देउडा जोगाउने जमर्को

युवाहरूद्वारा उपेक्षा, बृद्धहरूद्वारा संरक्षण

प्रायः जसो सुनसान हुने वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा हरेक महिनाको दुई दिन भने निकै चहलपहल हुने गर्छ । यो चहल–पहल कुनै आमसभा वा महोत्सवको भने होइन । तर ती दुई दिनमा खुलामञ्चमा जम्मा हुने मानिसहरूको भिड नियाल्ने हो भने, कुनै महोत्वसव भन्दा कम देखिदैन्, उपस्थिति । कुनै मेलाको आयोजनामा नभइ स्वतःस्फूर्त रूपमा हुने भेलाले भरिन्छ खुल्ला मञ्चमा । फरक यत्ति छ, महोत्सवमा युवायुवती अधिक सहभागी देखिन्छन् भने ती दिनमा जम्मै वृद्धावृद्धहरूको उपस्थिति हुन्छ । र, एकाएक गुञ्जिन्छिन्, देउडा गीत । कोही देउडा गाउँदै पैताला मिलाइरहेको हुन्छन् भने कोही त्यसैको तालमा ताली बजाइरहेका भेटिन्छन् ।
स्वतःस्फूर्त रूपमा खुल्लामञ्च आउने वृद्धवृद्धालाई न त वैशाख–जेठको चर्को गर्मी छेक्छ न त असारे झरिले नै रोक्छ । हरेक महिनाको एक र १५ गते खुल्लामञ्च भरिभराउ मात्रै हुँदैन, देउडामय बन्छ । देउडाका पारखीहरू जम्मा हुँदा भरिने खुल्ला मञ्चले सिंगो कर्णालीको देउडा संरक्षण गरेको छ ।
संरक्षणमा चुनौती
उद्यम विकास र बजारीकरणका लागि जिल्लामा राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका मेला महोत्सवहरू वर्षेनी हुने गर्छन् । महोत्सवबाट फाइदा कमाउने ध्येयले आयोजकहरू नै स्थानीय कला संस्कृतिकालाई प्रभाव पार्ने काम गर्दै आएका देउडा पारखीहरू बताउँछन् । कर्णाली समृद्ध बनाउने उद्देश्यका साथ हुने ती मेला महोत्सवमा स्थानीय कला साहित्यलाई समेट्ने भनिएपनि कार्यान्वयनमा भने खासै आउन सकेको छैन । महोत्सवलाई आम्दानीको स्रोत ठानेर आयोजना गर्दा राष्ट्रिय स्तरकै कलाकार बोलाउने गरेकाले एकातिर स्थानीय कलाकारले आफ्नो कला प्रस्तुत गर्न पाएका छैनन् भने अर्कोतिर पश्चिमा संस्कृति भित्रिएको वीरेन्द्रनगर–९ लाटीकाइलीका लक्ष्मीराम ढकाल बताउँछन् ।
‘मेला महोत्सवमा देउडाले उचित प्राथमिकता नपाउँदा संरक्षणमा चुनौती देखिएको छ’ उनले भने, ‘सम्मानदेखि पुरस्कारसम्म राष्ट्रिय कलाकारलाई नै हुन्छ, जसले गर्दा स्थानीय कलाकारको मनोवल उच्च राख्ने काम हुन सकेको छैन ।
पश्चिमा गीत संगीतको प्रभावले पछिल्लो समयमा युवा पुस्ताले देउडा गीतबारे अनविज्ञ नै छन् । यसर्थ देउडा गीत लोप हुने अवस्थामा पुगेको छ । बढ्दो पश्चिमा गीतको प्रभावले कर्णाली प्रदेशमा गाइने देउडा भाका लोप हुँदै गएको छ । युवा पुस्ताहरूमा देखिएको आधुनिक गीतप्रति आकषणले पनि देउडा लोकप्रिय बन्न छाडेको उनको भनाइ छ । ‘हिजोआजका युवा पुस्ता देउडा गीतबारे जानकार नै छैनन्’ वीरेन्द्रनगरको खुल्ला मञ्चमा भेटिएका ७१ वर्षिय ढकालले भने, ‘संरक्षणका लागि राज्यले नै बेवास्ता गरेको छ । वास्तवमै सुदूर–कर्णालीको देउडा उपेक्षामा परेको छ ।’
