्यस्तै अनुभूति हुने गर्दछ ।
तथापि हामीहरूले द्वन्द्ववादी तरिकाले हेर्दा विश्वास र शंका दुवै गर्नु पर्दछ । प्रगति हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्नुपर्दछ । वास्तवमा हामी जनताले सोचे अनुसारको प्रगति किन हुन सकेन ? यसका केही ठोस कारणहरू रहेका छन् । त्यसमध्येको पहिलो कारण हो हामी जनता भनिने जात नै परम्परावादी सोचबाट अघि बढेका र अरुलाई ठूलो देख्ने र आफूलाई सानो देख्ने प्रवृत्ति भएका, आचरणमा भ्रष्टीकरण भएका, अज्ञानताको सिकार भई ज्यूँदै मरेको लास भएका, परनिर्भरता र दमन, अन्याय, अत्याचार जति पनि सहन सक्ने तर न्यायका लागि दूरदृष्टिका आधारमा संगठित हुन नसक्ने आदि इत्यादि परिभाषा हाम्रो पहिचान बनेको छ । दोस्रो कारण नेपालका सत्ताधारी, विपक्षी अर्थात् राजनीतिक नेताहरूसित सामाजिक उत्तरदायित्वको भावना नहुनु । अर्थात् व्यक्तिगत स्वार्थ प्रदान पक्ष र सामाजिक स्वार्थ गौण पक्ष बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि राजनीतिक दलमा आवद्ध भएको पाइन्छ । जसका कारण देशमा चाहेजस्तो शासन आउन सकेको छैन । तेस्रो कारण अधिकांश कर्मचारीतन्त्र भ्रष्ट र कमाउवादमा लतपतिनु । यस विषयमा यति नै चर्चा गर्दा उपयुक्त होला ।
विषयको केन्द्रीकरण
समृद्धि भनेको के हो ? यस विषयमा थोरै चर्चा गरौं । समृद्धि भनेको संक्षेपमा अरु केही होइन हाम्रो श्रमलाई प्रकृतिमा मिसाउनु हो । अर्थात् श्रमलाई भूमिमा मिसाएर परिणाममुखी कर्म गर्नु नै समृद्धि हो । हरेक मानिसले श्रम गर्नु नै समृद्धि हो । तर नेपालमा सय जनामा दस जनाले श्रम गर्ने र बाँकी नब्बे जना गफ गरेर खाने प्रचलन छ । यसको अन्त्य भयो भने नेपाल समृद्ध हुन्छ । समृद्ध नेपाल बनाउनका लागि कानुन, नीति, ऐन, नियम सरल, मजदुर पक्षीय हुनु पर्दछ । यो पहिलो शर्त हो । यसको अलवा समृद्ध नेपाल बनाउका लागि केही आवश्यक शर्तहरू पूरा हुनु पर्दछ । ती आधारभूत शर्तहरूको बारेमा थोरै चर्चा गर्दा राम्रै होला ।
(क) उर्जा ः समृद्धिका लागि पहिलो शर्त उर्जा हो । उर्जाविना समृद्धिको कुनै कल्पना समेत गर्न सकिन्न । अहिलेको आधुनिक र प्रविधियुक्त युगमा पनि देशका जनता अन्धकारमुनी बस्न बाध्य छन् । देशका नदीनालाहरू विद्युत उत्पादनका लागि भन्दै विदेशीलाई विशेष गरेर भारतलाई बेच्ने काम भएको छ । तर यति सानो नेपाल सम्भावना हँुदाहँुदै पनि अध्याँरोमा बस्न बाध्य पारिएको छ । कुरा समृद्ध नेपालका गर्ने तर जनतालाई अहिले पनि अँध्यारोमा बाँच्न विवश बनाउने । उर्जा नभए कसरी प्रविधि सञ्चालन गर्ने, कसरी उद्योग स्थापना गर्ने, कसरी गुणस्तरीय वस्तुहरू प्रशोधन गरेर बजारीकरण गर्ने ? त्यसकारण समृद्धिको पहिलो आधारभूत आवश्यकता उर्जा हो । उर्जा विना समृद्धिको कुरा मिथ्या हो । यसतर्फ राज्यको अहिले पनि ध्यान जान सकेको छैन ।
(ख) उद्यमशीलता ः दोस्रो समृद्धिको शर्त उद्यमशीलताको विकास हो । मुलुक कुन तहमा छ भनेर हेर्ने हो भने हाम्रो मुलुक कहाँ र कुन तहमा छ ? कसैलाई थाहा छैन । मानिस बेरोजगार भयौं भनेर सडकमा कराउने गर्दछन् । दिनभर भट्टी पसलमा मदिरा पिउने गर्दछन् । प्रायः जुवाको खालमा भेटिन्छन् । कृषकहरू चार बियाँ बीउ रोपेर कृषिबाट आम्दानी छैन भन्ने गर्दछन् । युवाहरू धर्तीलाई धिक्कार्दै पासपोर्ट बनाएर खाडी मुलुकमा भौतारिन आतुर देखिन्छन् । पढेका