सुर्खेत–दिल्ली बस सेवा सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ जेठ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरदेखि भारतको दिल्लीसम्म बस सेवा सञ्चालनमा आएको छ । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतले शुक्रवारदेखि सुर्खेत–दिल्ली बस सेवा सुरु गरेको हो ।
नेपालका विभिन्न सहर र कर्णालीमा बस सेवा दिँदै आएको संघले थप सेवा विस्तार गर्ने राणनीति अनुसार दिल्लीसम्मको बस सेवा सञ्चालनमा ल्याएको हो । यात्रुहरूको सेवा सुविधालाई ध्यानमा राखी सेवा विस्तार गरिएको संघले जनाएको छ ।
संघद्वारा सञ्चालित रारा एसी मेट्रोका संयोजक दुर्गाप्रसाद ज्ञवालीले प्रत्येक हप्ताको दुई दिन सुर्खेदेखि दिल्लीका लागि बस सेवा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार हप्ताको आइतवार र बुधवार दिउँसो तीन बजे सुर्खेत बसपार्कदेखि दिल्लीका लागि बस छुट्नेछ । साथै प्रत्येक मंगलवार र शुक्रवार साँझ ५ बजे दिल्लीको राधाकृष्ण मन्दिर जागिरपुरी बाइपासदेखि सुर्खेतका लागि छुट्ने उनले बताए ।
नेपालगन्जको रूपैडिहा–बरेली–गाजीयाबाद हँुदै दिल्ली पुग्ने बसले ६ सय ३४ किलोमिटरको दूरी तय गर्नेछ । सुर्खेतदेखि सिधै दिल्लीका लागि दुई हजार चार सय रूपैयाँ भाडा कायम गरिएको छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७५, शनिबार १६:४२