‘एक वर्ष उपलब्धिमूलक’

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ जेठ ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले आफ्नो एक वर्षे कार्यकालको वार्षिक समीक्षा गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ राकम (जामुने) बजारमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले निर्वाचित भएको एक वर्षको अवधिमा गरेका विभिन्न प्रगतिहरूको वार्षिक समीक्षा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले आफ्नो एक वर्षे अवधिमा गरेका कार्यहरूको प्रगति विवरणसहित गाउँपालिकाको आगामी विकासका लागि भावी योजनासमेत प्रस्तुत गरेका छन् । कार्यप्रगति प्रस्तुत गर्दै अध्यक्ष केसीले संघीयताको पहिलो अभ्यास भएको र सबै कुरा नयाँ भएको भए पनि एक वर्षमा भएका काम उपलब्धिमूलक भएको बताए । ‘समृद्ध सिम्ता र सुखी सिम्ताली’ को परिकल्पनाका साथ काम गरिएको भन्दै एक वर्षमा गरेका काम सिम्ताली जनताको प्रत्यक्ष हितमा रहेको केसीले बताए ।
भौतिक पूर्वाधार विकासका लागि उपभोक्ता समिति गठन तथा प्राविधिक स्टिमेट तयार गरेको, सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत तीन करोड रकम विनियोजन गरेर उपभोक्ता समिति गठन गरिएको र स्टिमेट तयार पारिएको लगायतका कार्य नै आफ्नो एक वर्षको मुख्य उपलब्धि भएको अध्यक्ष केसीको भनाइ छ । निर्वाचित भएको एक वर्षमा गाउँपालिका सञ्चालनका लागि विभिन्न २१ वटा ऐन–नियम पारित गरिएको, गाउँसभाको तीन वटा बैठक सम्पन्न गरिएको, जनप्रतिनिधको बहुमतबाट गाउँपालिकाको केन्द्र टुङ्गो लगाएको लगायत प्रगति उनले सार्वजनिक गरे ।
सिम्ता गाउँपालिकाका प्रत्यक वडाहरूलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले प्रत्यक वडा तथा बस्तीहरूमा नयाँ सडक मर्मतको कार्य सुरु भएको केसीले जानकारी दिए । साथै अध्यक्ष केसीले यो अवधिमा शिक्षामा गुणस्तरीयता कायम गर्न विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरिएको बताए । यस्तै स्वास्थ क्षेत्रमा जनतासँग सिम्ता गाउँपालिका कार्यक्रम अन्तर्गत एक वर्षको अवधिमा प्रत्येक
वडामा ज्येष्ठ नागरिकका लागि निःशुल्क घुम्तीसेवामार्फत् प्रभावकारी सेवा दिएको छ । कृषि र पर्यटन क्षेत्रको विकासका लागि सिम्ताका पर्यटकीय स्थलको अनुगमण तथा सम्भाव्यता सुरु गरेको उल्लेख गरे ।
गाउँपालिकाको कूल जनसंख्या २५ हजार आठ सय ४५ जना रहेकोमा हाल ३९ दशमलब ३१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको बताउँदै गरिबीको सूचीमा रहेका जनताहरूको तथ्यांक संकलन गरेर सोही अनुसार उनीहरूको आर्थिक विकासका लागि बजेट विनियोजनमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्ने भावी योजना गाउँपालिकाको रहेको केसीले बताए । सिम्ताका विभिन्न स्थानलाई जोड्ने गरी सहिद ऋषि चक्रपथ निर्माणको भावी योजना अघि सारिएको छ ।

प्रकाशित मितिः   १७ जेष्ठ २०७५, बिहीबार १२:१०