देउडा गीतको संरक्षणका लागि साविकको भेरी अञ्चल र कर्णाली अञ्चल (हाल कर्णाली प्रदेश) मा विभिन्न संगठनहरू खुलेका छन् । तर, उनीहरू पर्याप्त रूपमा क्रियाशील हुन नसक्दा देउडा गीत हराउन थालेको छन् । युवा पुस्ताले देउडा गीत प्रतिको रुचि नै हराएको छ । भेरी कर्णाली लोक सांस्कृतिक जागरण मञ्च सुर्खेतले वीरेन्द्रनगरमा देउडा संरक्षणका लागि महिनाको दुई दिन रमाइलो मेला लगाउने गरेको छ । त्यो नै कर्णालीमा गाइने देउडाको चिनारी बनेको पाइन्छ ।
देउडा गीत संरक्षणका लागि संगठनात्मक रूपमा प्रचार र मेला महोत्सवमा उच्च स्थान दिनुपर्ने कालिकोटकी कमला धामी बताउँछिन् । ‘धेरै जमघट हुने महोत्सवमा देउडा नै सुनिदैन’ उनले भनिन्, ‘संरक्षणमा भएको लापरवाहीले गोठाला जाँदा गाइने भाकामा सीमित भएको छ ।’ संघीय संरचना अनुसार तीन तहका सरकारले संरक्षणका लागि विशेष नीति ल्याउनुपर्ने हुम्लाका धनजन्य परियार बताउँछन् ।
बुढ्यांैलीको ‘रंगमञ्च’
वीरेन्द्रनगरको खुलामञ्चमा पुग्दा बयस्क अवस्था पार गरेर बुढ्यौलीतर्फ लागेकाहरू माया प्रेमका कुरामा निक्कै गफिएका थिए । झट्ट हेर्दा घरका छोराछोरा, श्रीमान् श्रीमती बिर्सेर खुल्लामञ्च आएका उनीहरूबीच भएका कुराकानी २० वर्षे लक्का जवानीमा झागिएको माया प्रेम भन्दा कम थिएनन् । सबैको कपाल फुलिसकेका थिए भने कोही लठ्ठीको साहरा लिइरहेका हिँडिरहेका देखिन्थे ।
हिजोआज लुकीछिपी माया प्रेम गर्ने युवायुवतिका सामु परिवारमा छोरा छोरीदेखि नाती नातिना भएका बृद्धबृद्धाहरूले खुलेरै माया प्रेम मात्रै होइन, विवाह गर्ने प्रस्तावसम्म गर्न पुग्छन्, देउडामार्फत् । युवायुवतिबीच माया गर्दा हुने शंका, उपशंका प्रष्टै देखिन्छ । देउडा गीतमा गफिएका उनीहरू एक अर्काबीच माया गाँस्न नपाएका बाध्यता पोख्छन् । फकाउन खोज्छन् । समस्या देखाउँछन् र टार्न खोज्छन् ।
–खिर पाक्याको गिजीमीजी अमृत हाल्याको छ,
मेरा घर आइजा पन सिद्ध पाल्याको छ ।।
–भान्स्या काँ जान्या हो, सबै जना भान्स्या लिया
को मान्दिन रिस, को मान्दिन सौता लिया ।।
– खिर पकाउँला खान दिउँला दुधको तिउँन दिउँला
निकोमिठो नखोज्दिया, पाउनी भइ आयाले ।।
हिजोआज लुकीछिपी माया प्रेम गर्ने युवायुवतिका सामु परिवारमा छोरा छोरीदेखि नातिनातिना भएका बृद्धबृद्धाहरूबीच खुल्ला मञ्चमा हुने माया प्रेमका सवाल–जवालले सिंगो कर्णालीको इतिहास जोगाएको छ । देउडा भाकामार्फत् हुने सवाल जवाफले बुढेशकालमा वैशको झल्को दिन्छ, खुल्ला मञ्चमा हरेक महिनाको एक र १५ गते हुने बुढ्यौलीको भेलाले । खुल्ला मञ्चको रमाइलो मेलामा उनीहरूबीच वैशका कुरा मात्रै हुँदैनन्, एक आपसमा माया, प्रेम, दुःख सुख, रिस क्रोध, साट्नछन्, देशको चिन्ता पनि गर्छन् । कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, सल्यान लगायतका जिल्लाबाट बसाइँ सरी सुर्खेत आएका उनीहरूबीचको मिलन विन्दु भनेकै रमाइलो मेला हो । यसरी युवा पुस्ताले बिर्सदै गएको देउडा जोगाउने जमर्कोमा छन्, सुर्खेतका वृद्ध पुस्ता ।