शिक्षित वर्गहरू पढ्नुको अर्थ जागिर खानु हो । जागिर खान पाएको भए तलबभन्दा पनि कमिशन खान पाइन्थ्यो । अकुत कमाउन पाइन्थ्यो भन्ने मानसिकता बोकेर बरालिएका भेटिन्छन् । यस्तो प्रकारको रामलिला जनशक्ति छ हाम्रो देश नेपालमा । पढेकोले कठिन काम गर्न नमिल्ने, नपढेकाले काम नजान्ने ? यही आधारभूत समस्याको पेरिफेरीमा नेपाल छ । तसर्थ हरेक नेपाली जबसम्म उद्यमशील हुन्न तबसम्म समृद्धि असम्भव छ । पढेकाहरू जागिरे मोहमा होइन, बाँझा बनेका खेतबारीमा श्रम गर्न तयार हुनु पर्दछ । यो वातावरण राज्यले बनाउनु पर्दछ । परम्परागत कृषि प्रणालीको तत्काल अन्त्य गर्नुपर्दछ । हरेक वडाहरूमा अनिवार्य आईएलो मापदण्ड अनुसारको उद्यमशीलता तालिमहरू सञ्चालन गर्नु पर्दछ । तालिम मात्र होइन, तालिम सकेकै दिन श्रमलाई उद्यमशीलतामा रूपान्तरण गर्नु पर्दछ । कसैले पनि जमिन बाँझो राख्न नपाइने, कोही पनि काम नगरी खान नपाइने र गाउँ–गाउँमा एकघर एक लघुउद्यम अनिवार्य स्थापना गर्नुपर्ने शर्त नै लगाउनु पर्दछ । प्रत्येक नेपाली उद्यमशीलत भए भने तब पो समृद्धिको आधार तयार हुन्छ । राज्यले यस विषयमा गम्भीरतापूर्वक सोच्नु पर्दछ ।
(ग) उद्योग ः कुरा समृद्धिका गर्ने एक जिल्लामा एउटा पनि ठूलो उद्योग स्थापना नहुने हो भने गफले मात्र समाज समुन्नत हुन सक्दैन । त्यसैले एक पालिकामा एक ठूलो उद्योग, तीन मझौला उद्योग, पाँचवटा साना उद्योग र प्रत्येक घरमा लघु उद्योगहरू सञ्चालन गर्ने वातावरण श्रृजना गर्नुपर्दछ । स्थानीय तहमा जहाँ जुन श्रोत छ, त्यही स्रोतमा आधारित उद्योगहरू स्थापना गर्ने हो भने समृद्ध नेपाल बनाउन दुईदेखि तीन वर्ष पनि लाग्दैन । राज्यसित यही कुराको आँट छैन । किनकी यी कार्यहरू गर्ने हो भने जनता सचेत हुन्छन्, मजदुरीकरण हुन्छन्, आत्मनिर्भर हुन्छन् । फलतः पूरानो मानसिकता बोकेका राजनीतिक दलका नेताहरू खारेज भइ नयाँ विचार, आँट, साहस बोकेका नेताहरूको जन्म हुन्छ । सत्ताको रसस्वादन गर्न पाइदैन भनी शब्दमा मात्र मिठासपन दिने र काममा जनता ठग्ने प्रवृत्ति अहिले पनि सत्ताधारी पूराना सोचका नेताहरूको कायम छ । यस कारण जनतालाई उद्यमशील बनाउन पनि चाहन्नन् र उद्योगको स्थापना पनि गर्न दिदैनन् र भन्छन् ‘समृद्ध नेपाल बनाऔं ।
(घ) संरचना ः समृद्धिको अर्को आधारभूत शर्त हो संरचना निर्माण । संरचनाको कुरा गर्दा नेपालमा एउटा आतङ्क छ, त्यो आतङ्क डोजर आतङ्क हो । वर्षेनी अरबौं रकम बराबरको सडक निर्माण गरिन्छ तर सडक बाह्रै महिना चल्दैनन् । भन्नुको मतलब कमिशनका लागि विकास हुने गर्दछ । तसर्थ समृद्ध नेपाल बनाउनका लागि गुणस्तरीय सडक, गुणस्तरीय विद्युतीकरण, गुणस्तरीय प्रशोधन, संकलन केन्द्र, हाटबजारहरू निर्माण, बहुउपयोगी कोल्डस्टोरहरू निर्माण गर्नु पर्दछ । किसानका लागि सिँचाइ, उद्यमीहरूका लागि प्रविधि, उद्योगीहरूका लागि विद्युत, व्यापारीहरूका लागि सडक सञ्जाल प्रमुख शर्त हुन् । यसका साथै आधुनिक प्रकारका रंगशाला, खेलकुद मैदान, ठूलठूला पार्कहरू पुराताŒिवक, धार्मिक, ऐतिहासिक सम्पदाको प्रबद्र्धन आदि संरचनाहरू निर्माण गर्नुपर्दछ । यी संरचनाहरू गुणस्तरीय हुनु पर्दछ । जसका कारणले मानिसहरूको चाप बढ्छ, अन्तर्राष्ट्रिय बजारका लागि विश्वका मानिसहरू नेपाल आउँछन् । सम्बन्ध विस्तार हुन्छ । के राज्यले यसतर्फ अब ध्यान देला त ?
