‘व्यापार गरेर पढाइ खर्च जुटाएँ’

कुशे गाउँपालिका–२ जाजरकोटका परमेश्वर न्यौपाने वि.सं. २०५४ साल असार ६ गते बुबा देवाखर जैसी र आमा शितला जैसीको कोखबाट जन्मिएका हुन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बी.ए. पढ्दै गरेका परमेश्वरले प्रविणता प्रमाणपत्र तह (प्लस–टू) भने सुर्खेतबाटै गरेका हुन् । मानेढुङ्गा माध्यामिक विद्यालय जाजरकोटबाट २०७० सालमा एसएलसी उत्तीर्ण उच्च शिक्षा अध्ययनको लागि वीरेन्द्रनगर झरेका परमेश्वरले आफै व्यवसाय गरेर पढाइ अघि बढाए । अर्थशास्त्र पढेर बंैकमा जागिर खाने सपना बोकेर वीरेन्द्रनगर झरेका उनले आफ्नो कलेज लाइफको बारेमा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी कुरा गरेः


आफैले रोजेको विषय पढें
म सानैदेखि धेरै नबोल्ने स्वाभावको थिएँ । साथीहरूसँग पनी खासै झगडा भएन । पढाइमा नै मेरो ध्यान जान्थ्यो । प्रायः जसो मेरो हातमा कुनै न कुनै किताब भइराख्थ्यो । पढेर जागिर खानुपर्छ भन्ने मानसिकता सानैदेखि मेरो मस्तिष्कमा गढेर बसेको थियो । बुबाआमाले व्यापार गर्ने तर मलाई भने पढेर जागिर खाने सल्लाह दिनुहुन्थ्यो । त्यसैले पनि होला मेरो मस्तिष्कबाट जागीरको भुत गएको छैन । मैले वि.सं. २०७० सालमा मानेढुंगा माध्यमिक विद्यालयबाट एसएलसी पास गरेको हुँ । मलाई सानैदेखि अर्थशास्त्र पढेर बैंकमा जागिर खाने सपना थियो, त्यही सपना बोकेर म वीरेन्द्रनगर झरें । मैले आफूले चाहेको विषय पढ्न सुरु गरें । मेरो ईच्छालाई मेरो घरपरिवारले सहयोग गर्नुभएको हो । मेरो सपनालाई मेरो बुबाआमाले सधैं कदर गर्नुहुन्छ । हामी घरमा ६ भाइबहिनी छौं । तीन भाइ छोरा र तीन बहिनी छोरी । म माइलो छोरा हुँ । घरमा जसले जे गर्न चाहान्छ त्यो बुबाआमाले पूरा गरिदिनुभएको छ ।
कलेजको पहिलो दिन
कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालय गाग्रेतालमा मैले ‘प्लस–टु’ पढेको हुँ । म सँगै पढ्ने गाउँका साथीहरू पनि थिए । मैले आफ्नो ईच्छाको विषय पढ्न पाएकोमा खुशी पनि थिएँ । मलाई अर्थशास्त्र विषय पढेर बैंकमा जागिर खाने रहर थियो, त्यो रहर पूरा हुनेमा ढुक्क भएँ । कलेजबाट फर्कंदा समेत मलाई एकदमै खुशीको अनुभव भइराखेको थियो । आफ्नो र बुबाआमाको सपना पूरा गर्दैछु भन्ने अनुभूतिले हर्षित बनाएको थियो ।
कलेजको पढाइ र विद्यालयको पढाइमा मैले धेरै फरक पाएँ । विद्यालयमा गुणस्तरिय शिक्षा ग्रहण गर्नमा शिक्षकहरूको ठूलो भूमिका हुन्छ । तर कलेजमा त्यो वातावरण पाइएन । अलि खुल्ला वातावरण हुने रहेछ । कलेजमा पाइने शिक्षण पद्दति पनि अलि खुल्ला नै हुने । कलेजको राम्रो पक्ष भनेको जिम्मेवारी वहन गर्न सिकिन्छ, त्यो मलाई साह्रै राम्रो लाग्छ । कलेजको नराम्रो पक्ष भनेको विद्यार्थीले शिक्षकलाई सम्मान गर्दैनन् । कक्षा कोठामा हल्ला बढी गर्छन् त्यो मलाई पटक्कै मन पर्दैन ।
आफ्नो खर्च आफै जुटाएँ
मैले आफै व्यवसाय गरेर कलेज पढ्दाको आफ्नो खर्च जुटाएँ । मेरो घरको आर्थिक अवस्था राम्रै थियो । बुबाआमा व्यापार गर्ने तर मैले आफ्नो खुट्टामा आफै उभिएर पढ्नुपर्छ भन्ने सोचले खजुरामा खुद्रा पसल गरें । त्यसबाट भएको आम्दानीले पढाइ खर्च पुग्थ्यो, त्यसरी नै पढें । बिहानको समयमा भाइले पसलमा सघाउँथ्यो र म कलेजबाट आएपछि आफैंले हेर्थें । कलेज बाहेक म घरमा पाँच घण्टा जति त पढ्छु । बिहान चार बजे उठेर दुई घण्टा पढ्ने र बेलुकी पसल बन्द गरेपछि तीन घण्टाजति पढ्ने गर्दछु । सकेसम्म घरपरिवारलाई दुःख दिनुहुन्न भन्ने मलाई लाग्छ ।
राजनीतिमा चासो
मलाई पढाइ बाहेक राजनीतिका कुरा गर्न खुब मनपर्छ । मैले खुलेर कुनै राजनीतिक दलमा आवद्ध भएर राजनीति त गरको छैन तर राजनीतिमा चासो लाग्छ । देशको स्थिति र देशका नेताले देशबासीका नाममा बोेलेका कुराहरूमा चासो लाग्छ । त्यो बाहेक पत्रपत्रिका र किताबहरू पढ्छु, त्यो पनि राजनीतिक विषयका बढी हुन्छन् ।
प्रेममा मेरो ध्यान गएन । आफू सक्षम नभइ गरेको प्रेम सफल हुँदैन । त्यसैले पनि मेरो ध्यान त्ययता गएन । कलेज पढ्दा क्लास बंक पनि कहिल्यै गरिन । फिल्म हेर्न चार–पाँच पटकमात्र गएको छु । मलाई पढ्नै नपरे जस्तो त कहिल्यै लागेन । पढाइ नै जीवनको सबथोक हो । पढ्नकै लागि मैले संघर्ष गरेको छु ।
बैंकको म्यानेजर बन्ने लक्ष्य
मेरो सानैदेखिको सोच पढेर जागिर खाने हो । त्यो पनि बैंकमा । त्यसैले जागिर खाने लक्ष्यसहित पढें । मेरो चाहाना सानैदेखि बैंकमा जागिर खाने हो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज अर्थशास्त्रमा बी.ए. पढ्दैछु । मेरो अन्तिम लक्ष्य भनेको बैंकमा म्यानेजर बन्ने हो । त्यसैका लागि मेहेनतका साथ पढिरहेको छु ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७५, शनिबार १६:३८