(ङ) बजारीकरण ः हामी नेपालीहरूको बानी आफूले उत्पादन गरको चाम बेच्न लाज मान्छौं । अर्थात् उत्पादन भएर मात्र हुँदैन, त्यसको उचित प्रकारले बजारीकरण गर्न सकिएन भने उत्पादित वस्तुको कुनै काम छैन । हुन त बजारीकरणका लागि सडक प्रधान पक्ष हो । त्यो भन्दा पनि गुणस्तरीय उत्पादन, लेवलिङ्ग, प्याकेजिङ्ग र प्रचार–प्रसार मुख्य पक्ष हो । एउटा उद्यमीले उत्पादन गरेको वस्तुको आकर्षक रूप दिन खोज्दछ तर उसको क्षमता पुग्दैन । किनभने उसलाई सरल ब्याजमा ऋण पाउँदैन, लेवलिङ्ग, प्योकेजिङ्ग, दर्ता प्रक्रिया, कर नीतिले उसलाई थकाउँछ । मन भएर, उद्यमशीलता भएर, उद्यमी भएर पनि यी समस्याले गर्दा उत्पादित वस्तुको बजारीकरण हुन सकेको छैन । तसर्थ राज्यले लघु, घरेलु तथा साना उद्यमीहरूका लागि प्रविधि, लेवलिङ्ग, प्योकेजिङ्ग, विज्ञापन, राजश्वमा न्यूनतम ५ वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्नु पर्दछ । सुलभ ब्याजमा परियोजनाका आधारमा ऋण दिने व्यवस्थाको पूर्ण ग्यारेण्टी गर्नुपर्दछ । जुन ठाउँमा जुन वस्तुहरू उत्पादन हुने गर्दछन्, ती वस्तुहरू अनिवार्य प्रयोग गर्नुपर्ने र ती वस्तुहरू उत्पादन भएको ठाउँमा अर्को ठाउँबाट भित्राउन प्रतिबन्ध लगाउन’ पर्दछ ।
(च) लगानी ः उद्योगका निमित्त लगानी पहिलो शर्त हो । यस विषयमा राज्यले तत्काल पहाडी जिल्लामा मझौला तथा ठूला उद्योग स्थापना गर्ने उद्यमीहरूलाई परियोजनाका आधारमा ५० प्रतिशत अनुदान (संरचना निर्माण र प्रविधि खरिद) दिनु पर्दछ । ब्याजदर सस्तोमा परियोजनाका आधारमा ऋणको व्यवस्था गर्नुपर्दछ । यो स्किम राज्यले ५ वर्षका लागि लागू गरेको खण्डमा नेपालको समृद्धि हामीले सोचेभन्दा धेरै हुनेछ । यसका साथै प्रविधि भिœयाउँदा भन्सार महसुल सुलभ, कर नीति उद्यममैत्री बनाउनु पर्दछ ।
निश्कर्षः
समृद्ध नेपाल बनाउनका लागि यी ६ वटा आधारभूत शर्त हुन् । यदि जीवित र जनपक्षीय राज्य छ भने राज्यका तीनै तहका जिम्मेवार जनप्रतिनिधिहरूले हामी जस्ता उद्यमीहरूका यी कुरा सुन्नु पर्दछ । कुरा सुन्ने मात्र होइन, यी विषयमा रहेर ठोस काम गर्नु पर्दछ । नारामा समृद्धिका कुरा गर्ने र व्यवहारमा काला कर्तुतहरू प्रस्तुत गर्ने हो भने समृद्धिको आधार तयार हुन सक्दैन । जसले जुन कुरा गरे पनि समृद्धिको आधारः उद्यमशीलता नै हो । हरेक नेपाली उद्यमशील नभए समुन्नत, समृद्ध, आत्मनिर्भर समाज बन्न सक्दैन । व्यापारले नाफा कमाउनका लागि गरिने कार्य हो भने उद्यम समुन्नत, स्वरोजगार, समृद्ध र आत्मनिर्भर समाज बनाउन गरिने कार्य हो । यही कुराको मनन् हामी सबैले गर्न आवश्यक छ ।
साझा बिसौनी ।